खड्कालाई डेढ बर्ष कैद सजाय

काठमाडौं, ३० साउन । भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतले पूर्व मन्त्री खुमबहादुर खड्कालाई डेढ बर्ष कैद सजाय सुनाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याणप्रसाद श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई पदीय आचारण विपरित भ्रष्टाचार गरेरको अभियोगमा सो सजाय सुनाएको हो । उनलाई ९४ लाख ७४ हजार एक सय १२ रुपियाँ जरिवाना र विगो भराउने निर्णय गरेको सर्वोच्चले जनाएको छ ।
२०४८ सालदेखि पटक–पटक मन्त्री बनेका खड्काले गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सर्वोच्चमा भ्रष्टाचार मुद्दा चलिरहेको थियो ।
२०४७ सालपछि पटक/पटक मन्त्री बनेका खड्काले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले लगाएको थियो ।
अख्तियारले ४ कात्तिक २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी र सदस्य न्यायाधीश कोमलनाथ शर्मा तथा चोलेन्द्रशमशेर जवराले २९ कात्तिक २०६३ मा खड्कालाई सफाइ दिएका थिए ।
अख्तियारले दुई करोड ३६ लाखभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको दाबी गरे पनि विशेष अदालतले १२ लाख बराबरको सम्पत्तिको मात्र स्रोत नखुलेको फैसला सुनाएको थियो । खड्काले १२ लाख मात्र अनियमितता गरेको ठहर भए पनि उनलाई सफाइ दिइएको थियो ।
विशेष अदालतले खड्कालाई सफाइ दिने फैसला सुनाएपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च पुगेको हो ।
खड्काको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त, बद्रीबहादुर कार्की, बार अध्यक्ष प्रेमबहादुर खड्का, शेरबहादुर केसी र भीमार्जुन आचार्यले बहस गरेका हुन् ।
अख्तियारले स्रोत नखुलेको दुई करोड ३६ लाख रुपियाँ बराबर सम्पत्ति देखाएपछि त्यसको बचाउ गर्न खड्काले कृषि आम्दानी, मन्त्री हुँदा विदेश भ्रमणबाट बचेको रकम र श्रीमतीको माइतीतर्फबाट आएको दाइजोलाई मुख्य आयस्रोतका रूपमा दाबी गरेका थिए ।
भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा परेको ९० दिनभित्र फैसला हुनुपर्ने हो तर सर्वोच्चको बेवास्ताका कारण खड्काको मुद्दा पाँच वर्षपछि छिनोफानो भएको छ । लामो समय पछि अदालतमा विचाराधीन खड्काको भ्रष्टाचार मुद्दामाथि आज अन्तिम फैसला भएको हो ।
यसैबीच, मुद्दा फैसलालाई प्रभावित पार्न दाङ, रौतहट र नवलपरासीबाट उनका दुई सयभन्दा बढी समर्थक राजधानी भित्रिएका थिए ।
कांग्रेस दाङ जिल्ला सभापतिसहित डेढ सय नेता–कार्यकर्ता तीनवटा बस रिजर्भ गरेर ‘फैसला सुन्न’ राजधानी आएका हुन् । नवलपरासी र अन्य मध्यपश्चिमका जिल्लाबाट पनि दर्जनौंको संख्यामा आएको स्रोतले बतायो ।
कुनै जिल्लाबाट बस नै रिजर्भ गरेर त कतैबाट समूह–समूह भएर नेता–कार्यकर्ता राजधानी आएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैधनाथ उपाध्यायको संयुक्त इजलासले वर्षौं लामो बहसपछि उनको मुद्दाको अन्तिम किनारा लगाउने मिति तय गरेका थिए ।

यस अघि, भ्रष्टाचारको अभियोगमा पूर्व मन्त्री चिरञ्जीवी वाग्लेले सजाय काटिसकेका छन् भने पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले सजाय भोगी रहेका छन् । पूर्व मन्त्री पनि भष्टाचारको अभियोगमा सजाय पाईसकेका छन् ।

प्रतिक्रिया