विभाग र अञ्चल संयोजकद्वारा राजीनामा

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका असन्तुष्ट समूहका १८ जना विभाग र अञ्चल संयोजकहरुले सामूहिक राजीनामा दिएका छन् ।
संस्थापन समूहसँग असन्तुष्ट वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका मानिने १८ जनाले आज आफ्नो सामूहिक राजीनामा पत्र ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दर्ता गराएको कांग्रेसले जनाएको छ ।
यस अघिनै ज्ञानेन्द्र कार्की र एन.पी. साउदले आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिई सकेका थिए । राजीनामा दिनेमा १२ जना विभागीय प्रमुख र ६ जना अञ्चल संयोजक छन् ।
समूहिक राजीनामा दिनेमा संसदीय विभाग प्रमुख पूर्णबहादुर खड्का, कृषि तथा सहकारी विभाग प्रमुख बालकृष्ण खाँण, उद्योग, भू.पू. सैनिक विभाग प्रमुख रमेश रिजाल, प्राकृतिक स्रोत विभाग प्रमुख डा.प्रकाशरण महत, कला तथा संस्कृति विभाग प्रमुख मनमोहन भट्टराई, अनुसन्धान तथा अभिलेख विभाग प्रमुख श्रीमती महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी तथा जनजाति विभाग प्रमुख भीष्मराज आङ्देम्वे, पर्यटन विभाग प्रमुख किशोरसिंह राठौर, द्वन्द व्यवस्थापन विभाग प्रमुख श्रीमती ईश्वरी न्यौपाने, विज्ञान तथा प्रविधि विभाग प्रमुख सुश्री सीता गुरुङ, सिंचाई एवं पूर्वाधार विकास विभाग प्रमुख श्रीमती मिनाक्षी झा र अपाङ्ग विभाग प्रमुख सुश्री सुजाता परियारले राजीनामा दिएका छन् ।
त्यसै गरी, मेची अञ्चल समन्वय समिति संयोजक महेन्द्र यादव, लुम्बिनीका सुरेन्द्रराज पाण्डे, धवलागिरिका एन.पी. साउँद, कर्णालीका मीन विश्वकर्मा, सेतीका ज्ञानेन्द्रबहादुर कार्की र महाकालीका जीवनबहादुर शाहीले संयोजकबाट राजीनामा दिएका हुन् ।
सभापति सुशील कोइरालाले विधान विपरित विभाग र अञ्चल संयोजकहरु मनोमानी ढङगले नियुक्त गरेको देउवा समूहको आरोप छ । आफूहरुसँग सल्लाहनै नगरेर विधान विपरित विभाग र अञ्चल संयोजक तोकेको आरोप लगाउदै समूहिक राजीनामा दिएका हुन् ।
यस विषयमा बिहीबार बस्ने केन्द्रीय कार्य समिति बैठकमा देउवा समूह कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ । देउवा समूहको यो रडाकोले सभापति कोइरालालाई पुनः संकटमा पारेको छ ।
भातृ संगठनहरु विघठन र नियुक्तिलाई लिएर यस अघि पनि देउवा समूहले कोइरालालाई अप्ठेरो बनाई सकेको छ ।

प्रतिक्रिया