ग्लोबल मल्टिपर्पोजका पौडेल पक्राउ

काठमाडौं : आफ्नो खातामा पर्याप्त रकम नभए पनि ‘गुड फर पेमेन्ट’ चेक जारी गराई ठगी गरेको आरोपमा ग्लोबल मल्टिपर्पोज इन्टरनेसनल कम्पनी प्रालिका सञ्चालक विकास पौडेल पक्राउ परेका छन् । शिवनगर चितवन जिल्ला स्थायी घर भई कलंकी स्युचाटारमा बस्दै आएका पौडेललाई जनरल फाइनान्स लिमिटेड चाबहिलका महाप्रबन्धक राजुकुमार प्रधानसँग मिलोमतोमा कम्पनीको नक्कली चेक तथा छापसमेत प्रयोग गरी रकम संकलन गरेको आरोप लगाइएको छ ।

निजहरूले सात करोड ८२ लाख ५४ हजार नौ सय ७९ रुपियाँ अनियमितता गरेको केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । निज पौडेललाई हनुमानढोका चलान गरिएको छ । जनरल फाइनान्सका महाप्रबन्धक प्रधानलाई गत २२ असारमा निजकै निवासबाट पक्राउ गरिएको थियो ।
पौडेलले विभिन्न व्यक्तिलाई आफू सञ्चालक रहेको ग्लोबल मल्टीपर्पोज इकं प्रालिका नाममा जनरल फाइनान्समा रहेको खाता नं. २१–०००१४–३ बाट पर्याप्त रकम नै नभएता पनि दुई करोड ४४ लाख बराबर गुड फर पेमेन्ट चेक जारी गरी/गराई बैंकिङ कसुर ऐनअन्तर्गत अपराध गरेको आरोप लगाइएको छ । (सौस)

प्रतिक्रिया