दाहाल नेतृत्वको गठबन्धन घोषणा

काठमाडौं, ३२ साउन । कांग्रेस, एमालेलगायत विपक्षी दललाई चुनौती दिँदै सत्ताभित्र र बाहिरका केही साना दल मिलेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ (एफडिआरए) बनाइएको छ । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माणका लागि दबाब दिने भन्दै विघटित संविधानसभामा प्रतिनिधित्व गरेका २१ दल मिलेर दाहाल नेतृत्वको गठबन्धन घोषणा गरिएको हो ।
बुधबार होटल र्‍याडिसनमा गठबन्धन घोषणा सार्वजनिक गर्दै अध्यक्ष दाहालले गठबन्धन कसैको विरुद्धमा नभई जनयुद्ध, जनआन्दोलन र विभिन्न जाति, वर्गको आन्दोलनको भावनालाई समेटेर मुलुकलाई अग्रगतिमा लैजान बनाइएको दाबी गरे । ‘यो गठबन्धन कसैको विरुद्धमा र कसैलाई आरोप लगाउन बनेको होइन, राष्ट्रिय राजनीतिभित्र देखिएको गतिरोध अन्त्य गर्ने यसको मुख्य काम हो,’ दाहालको भनाइ थियो । उनले जातीय पहिचानसहितको संघीयताका सवालमा कांग्रेस, एमालेलगायत दलले मोर्चाबन्दी गरेपछि संघीयता पक्षधरको छुट्टै मोर्चा गठन गरिएको बताए । उनले गठबन्धनबाट नडराउन र नतर्सिन सबैलाई आग्रह गर्दै संघीयतामा चासो राख्ने दलहरूलाई गठबन्धनमा सहभागी हुन अपिलसमेत गरे ।
आºनो दायाँ–बायाँ प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई राखेर दाहालले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन कसैका विरुद्ध स्थापना गरिएको नभई राष्ट्रिय सहमति कायम गरी मुलुकलाई अग्रगामी दिशामा लैजान बनाइएको दाबी गरे । अध्यक्ष दाहालले १४ जेठपछि संविधानसभाको ३ महिना समय थप्ने विषयमा एमाले र कांग्रेस सहमत भए पनि कांग्रेस सभापति सुशील कोइरालाका कारण नथपिएको र संविधानसभाको अवसान भएको आरोप लगाए । ‘कृष्ण सिटौलाले समय थपको बिल दर्ता गरेका हुन् । एमाले पनि सहमत थियो,’ उनले भने, ‘एक्कासि सुशीलजीले पत्रकार सम्मेलनमार्फत बिल तान्ने निर्णय गरेपछि सबै सहमति तोडियो ।’ पहिला १० प्रदेशमा सहमति जनाए पनि पछि षड्यन्त्रमूलक तरिकाले अस्वीकार गरेपछि संविधानसभा विघटन भएको र अहिले मुलुकमा नेतृत्वको अभाव खड्किएको भन्दै दाहालले १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता स्व.गिरिजाप्रसाद कोइराला भएको भए यो अवस्था नआउने बताए । नेतृत्व संकटको कारण दलहरूबीचको दूरी बढेको उनको धारणा छ । ‘नेतृत्व संकटका कारण सहमति हुन नसकेको हो,’ अध्यक्ष दाहालले थपे, ‘यस्तो अवस्थामा शक्तिशाली गठबन्धनविना अन्य दललाई सहमत गराउन असम्भव हुने भएकाले पनि यो गठबन्धनको अत्यावश्यक भएको हो ।’
विपक्षी दलले एकोहोरो रूपमा प्रधानमन्त्री भट्टराईको राजीनामा मागेको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘दलहरूबीच सहमति नै कायम नगरी एकोहोरो प्रधानमन्त्रीको राजीनामा मागिरहनु कांग्रेस/एमालेलगायत विपक्षी दलका नेतामा कुर्सीमोह रहेको स्पष्ट देखिन्छ ।’ एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा तथा प्रधानमन्त्री डा. भट्टराईलाई आमन्त्रित सदस्यका रूपमा राखिएको गठबन्धनमा एकीकृत नेकपा (माओवादी) मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी नेपाल, संघीय सद्भावना पार्टी, सद्भावना पार्टी, नेकपा (माले) समाजवादी, दलित जनजाति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपा: राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनता दल युनाइटेड, नव नेपाल निर्माण पार्टी, राष्ट्रिय सद्भावना पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाली जनता दललगायत सरकारभित्र र बाहिर रहेका साना–ठूला गरी दुई दर्जन दल सहभागी छन् ।
गठबन्धन घोषणा गर्नुअघि उनीहरूले गठबन्धनको आचारसंहिता, त्यसको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीनिवास बालुवाटार तथा दाहालनिवास लाजिम्पाटमा पटक–पटक छलफल गरेका थिए । गठबन्धनले पूर्वमन्त्रीसमेत रहेका लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष प्रेमबहादुर सिंहलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । उनले पत्रकार सम्मेलनमा मोर्चाको उद्देश्य, नीति तथा कार्यक्रम यसको संरचना र आचारसंहिता पढेर सुनाएका थिए । प्रवक्ता पूर्वमन्त्री सिंहले गठबन्धनको नीति तथा कार्यक्रम, ०६९ प्रस्तुत गर्दै मूल रूपमा गठबन्धन राजनीतिक निकासको प्रक्रिया र मार्गचित्र निर्माण गर्नेमै केन्द्रित रहने बताए । जसअन्तर्गत संविधानसभा व्यवस्थापिका संसद्को निर्वाचन गर्ने, त्यसका लागि निर्वाचनसम्बन्धी अन्तरिम संविधानका बाधक धारा संशोधन गर्ने र आवश्यक ऐन, कानुन निर्माण गरिने बताए । प्रवक्ता सिंहले यही गठबन्धनले नै निर्वाचनको नयाँ मिति तोकी अर्को संविधानसभाको अवधि तय गर्ने जानकारी दिए । संविधानसभाले गरेका कामको स्वामित्व लिएर त्यसलाई निरन्तरता दिँदै विवादित विषयमा साझा सहमति खोज्ने प्रयत्न गरिने पनि उनले बताए ।

‘जातिवादी विखण्डनकारी गुट’
काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’लाई जातिवादी विखण्डनकारी गुटको संज्ञा दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापासँगको भेटपछि पार्टी कार्यालय बल्खुमा पत्रकारसँग एमाले अध्यक्ष खनालले राष्ट्रिय सहमतिको दिशामा अघि बढ्नुपर्ने बेला प्रधानमन्त्रीनिवासबाटै गुट निर्माण गर्ने अभियान चल्नु घातक रहेको टिप्पणी गरे ।
अध्यक्ष खनालले राष्ट्रिय सहमतिको वातावरण बनाउन अगाडि बढ्नुपर्ने बेला जातिवादी, विखण्डनकारी र राष्ट्रघाती गुट खडा गरेर मुलुकलाई थप संकटमा पुर्‍याउन खोजेको आरोप लगाए । ‘राष्ट्रिय सहमतिको वातावरण सिर्जना गरेर मुलुकलाई निकास दिनुपर्ने बेला प्रधानमन्त्रीनिवासबाटै जातिवादी, विखण्डनकारी र राष्ट्रघाती गुट निर्माण भइरहेको छ,’ खनालले भने, ‘राष्ट्रिय सहमतिको साटो उल्टो बाटोबाट गठन भएको यो गुटले मुलुकलाई खाडलमा पुर्‍याउनेछ ।’ (सौस)

प्रतिक्रिया