दस दिनदेखि विद्युत् अवरुद्ध

इलाम, ३१ साउन । दस दिनदेखि इलाममा अवरुद्ध विद्युत् सुचारु हुनसकेको छैन । विद्युत् नहुँदा जिल्लाका विभिन्न स्थानमा रहेका टेलिकम टावरसमेत प्रभावित भएका छन् । विद्युत् नहुँदा जिल्लाको माईपोखरी, बिब्ल्याँटे, मंगलबारे, चमैता, साँखेजुङमा जडान गरिएका मोबाइलको बिटिएस टावर बन्द भएका छन् ।

नियमित विद्युत् आवश्यक पर्ने मोबाइल टावरमा यतिका लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदा ग्रामीण भेगका मोबाइल उपभोक्ता समस्यामा परेका छन् । विद्युत् नहुँदा मोबाइल चार्ज गर्न नै नपाइने समस्या सिर्जना भएको गजुरमुखीका दिलकुमारी लिम्बूले बताइन् । उनका अनुसार मोबाइलमा टावर आउन छाडेपछि समस्या झन् चर्किएको छ ।
माईपोखरीमा सिडिएमए र जिएसएम तथा मंगलबारेमा ल्यानडलाइन, जिएसएम र सिडिएमएको तथा अन्यमा जिएसएम मोबाइलको बिटिएस प्रभावित हुँदा हजराँै उपभोक्ता समस्यामा परेका हुन् । मोबाइल सेवा अवरुद्ध भएपछि सर्वसाधारण मारमा परेका छन् ।
यसैबीच नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण विद्युत् सेवा अवरुद्ध भएको भन्दै दोषी कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न इलामका युवाले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई हस्तलिखित ज्ञापनपत्र बुझाउँदै युवाहरूले दोषीलाई कारबाही नगरिए इलाममा सञ्चालित दुईवटा विद्युत् गृहमा तालाबन्दी गरी विद्युत् अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
इलाममा सञ्चालित पूवाखोला जलविद्युत् आयोजना र दोलखा हाइड्रोपावरको विद्युत् सेवा अवरुद्ध पार्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै कर्मचारीमाथि तत्काल कारबाही नगरिए प्राधिकरणको हाल भइरहेको सबै कामकाज ठप्प पार्ने चेतावनी उनीहरूको छ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले भदौको पहिलो सातासम्म विद्युत् सूचारु गर्ने गरी काम भइरहेको बताए । झापाको दमकबाट ६ दशमलव ८ एमभिए क्षमताको ट्रान्सफर्मर सोमबार साँझसम्म इलाम ल्याइपुर्‍याउने पनि उनले बताए ।

भदौ पहिलो सातादेखि सुचारु
इलाम : अवरुद्ध विद्युत आगामी भदौको पहिलो सातामा सुचारु हुने भएको छ । नेपाल विद्युत प्राधिकरण इलामले मंगलबार पत्रकार सम्मेलन गरी सो कुरा जनाएको हो । ‘झापाको दमकबाट ६ दशमलव ८ मेघाभोल्ट एम्पीयर (एमभीए) को टान्सफर्मर मंगलबार विहान इलाम ल्याईपुऱ्याईको छ’ प्राधिकरण शाखा प्रमुख राजिवकुमार शर्माले भने, ‘सबै पार्टपूर्जा जडान गरी बत्ती बाल्न एक सातासम्म लाग्न सक्छ ।’
गत २१ साउनदेखि सदरमुकामको तिल्केनीस्थित ३३/११ केभि सव स्टेशनमा जडित तीन एमभीएको पावर टान्सफर्मरमा आएको खराबीका कारण विद्युत अवरुद्ध भएपछि जिल्लाका विभिन्न ३१ गाविस सहित पाँचथरका दुई गाविस दश दिनदेखि अन्धकारमय छ ।
विद्युत नभएपछि सदरमुकामबाट प्रकाशन हुने तीन दैनिक पत्रिका र दुई एफएम रेडियो बन्द भएका छन् । सदरमुकामबाट प्रकाशित हुँदै आएका इलाम पोस्ट, सन्दकपुर र इलाम एक्सप्रेस दैनिक सोमबारदेखि प्रकाशन हुन सकेका छैनन् । त्यस्तै दुई एफएम रेडियो इलाम एफएम र नेपालवाण्ी एफएमले पनि बिहान र बेलुकाको मुख्य समाचार बुलेटिन मात्र प्रशारण गर्न बाध्य छन् ।
विजुली नभएका कारण सदरमुकामका सरकारी र गैरसरकारी कार्यालयहरुको दैनिक कामकाज ठप्प भएको छ । जिल्लास्थित विभिन्न उद्योग तथा कलकारखाना, दुग्ध चिस्यान केन्द्र, कम्युटर र ट्युसन इन्टिच्युट तथा विभिन्न विद्युतीय पसलहरु पूर्ण रुपमा बन्द छन् । त्यस्तै जिल्लाका विभिन्न स्थानमा रहेका टेलिकम टावर समेत प्रभावित भएका छन् । विद्युत नहुँदा जिल्लाको माइपोखरी, विव्ल्याँटे, मंगलवारे, चमैता, साँखेजुङ लगायतमा जडान गरिएका मोबाइलको विटिएस टावर बन्द भएका छन् । माइपोखरीमा सिडिएमए र जिएसएम तथा मङ्गलवारेमा ल्याण्डलाइन, जिएसएम र सिडिएमएको तथा अन्यमा जिएसएम मोवाइलको विटिएस प्रभावित हुँदा हज्जारैँ उपभोक्ता समस्यामा परेका हुन् । विद्युतीय सेवा ठप्प हुँदा दैनिक दुई लाख रुपियाँभन्दा बढीको घाटा भईरहेको प्राधिकरणले जनाएको छ । विद्युत सेवाबाट मासिक ६० लाखको बारोबार गर्दै आएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया