देउवा पक्षद्वारा सामूहिक राजीनामा

काठमाडौं, ३२ साउन । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका अञ्चल संयोजक तथा विभाग प्रमुखहरूले बुधबार सामूहिक राजीनामा दिएका छन् । पार्टीमा विभाग गठन र अञ्चल संयोजकहरूको चयन विधिसम्मत नभएको र आफूहरूसँग परामर्श नगरी गरिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।
विभाग गठनमा असन्तुष्ट रहेको देउवा पक्षको सोमबार बसेको बैठकले विभाग गठनप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । बुधबार केन्द्रीय सदस्य मीन विश्वकर्माले देउवा पक्षका विभाग र अञ्चल संयोजकहरूको लिखित राजीनामापत्र पार्टी कार्यालयमा दर्ता गराएका छन् । ‘विधानको व्यवस्थाविपरीत पर्याप्त परामर्शविना एकलौटी ढंगले गठन गरिएकोप्रति हाम्रो आपत्ति छ,’ विश्वकर्माले राजीनामापत्र दर्ता गराउँदै भने । सामूहिक राजीनामा बुझाउनुअघि बिहान देउवानिकट नेताहरूको भेला बूढानीलकण्ठस्थित देउवानिवासमा भएको थियो ।
कांग्रेसका ४२ केन्द्रीय विभागमध्ये देउवा पक्षकालाई १३ वटा विभागको प्रमुख बनाइएको थियो । १३ विभागका प्रमुखमध्ये देउवापक्षीय १२ विभाग प्रमुखले बुधबार सामूहिक राजीनामा दिएका हुन् । राजधानीबाहिर रहेका देउवापक्षीय विभाग संयोजक भीष्मराज आङ्दम्बेले राजीनामा दिने निर्णयमा सहमति जनाएको उनीनिकट स्रोतले बताएको छ । त्यस्तै १४ अञ्चल संयोजकमध्ये देउवा पक्षका ६ जनालाई अञ्चल संयोजक बनाइएको थियो । जसमध्ये ४ अञ्चल संयोजकले पार्टी कार्यालय सानेपामा सामूहिक राजीनामा बुझाएका हुन् । १३ विभाग प्रमुखमध्ये १२ र ६ अञ्चल संयोजकमध्ये ४ जनाले राजीनामा दिएका हुन् ।
बुधबार राजीनामा दिनेमा देउवा पक्षका संसदीय विभाग प्रमुख पूर्णबहादुर खड्का, कृषि तथा सहकारी विभाग प्रमुख बालकृष्ण खाँण, भूपूसैनिक विभाग प्रमुख रमेश रिजाल, प्राकृतिक स्रोत विभाग प्रमुख प्रकाशशरण महत र साहित्य कला संस्कृति विभाग प्रमुख मनमोहन भट्टराईको राजीनामा पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको छ । यस्तै, पर्यटन विभाग प्रमुख किशोरसिंह राठौर, विज्ञान तथा प्रविधि विभाग प्रमुख सीता गुरुङ, अनुसन्धान तथा अभिलेख विभाग प्रमुख महालक्ष्मी उपाध्याय ‘डिना’, अनुगमन तथा मूल्यांकन विभाग प्रमुख अम्बिका बस्नेत, द्वन्द्व व्यवस्थापन विभाग प्रमुख ईश्वरी न्यौपाने, सिँचाइ तथा पूर्वाधार विभाग प्रमुख मीनाक्षी झा र अपांग विभाग प्रमुख सुजाता परियारले पनि बुधबार सामूहिक राजीनामा दिएका थिए । यस्तै, देउवापक्षीय ६ अञ्चल संयोजकमध्ये ४ जनाले बुधबार राजीनामा दिएका छन् । बुधबार राजीनामा दिने अञ्चल संयोजकमा मेचीका महेन्द्र यादव, लुम्बिनीका सुरेन्द्र पाण्डे, कर्णालीका मीन विश्वकर्मा र महाकालीका जीवनबहादुर शाही छन् । सेती अञ्चल संयोजक ज्ञानेन्द्रबहादुर कार्की र धौलागिरि अञ्चल संयोजक एनपी सावदले यसअघि नै राजीनामा दिइसकेका थिए ।

प्रतिक्रिया