काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसले आफ्नो महासमिति बैठक असोजको अन्तिम साता जनकपुरमा गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले असोजको २४, २५, २६ र २७ गते धनुषाको जनकपुरमा महासमिति बैठक गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरेर कांग्रेसले त्रिभुवन विश्व विद्यालय उपकुलपतिबाट वरिष्ठता र क्षमताको उपेक्षा गर्दै मनोमानी एवं पक्षपातपूर्ण ढंगबाट भएको राजनीतिक नियुक्तिको पनि विरोध गरेको छ ।
सो निर्णय विरुद्ध चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द केसीले गरेको आमरण अनसन र विग्रदो स्वास्थ्य अवस्थाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले डा.केसीले उठाएका मुद्दाहरुमा समर्थन जनाउँदै मागहरु अविलम्व पुरा गर्न र त्रिविविको नियुक्तिमा भैरहेका राजनीतिकरण रोक्न सम्बन्धित पक्षलाई आह्वान गरको छ ।
श्रावण ३२, २०६९
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, मनमोहन भट्टराई, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, बद्री पाण्डे र रामचन्द्र तिवारीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकको निर्णय देहाय बमोजिम छ—
१. विशेष अदालतबाट सफाई पाएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट ठहर गरी पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई सजाय तोकेकामा हामीलाई आश्चर्यचकित र दुःखीत तुल्याएको छ । सर्वोच्च अदालतबाट भएको उक्त अन्यायपूर्ण फैसला उपर कानून व्यवसायीहरुसँग सल्लाह गरी न्यायिक पुनरावलोकनको लागि पार्टीले सक्रिय पहल गर्नेछ ।
२. त्रिभुवन विश्व विद्यालय उपकुलपतिबाट वरिष्ठता र क्षमताको उपेक्षा गर्दै मनोमानी एवं पक्षपातपूर्ण ढंगबाट भएको राजनीतिक नियुक्तिको विरुद्ध चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द के.सी.ले गर्नु भएको आमरण अनसन र उहाँको विग्रदो स्वास्थ्य अवस्थाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रति चिन्ता व्यक्त गर्दै यो बैठक उहाँले उठाएको मुद्दाहरुमा समर्थन जनाउँदै उहाँका मांगहरु अविलम्व पुरा गर्न र त्रि.वि.वि.को नियुक्तिमा भैरहेको राजनीतिकरण रोक्न सम्बन्धित पक्षलाई आह्वान गर्दछ ।
३. नेपाली कांग्रेस महासमितिको बैठक २०६९ असोज २४, २५, २६ र २७ गते धनुषाको जनकपुरमा गरिनेछ ।
कार्यसमितिको बैठक २०६९ भाद्र १ गते शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव
प्रतिक्रिया