सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रयास

चरिकोट, ३१ साउन । भीमेश्वर नगरपालिका चोथाङमा रहेको करोडौँ मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न लागिएको खुलासा भएको छ ।

चोथाङमा जग्गाको मूल्य प्रतिरोपनी २० लाख रुपियाँभन्दा बढी रहेको छ । चोथाङको चिहानडाँडामा रहेको करिब ७० रोपनी जग्गा व्यक्तिका नाममा बनाउन खोजिएको भन्दै स्थानीयले विरोध गरेका छन् । ७० रोपनीभन्दा बढी जग्गा भएको चिहानडाँडाको ४० रोपनीभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने प्रयत्न भइरहेको स्थानीयको भनाइ छ ।
परापूर्वकालदेखि नै तमाङ समुदायका मानिसले चिहानडाँडाका रूपमा प्रयोग गर्दै आएको जग्गालाई स्थानीय देवेन्द्रकुमार लामा, पेमा छिरी लामा, मनोहरकुमार लामा, राजु लामा र राजन लामालगायतले आफ्नो नाममा दर्ता गर्न जिल्ला तथा पुनरावेदन अदालतमा मुद्दा दर्ता गरेपछि स्थानीयले विरोध गरेका हुन् ।
समूहले जग्गा आफ्नो नाममा बनाउनका लागि मालपोत कार्यालयमा निवेदन दिएका थिए । ०१७ सालमा देवेन्द्रकुमार लामाका बुबा नरबहादुरको वारेसमा जीतबहादुर लामा, कोन्जोक लामा, मानबहादुर लामा, भीमबहादुर लामा, निमाकुन्साङ लामाले आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालयमा निवेदन दिएपछि स्थानीय बुद्धलक्ष्मी लामाले जग्गा चिहानडाँडाका रूपमा प्रयोग गरिँदै आएको सार्वजनिक जग्गा भनेर उजुरी गरेकी थिइन् ।
२३ चैत ०१९ मा जिल्ला मालपोत कार्यालयले अर्को आदेश नभएसम्म कुनै कारबाही अघि नबढाउने र कुनै निवेदनसमेत नलिने निर्णय गरेको स्थानीय नवीनकुमार लामाले बताए । झन्डै ३५ वर्ष सार्वजनिक रूपमा जग्गा प्रयोग हुँदै आएको भए पनि ०५२ सालमा नापी हुँदा कित्ता नम्बर ४२२ निमा लामाको नाममा कित्ता नम्बर ४२५ र ४२६ पेमा छिरिङ लामाको नाममा, कित्ता नम्बर ४१९ र ४२३ मनोहरकुमार लामाको नाममा, कित्ता नम्बर ४२४ विजयलक्ष्मी लामाको नाममा र कित्ता नम्बर ४२७ इन्द्रबहादुर लामाको नाममा दर्ता भएपछि पुन: विवाद सुरु भएको थियो ।
स्थानीयले विरोध गरेपछि जग्गा दर्ता गर्नेलगायतले मालपोत कार्यालयमा सार्वजनिक जग्गा भएको उल्लेख गर्दै निवेदन दिएको र विजयलक्ष्मी लामा तथा इन्द्रबहादुर लामाले भूलसुधारमा आफ्नो नाममा नापी भएको जग्गा सार्वजनिक गरिपाउँm भनेर निवेदन दिएको नवीनकुमार लामाले जानकारी दिए । तर, नापी कार्यालयले सार्वजनिक गरिपाउँm भनेर भूलसुधारमा निवेदन गरेको कित्ता नम्बर ४२४ र ४२७ बाहेक अन्य कित्ता व्यक्तिको नाममा दर्ता गरिदिएपछि ५ साउन ०५४ मा स्थानीय कर्मा लामाले नापीको निर्णयविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका थिए ।
मुद्दामा प्रतिवादीले म्याद गुजारेपछि अदालतले १५ चैत ०५६ मा कित्ता नम्बर ४२२ आंशिक ठहर्ने गरी बाँकी जग्गा सार्वजनिक भएको फैसला सुनाएको स्थानीयले बताए । अदालतको निर्णयपछि १० वर्ष चुपचाप बसेका प्रतिवादीले २६ माघ ०६६ मा अगाडिका कागजपत्र लुकाएर मालपोत कार्यालयमा छुट दर्ताको लागि निवेदन दिएको नवीनकुमार लामाले बताए । निवेदनपछि १९ फागुन ०६६ मा भीमेश्वर नगरपालिकाले मालपोत कार्यालयलाई प्रमाण कागजसहित उल्लेखित सार्वजनिक जग्गाको लगत राखिदिने व्यहोराको पत्र पठाएको र सोका आधारमा मालपोत कार्यालयले २४ जेठ ०६८ मा फिल्डबुकबाट व्यक्तिको नाम कट्टा गरी नेपाल सरकारको नाममा पुर्जा बनाउने निर्णय गरेको थियो ।
आफ्नो नाममा दर्ता हुनुपर्ने भन्दै पुनरावेदन अदालतमा मुद्दा हाल्नेमध्येका देवेन्द्रकुमार लामाले जग्गा विगतमा आफ्नै भएको तर दाजुभाइबीच कुरा नमिल्दा लामो समय सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बताए । उनले अहिले दाजुभाइबीच कुरा मिलेपछि सबैले आफूहरूको नाममा दर्ता गर्न कानुनी प्रयास सुरु गरेको बताए । उनले तमाङको चिहानका रूपमा प्रयोग हुँदै आएको जग्गा व्यक्तिका नाममा हुनुपर्छ भनेर आफूहरूले मुद्दा नगरेको बताए ।
लामो समय सार्वजनिक जग्गा भएको कुरालाई स्विकारेर बसेकाहरू मालपोतको निर्णयपछि आफ्नो नाममा दर्ता गरिपाउँm भनी अदालतमा जानु हास्यास्पद भएको स्थानीयको भनाइ छ । मालपोतको निर्णयपछि आफ्नो नाममा दर्ता हुनुपर्ने भन्दै देवेन्द्र, राजु र राजन लामाले पुनरावेदन अदालतमा मुद्दा दर्ता गरेका छन् भने पेमा छिरी र मनोहरकुमारले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया