कायरो : इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीले सेनाका दुई सर्वोच्च अधिकारीलाई बर्खास्त गरेका छन् । इजिप्टको राजनीतिमा ज्यादै शक्तिशाली मानिएको त्यहाँको सेनाका सर्वोच्च अधिकारीलाई सेवामुक्त गरेर उनले मुलुकको राजनीतिक तथा फौजी शक्ति आफूमा केन्द्रित गर्न खोजेका छन् ।
बिबिसीका अनुसार राष्ट्रपति मोर्सीले रक्षामन्त्रीसमेत रहेका ७६ वर्षीय सेनाप्रमुख हुसेन तन्तावीलाई अवकाश दिएका छन् । साथै, उपरक्षमन्त्री लेफ्टिनेन्ट समी अन्नान पनि बर्खास्तगीमा परेका छन् । इजिप्सेली क्रान्तिले होस्नी मुबारकको पतन गराएपछि शासनको बागडोर सैन्य परिषद्ले लिएको थियो । परिषद्को अध्यक्षका हैसियतले तन्तावनीले शासनको बागडोर सम्हालेका थिए । होस्नी मुबारककै समयमा करिब २० वर्ष रक्षामन्त्री बनेका उनी प्रभावशाली नेता मानिन्छन् । इजिप्सेली सेनाले राष्ट्रपतिको अधिकार कटौती गर्ने प्रयत्न गरेको चर्चा चलेका बेला मोर्सीले उल्टै सेनालाई काबुमा राख्ने ‘बोल्ड डिसिजन’ लिएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । राष्ट्रपतिको अधिकार कटौती गर्नुपर्ने उल्लेख गरिएको संवैधानिक घोषणापत्रलाई पनि उनले खारेज गरेका छन् ।
सेनाप्रमुखलाई बर्खास्त गरेपछि सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति मोर्सीले सेना अथवा कुनै अमुक व्यक्तिप्रति दुराशय राखेर आफूले कदम नचालेको प्रस्ट पारेका छन् । नयाँ पुस्तालाई अवसर प्रदान गरेर मुलुकलाई उज्ज्वल भविष्य दिलाउन आफू अग्रसर भएको उनको भनाइ छ । बर्खास्तगीमा परेकालाई राष्ट्रिय सुरक्षामा समर्पित हुन उनले आह्वान गरेका छन् ।
राष्ट्रपति मार्सी इजिप्सेली क्रान्तिको नेतृत्व गरेको दल मुस्लिम ब्रदरहुडसँग आबद्ध छन् । उनी आमनिर्वाचनबाट राष्ट्रपतिमा चुनिएका हुन् । इजिप्टमा उनको दलको जनाधार व्यापक रहेको विश्वास गरिन्छ । इजिप्सेली सेनालाई अमेरिका र इजरायलको दरिलो समर्थन रहेको बताइन्छ । अमेरिकाले इजिप्सेली सेनालाई वार्षिक एक अर्ब ३० करोड डलर वार्षिक सहायता दिने गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मोर्सीले इजिप्टमा इस्लामिक राष्ट्रवादको पुनरुत्थान गर्न खोजेको आरोप पश्चिमी राष्ट्रका सञ्चारमाध्यमले लगाएका थिए । मध्यपूर्वको मुसलमान समुदायमा सर्वाधिक आलोचित इजिप्ट–इजरायल शान्ति–सन्धिमाथि पुनर्विचार गर्नसमेत आफू तयार रहेको बताएर मोर्सीले अमेरिका र उसको साझेदार इजरायलाई झस्काएका थिए । (एजेन्सी)
प्रतिक्रिया