एमाओवादीको सत्तामोह

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता छाडेर पुन: पहिलाकै गल्ती नदोहोर्‍याउने स्पष्ट पारेका छन् । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत दलसँग भएको पाँचबुँदे र सातबुँदे सहमतिको पनि उपादेयता समाप्त भएको जनाउ दिए । साथै, दाहालले कांग्रेस– एमालेलाई सडकमै भिड्न पनि आमन्त्रण गरे । यो स्पष्ट र खरो अभिव्यक्तिले कांग्रेस–एमालेलगायत दललाई बल्ल एमाओवादीको वास्तविकता बुझ्न सहयोग पुर्‍याएको हुनुपर्छ । तर, राजनीतिक विश्लेषकका साथै नेपाली जनतालाई भने स्पष्ट थियो अब एमाओवादीले सत्ता छाड्नेछैन । किनकि, एमाओवादीका गतिविधि देखेर जनता खिन्न छन् । कार्यकर्तामा पहिलाको जस्तो जोस, जाँगर र उत्साह छैन । निष्क्रिय र पलायनतर्फ उन्मुख छन्, पार्टी विभाजन भएको छ । साथै, एमाओवादीको जनता आकर्षित गर्ने मुख्य मुद्दाका रूपमा रहेको राष्ट्रिय स्वाधीनताको नारा पनि खोसिएको छ । यी सबै कारणले एमाओवादी दाह्रा–नंग्राविनाको बाघ भएको छ । जोसँग अब सिकार गर्ने साधन छैन । अध्यक्ष दाहाल, उपाध्यक्ष डा. बाबुराम भट्टराईलगायत एमाओवादी नेतालाई राम्रोसँग थाहा छ, राजनीतिको अन्तिम सत्य भनेको सत्ता र शक्ति नै हो । अहिले उनीहरूसँग जनता छैनन्, कार्यकर्ता विभाजित भएर गए, नीति छैन, विस्तारवाद र साम्राज्यवादविरोधी नारा भट्याउन सक्ने अवस्था पनि रहेन । यो परिस्थितिमा आफूसँग रहेको शक्ति र सम्पत्तिको स्रोत सत्ता पनि अर्कालाई जिम्मा लगाउने हो भने बाँकी केही रहनेछैन । यही कारणले अध्यक्ष दाहालले कुनै पनि हालतमा सत्ता नछाड्ने दृढता व्यक्त गरेका हुन् । यसको सोझो अर्थ सहमति र सहकार्य समाप्त भएको बुझ्नुपर्छ ।
दुई दिनअघि मात्र एमाओवादी अध्यक्ष दाहालले कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नसक्ने घोषणा गर्दै सडकमै भिड्न आमन्त्रण गरेका थिए । त्यसको दुई दिनपछि पोखराको कार्यकर्ता भेलामा सत्ता नछाड्ने घोषणा गरे । कांग्रेस र एमालेका लागि यो घोषणा अस्वाभाविक लागे पनि एमाओवादीका लागि स्वाभाविक हो । किनकि, आफ्नो रणनीतिअनुसार कब्जा भइसकेको सत्ता थपक्क छाडेर कसैले पनि जोगी हुन राजनीति गरेको हुँदैन । त्यसमा पनि पार्टीभित्र आर्थिक मामिलामा अति कमजोर देखिएका अध्यक्ष दाहाल कटवाल प्रकरणदेखि तर्सिएका छन् । त्यसताका उत्तेजनामा आएर सत्ता नछाडेको भए अहिले पनि प्रधानमन्त्रीको कुर्सीमा आफैँ हुन्थेँ भन्ने मीठो कल्पना दाहालको मनमा छ । अहिले आफू नभए पनि आफूले जे भन्यो त्यो एकछिनमा पूरा गर्ने प्रधानमन्त्री छन् । उनलाई सत्ताच्यूत गराएर अर्को दलको कुनै व्यक्तिलाई राख्नु दाहालका लागि कल्पना बाहिरको कुरा हो । यी सबै पक्षको वस्तुगत आधारमा मूल्यांकन गर्दै कांग्रेस र एमालेले राष्ट्र र जनताको मुद्दा उठाएर अगाडि बढ्नु जरुरी छ । अब सहमति र सहकार्यको बाटो बन्द भएपछि मुलुक झनै संकटमा फस्ने निश्चित छ । लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति एमाओवादीले मान्दैन भन्ने स्पष्ट हुँदै गएको अवस्थामा कांग्रेस र एमालेसँग भएका फितला मुद्दामा प्राण भर्नु जरुरी छ । तब मात्र जनताले निर्णय गर्ने अवस्था सिर्जना हुन्छ ।
मुलुकले दलहरूबीच अविलम्ब सहमति खोजेको थियो । तर, एमाओवादीले सहमतिको आवश्यकता नभएको जनाउ दियो । ऊ निषेधको राजनीतिमा ओर्लिएको छ । कांग्रेस–एमालेलाई राजनीतिक अछुत सावित गर्दै अगाडि बढेको एमाओवादीलाई रोक्ने र लोकतान्त्रिक पद्धतिमा आउन बाध्य पार्ने शक्ति नेपाली जनता मात्र हुन् । तसर्थ, नेपाली जनताको मर्म र भावना बुझेर सत्ताइतरका दलहरू सशक्त र संगठित हुनु जरुरी छ । आँधिबेहरीको कल्पना गरेर मात्र हुँदैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बनाउँदै एमाओवादीको गैरलोकतान्त्रिक सोचमा परिवर्तन ल्याउन जरुरी छ । सर्वसत्तावादी सोच नरोक्ने हो भने जनताले दु:ख पाउनेछन् । अब लोकतन्त्र नरहेको सन्देश गइसकेको छ । किनभने, लोकतन्त्रका मूल्य, मान्यता र पद्धति समाप्त पारिएको छ । तसर्थ, सत्ताइतरका दलहरू सशक्त र संगठित भएर अगाडि बढ्नुको विकल्प छैन । अर्को विकल्प भनेको राष्ट्रपतिले चाल्ने कदम हो । त्यो अहिले सम्भव देखिँदैन । यिनै कारणले गर्दा कांग्रेस र एमालेले जनता गुहार्नुबाहेक अर्को विकल्प खोज्नुहँुदैन ।

प्रतिक्रिया