“दुखेको मन लिएर फर्किए हीरासिंह”


नेपाली चलचित्रको जग बसाल्ने हस्ती हुन्, हीरासिंह खत्री । पहिलो नेपाली कथानक चलचित्रको मान्यता पाएको चलचित्र आमा उनैले निर्देशन गरेका हुन् । त्यसपछि पनि लगातार हिजोआजभोलि र परिवर्तन बनाएर नेपाली चलचित्र उद्योगलाई तिरिनसक्नुको गुन लगाए उनले । तर, यस्तो योगदानको प्रतिफल केही पाएनन् यस देशबाट । बरु, प्रवासी भएको आरोपमा नेपालमा टिकिखान नदिएपछि बाध्य बनाएर भारत फर्काइयो उनलाई । यो यथार्थले साह्रै पोल्दो रहेछ, चलचित्रकर्मी चेतन कार्कीलाई । कार्की हीरासिंहका चेला हुन् । तेस्रो नेपाली चलचित्र परिवर्तनमा उनले हीरासिंहको सहायक भएर काम गरे । हीरासिंहको नेपाल, नेपाली चलचित्र र नेपालीप्रतिको समर्पणलाई राम्ररी छामेका छन् चेतनले । नेपाली चलचित्र उद्योगले स्वर्णजयन्ती मनाउँदै गरेको यो कालखण्डमा हीरासिंहलाई न सरकारले सम्झिएको छ न त चलचित्रका अगुवाले । चेतनको अन्तरात्मा लगातार छटपटिरहेछ– ‘गुरुप्रति अन्याय भएको छ †’ उनी सम्झिरहेछन् गुरुसँग बिताएका ती दिन :
‘के गरेर बसेको छस् त हिजोआज ?’ हीरासिंह खत्रीले भेट्नेबित्तिकै सोध्नुभयो । मैले उत्तर दिएँ– ‘केही काम छैन, यत्तिकै बसेको छु ।’ हुन पनि त्यति बेला म खाली नै थिएँ । नातावादले गाँजेको कर्मचारीतन्त्रसँग आजित भएर पोखरा ताल विकास कार्यक्रमको प्रमुखबाट राजीनामा दिएर बसेको थिएँ । यद्यपि दुइटा उपन्यास भने प्रकाशित गरिसकेको थिएँ– हनिमुन र मैले आत्मा बेचेको छैन । उहाँलाई मेरो लेखनकला थाहा थियो । मलाई आफूसँग काम गराउने रुचि देखाउनुभयो– ‘तेरो कलम राम्रोसँग चल्छ । मलाई उर्दू, हिन्दी भाषा मात्रै आउँछ, नेपाली भाषा राम्रो जान्दिनँ । मेरो फिल्ममा लेखक बनेर आइज न त ।’ मैले ‘नाइँ’ भन्न सकिनँ ।
४४ वर्षअघि काठमाडौंको होटल रोयलको ३० नम्बर कोठामा यो संवाद भएको थियो । सामान्य परिचय त देहरादुनमा छँदै थियो । नजिकबाट चिनजान गर्ने अवसर भने उहाँ काठमाडौं आएपछि मात्रै भयो । आउनासाथ भेट्न बोलाउनुभयो । त्यही भेटले मेरा पाइला चलचित्रयात्रामा अघि बढे ।
म टेक्निकल विषय पढेको मान्छे । एक्कासि फिल्म क्षेत्रमा कसरी लाग्नु † फेरि, खत्रीज्यू पर्नुभो खारिएको चलचित्र निर्देशक । उहाँको मन राख्न ‘हुन्छ’ त भनेँ तर होटलबाट निस्कनासाथ मलाई उकुसमुकुस भयो । आफ्नो लक्ष्य नै नबनेको क्षेत्रमा कसरी लाग्नु † सकेसम्म उहाँबाट टाढा हुन मन लाग्यो । १७ दिनसम्म भागेर हिँडे । तर, केही जोर चलेन । ठमेलनजिकै फुटबल खेलाडीहरूलाई कोच गर्दै थिएँ । उहाँ त्यहीँ आइपुग्नुभयो । गाली गर्न थाल्नुभो– ‘तेरो लागि चाहिँ मैले यति गर्ने, तँचाहिँ भागीभागी हिँड्ने †’ म नाजवाफ भएँ । उहाँलाई प्रतिवाद गर्न सक्ने सामथ्र्य ममा कहाँ थियो र ? वचन दिइसकेपछि धोका दिनु पनि भएन । त्यही दिनदेखि उहाँको सहायक भएर काम थालेँ ।
सरकारी लगानीमा निर्माण हुन लागेको तेस्रो नेपाली चलचित्र परिवर्तन (छायांकनसम्म यसको नाम चेतना थियो) को पटकथा लेख्ने जिम्मा मेरो भागमा आयो । साहित्य लेखनमा हात बसेको भए पनि चलचित्रको पटकथा मेरा लागि नयाँ अनुभव थियो । कसरी अगाडि बढ्ने मेसो थिएन । तर, उहाँको सरल मार्गदर्शनले मलाई पटकथा लेख्न केही समस्या परेन । चार महिनामा लेखेर सिध्याएँ । त्यति मात्रै होइन, निर्देशनमा पनि उहाँले नै लगाउनुभयो । उहाँलाई नेपाली भाषा राम्रोसँग आउँदैनथ्यो । तर, भाषाकै कारण समस्या भने परेन । चलचित्रको कथावस्तुअनुसार उहाँले आफूलाई छिनमै परिवर्तन गराउन सक्नुहुन्थ्यो । रुने सिन आए त्यस्तै बनिदिनुहुन्थ्यो, हाँस्ने आए आफूलाई उस्तै बनाउनुहुन्थ्यो । नाच्नमा पनि उत्तिकै सिपालु । गीतका हरेक मुभमेन्ट आफैँ गरेर देखाइदिनुहुन्थ्यो । मिजासिलो स्वभावका कारण उहाँसँग काम गर्दा कहिल्यै असहज महसुस भएन ।
परिवर्तनका ६ वटा गीत पनि मैले नै लेखेँ । आउटडोरका दृश्य मात्र नेपालमा छायांकन भएका थिए । निर्माणका लागि आवश्यक सामग्री यहाँ थिएनन् । इन्डोर सुटिङका लागि कलाकारको टोली नै बोकेर कलकत्ता पुग्थ्यौँ, प्लेनमा । अहिलेजस्तो सजिलो कहाँ थियो र ? सबै सामग्री, प्राविधिक यहीँ उपलब्ध हुन्छन् । सुरु गरेको एक महिनामै सुटिङ सकिन्छ । उति बेला कम्तीमा दुई वर्ष लाग्थ्यो । २०२५ साल असारबाट काम थालेको परिवर्तन २०२७ साल जेठ १९ गते निर्माण सम्पन्न गरेर महेन्द्र सरकारलाई बुझाएका थियौँ ।

अहिले नेपालमा चलचित्रको स्वर्ण जयन्ती चलिरहेको छ । नेपाली चलचित्र विकासमा हीरासिंहको ठूलो योगदान छ, यसमा कुनै विवाद छैन । तर, नेपालका चलचित्र अगुवाहरूले यो तथ्यलाई ख्यालै गरेका छैनन् । नेपाली चलचित्रका जनक हिरासिंहलाई सरकारले पनि वास्ता गरेको छैन । उनी प्रवासी नेपाली हुन् । सन् १८१४ मा देहरादुनको नालापानीमा भएको खलंगा किल्लाको लडाइँपछि खत्रीका परिवार उतै स्थापित भएका हुन् । वीर नेपाली बलभद्र कुँवर उहाँका पुर्खा हुन् । देहरादुनमै हीरासिंहको जन्म भयो । कलकत्ता गएर चलचित्रयात्रा सुरु गर्नुभएको थियो ।
उहाँले नेपालमा २०१९ साल जेठ २९ गते तत्कालीन राजा महेन्द्रको ४२औँ जन्मोत्सवका अवसरमा डकुमेन्ट्री निर्माण गर्नुभएको थियो । आधा घन्टा लामो उक्त डकुमेन्ट्रीलाई नै नेपालको पहिलो चलचित्र मान्नुपर्छ । त्यसपछि मात्रै पहिलो नेपाली कथानक चलचित्र आमा बनेको हो । उक्त चलचित्रको निर्देशन पनि हीरासिंहले नै गर्नुभएको हो । सरकारी लगानीको दोस्रो चलचित्र हिजोआजभोलि पनि उहाँकै निर्देशन हो । तेस्रो चलचित्र हो परिवर्तन, जसमा मैले पनि काम गर्ने संयोग जुर्‍यो ।
सन् १९६० मा श्री ५ महेन्द्र अमेरिका भ्रमणबाट फर्किंदा बम्बईमा बस्नुभएको थियो । सोही क्रममा सैनिक सचिव शेरबहादुर मल्लमार्फत तत्कालीन राजदम्पतीसँग खत्रीको भेट भयो । महेन्द्रले सोध्नुभएछ– ‘हीरासिंह, तिमी त गोर्खालीका छोरा । चलचित्र निर्देशक पनि रहेछौ, नेपाली भाषामा पनि चलचित्र बनाऊँ भन्ने इच्छा हुँदैन ?’ हीरासिंहले अंग्रेजीमा बिन्ती चढाउनुभएछ– ‘सरकार म कुनै पनि समय नेपाल आएर सरकारको कमान्डमा नेपाली चलचित्र बनाउन तयार छु ।’ जे होस् हीरासिंह नेपाल भनेपछि हुरुक्कै हुनुहुन्थ्यो, चलचित्र बनाउन तयार भइहाल्नुभो । उहाँहरूबीचको यही संवादपछि नेपाली चलचित्रको ढोका खुलेको हो । नभन्दै सन् १९६१ जनवरीमा हीरासिंह नेपाल आउनुभयो । तर, त्यति बेला महेन्द्रले भर्खरै शासनसत्ता आफ्नो हातमा लिएको र स्थिति सहज भइनसकेको अवस्था हेरी उहाँलाई पछि निम्तो पठाएर बोलाउने भन्दै फर्काइयो । सन् १९६१ डिसेम्बर ४ का दिन नेपाल सरकारबाट औपचारिक पत्र पाएपछि फेरि नेपाल आउनुभयो र चलचित्र निर्माणमा लाग्नुभयो ।
आउनासाथ राजा महेन्द्रको ४२औं शुभ जन्मोत्सवको डकुमेन्ट्री बनाएपछि पहिलो चलचित्र आमा बनाउनुभयो । जुन २०२२ साल असोज १५ गते प्रदर्शन भएको थियो । ०२४ फागुन २ गते अर्को चलचित्र हिजोआजभोलि प्रदर्शन भयो । परिवर्तन भने २०२७ पुसमा मात्रै प्रदर्शन भएको थियो ।
त्यसपछि क्रमश: नेपाली चलचित्रको विकासमा सीप र दक्षता खर्चिइरहनुभयो हीरासिंहले । तर, प्रवासी नेपाली भएकाले सञ्चार मन्त्रालयभित्रैबाट उहाँको विरुद्धमा लागे धेरै जना । यहाँ टिक्नखानै दिएनन् । अन्तत: चलचित्र परिवर्तनपछि २०२७ सालमा उहाँ देहरादुन नै फर्किनुभयो । प्रवासी भए पनि उहाँभित्र गहिरो नेपालीपन थियो, नेपालप्रति नि:स्वार्थ समर्पण थियो । तर, उहाँको यो भावनाको कदर भएन । हुन त तत्कालीन श्री ५ महेन्द्रबाट प्रबल गोर्खा दक्षिणबाहु र त्रिशक्तिपट्ट पदकबाट विभूषित पनि गरिएको हो उहाँलाई । तर, काम गर्ने सहज वातावरण ती पदकले मात्रै कहाँ बनाइदिँदो रहेछ र ? विवश भएर फर्किनुभयो । सायद हार्दिकतापूर्वक हृदयमा ग्रहण गरिएको पुख्र्यौली भूमिले दिएको चिसो व्यवहारले उहाँको मन नराम्ररी कुँड्यायो । देहरादुन फर्किएर पनि कुनै चलचित्र निर्देशन गर्नुभएन । परिवर्तनलाई नै आफ्नो अन्तिम चलचित्र बनाइरहनुभयो, जीवनपर्यन्त ।

हीरासिंह खत्री मेरो चलचित्र क्षेत्रका गुरु । उहाँ फर्किनुभएपछि म पनि शिक्षण गर्न थालेँ । सेन्टमेरिज स्कुलमा बायोलोजी पढाउन सुरु गरेँ । यद्यपि यति बेलासम्म मैले गुरुबाट चलचित्रसम्बन्धी दीक्षा राम्रै पाइसकेको थिएँ । यसै कारण मेरो चलचित्र क्षेत्रसँगको सम्बन्ध भने टुटेन । तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाहले मलाई चलचित्रमा फर्कन अनुरोध गर्नुभयो । २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना गरियो । दरबारबाट संस्थानको चलचित्र निर्माण अधिकृत पदमा बस्न पटकपटक बोलावट भयो । त्यसपछि जीवनभर चलचित्रसँग साइनो जोडिने गरी फर्किएँ । दस वर्ष संस्थानमा काम गरेँ । सो अवधिमा मनको बाँध, पहिलो रंगीन चलचित्र कुमारी, सर्वाधिक चलेको सिन्दूरजस्ता चलचित्र निर्माण गरियो ।
जीवनरेखाको आधाभन्दा बढी काम सम्पन्न भएपछि मैले संस्थानबाट राजीनामा दिएँ । त्यसपछि, आफ्नै निर्देशन र अरूसँग मिलेर सहित ३७ वटा चलचित्रको निर्माणमा संलग्न भएँ । तर, गुरु हीरासिंहसँग मिलेर गरेको परिवर्तनमा जस्तो सन्तुष्ट हुन सकिनँ । उहाँबाट चलचित्रका प्राविधिक पक्षको ज्ञान पाएको थिएँ । सामाजिक जिम्मेवारी बोध गराउने कथावस्तु चलचित्रमार्फत उठाउन उहाँले देखाउनुभएको बाटो कहिल्यै भुलिनँ । मायाप्रेमका कथावस्तु भएको चलचित्रमा पनि सामाजिक सम्बन्धको ख्याल गरेर झलक देखाइन्थ्यो । त्यही मर्यादा ख्याल गरेर चलचित्रमा समर्पित भएकाले होला, चलचित्र जगत्को सर्वोच्च महेन्द्र चलचित्र साधना सम्मान २०५६ बाट सम्मानित हुने अवसर पाएँ । मेरो कोठाका भित्ता सम्मानपत्रले भरिएका छन् । कहिलेकाँही मलाई यी सम्मानपत्रले आफैँलाई गिज्याएझैँ लाग्छ । कारण– नेपाली चलचित्रको इतिहास बोकेका हीरासिंलाई न चलचित्र क्षेत्रले सम्झिएको छ न त सरकारले । मैले गुरुदक्षिणास्वरुप २०६५ सालमा उहाँको स्मृतिमा हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार गुठी स्थापना गरेको छु । दुई लाखको अक्षयकोषबाट सुरु गरिएको यो पुरस्कारले वर्षमा एकचोटि उहाँलाई सम्झन मात्र सक्छ । नेपाली चलचित्रका यी जनकलाई देशले जति सम्मान गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया