राजतन्त्र, नेपाली सेना र इतिहास

नेपाली सेना तत्कालीन राजा पृथ्वीनारायण शाहले एउटा निश्चित लक्ष्यप्राप्तिका लागि गठन गरेको ज्यादै सुगठित, हिम्मतिलो र लक्ष्यमा हिँडेको सशस्त्र फौज हो । तर, समय क्रममा यस सेनाका उपयुक्त सबै चरित्रमा परिवर्तन आउँदै गयो । खासगरी सुगौली सन्धिमा यसको भयंकर पराजयपछि यो सेनाको स्थिति हतप्रभ नै बन्न पुग्यो । किल्लामा हारियो, साथीहरूले ज्यान गुमाए, राज्य विजयको अभियान लुटियो, अब के गर्ने भन्ने प्रश्न तेर्सियो । बाध्य भई तीमध्ये कतिपय पन्जाबको लाहोरमा पन्जाबकेशरी रणजीतिसिंहको सेनामा भर्ती हुन गए । यहीँबाट नेपालमा ‘लाहुरे’ राष्ट्रको प्रचलन सुरु भयो । यो ई. १८१६ को कुरा थियो । त्यसरी लाहुर जाने पहिलो नेपाली नालापानीका प्रसिद्ध योद्धा बूढा भद्र कुँवर स्वयं थिए । यसरी स्वयं नेपाल–अंग्रेज युद्धका सेनापति अमरसिंह थापाका छोरा, नातीहरूले पनि यही बाटो समाते ।
यसप्रकार सुगौली सन्धिमा आफ्नो लक्ष्य हराएपछि नेपाली सेना त्यसै–त्यसै मुर्झाई बिभिन्डिए जस्तो हुन थाल्यो । अर्कोतर्फ राजनीति भन्नाले घात–प्रतिघात एवं षड्यन्त्र प्रतिषड्यन्त्रको पेसा भन्ने बुझिन थालेपछि सेना झन् किंकर्तव्यविमूढ हुन पुग्यो । भारदारहरू एकअर्कोलाई सिध्याउने आत्मघाती खेलमा लिप्त हुँदै गए । दामोदर पाण्डे, सर्वजित राना, स्वरूपसिंह कार्कीजस्ता विख्यात काजीहरू त शाही घातप्रतिघातमा परी उसैबेला
(ई. १७७७–१८०६) मारी–काटिइसकेका थिए । अब भीमसेन थापा, रणजंग पाण्डे, माथवरसिंह थापा र गगनसिंह भण्डारीजस्ता हस्तिहरू पनि या त मारिए होइन भने मर्ने अवस्थातर्फ धकेलिएपछि अन्तत: मृत्युवरण गरे । यस्तैमा आफूले मन्त्रीका हैसियतले पाएको ३ रेजिमेन्ट फौज दुरुपयोग गर्दै ई. १८४६ सेप्टेम्बर १४ राति १२ बजे जंगबहादुरले देशभक्त तथा केही बुद्धिविवेक पनि भएका सम्पूर्ण भारदारलाई एकै चिहान पारी कोतपर्व मच्चाएपछि नेपालमा राणा परिवारको एकतन्त्रीय जहानियाँ शासन सूत्रपात भयो ।
जंगबहादुर बालनरसिंह कुँवरका पुत्र भए पनि ई. १८४८ मा तत्कालीन राजा सुरेन्द्रकी शाहाज्यादीसँग आफ्नो पुत्रको लगनगाँठो कस्ने प्रयोजनार्थ यो ‘राणाजी’ भन्ने पदवी हत्याएका थिए जो आजपर्यन्त चलनचल्तीकै स्थितिमा छ । यसै मेसोमा राणा परिवारको मुठ्ठीमा जकडिएका नेपाली सेना कुनै राष्ट्रिय सेनाभन्दा पनि यही राणा परिवारको एकलौटी सेनाका रूपमा पालित, पोषित एवं पल्लवित हुँदै आयो । फलस्वरूप उक्त सेनाका प्रधानसेनापति स्वयं राणा प्रधानमन्त्रीले ग्रहण गर्ने परम्परा हुर्कियो । त्यहाँदेखि हालका प्रधानसेनापति गौरवशमशेर जबरासम्मलाई जोड्दा हुन आएका ३४ प्रधानसेनापतिमध्ये २७ जना राणा परिवारभित्रैबाट बनेकाले पनि यो सेना क्षेत्री–बाहुनको हो कि अरू कसैको सबै स्पष्ट भइहाल्छ । दु:खको कुरा नेपाली सेनाको यो इतिहास कसरी बुझ्ने, लेख्ने र जनमानसलाई साँचो अर्थमा सम्पूर्ण जातजातिको सेना बनाउने भन्ने प्रश्नलाई ठीकसँग बुझ्न नसक्दा आजको सन्दर्भमा यस प्रश्नले उत्पन्न हुने मौका पाएको छ । वस्तुत: हालै प्रकाशित शाही सेनाको इतिहासका सन्दर्भमा उठेको विवाद पनि यसैसँग सम्बन्धित छ ।
विवाद : ०४९ सालमा आधिकारिक रूपमा शाही नेपाली जंगीअड्डाले ‘नेपालको सैनिक इतिहास’ भन्ने पुस्तक प्रकाशनमा ल्याएपछि ०६५ सालमा जंगीअड्डाले ‘नेपालको सैनिक इतिहास (भाग–२)’ नामक अर्को पुस्तक पनि प्रकाशनमा ल्यायो । त्यसपछि हालै (२०६९) मा सोही अड्डाले पुन: अर्को ‘इतिहास’ प्रकाशनमा ल्याएकोमा हामीजस्ता ‘बाहिरिया’ हरूले त्यो पुस्तकको दर्शन हालसम्म पनि गर्न पाएका छैनौँ र बजारमा पनि बेच्न राखिएको छैन । अघिल्लो किताब त यति विवादास्पद बन्यो कि त्यसमाथि प्रतिबन्ध नै लगाउनुपर्‍यो । तर, अर्को पुस्तक पनि कम विवादित बनेन । दु:खको कुरा यतिका अनुभव भइसकेको पृष्ठभूमिमा प्रकाशनमा आएको नवप्रकाशित इतिहास झनै विवादास्पद बन्न पुग्यो । अब यसको नियति पनि भाग–१ कै जस्तो हुनेछ ।
बौद्धिक वर्गको लाचारी : नेपाली बुद्धिजीवीहरू साधन, स्रोत र ‘एक्सपोजिसन’ का दृष्टिकोणले पनि ज्यादै डरलाग्दो संकटबाट गुज्रिरहेका छन् ।’ आफ्ना काका, मामा, ससुरा वा ज्वाइँ पदमा नहुँदाका पीडा त छंदै छ साथै पार्टी, राजनीति, गुटबन्दी र जाति– क्षेत्रले पनि नेपाली अवसरहरू कुण्ठित रहँदै आएको सर्वविदितै छ । निश्चय नै यसको अपवाद नेपाली सेना हुने भन्ने प्रश्न आएन । तर, त्यो नेपाली सेनाले बदलिएको पृष्ठभूमि चिन्न सक्नुपथ्र्यो । दुर्भाग्य † उक्त समस्याले गाँजेका केही स्वनामधन्य प्राडाहरूले विभिन्न प्रलोभनमा फसाएर मनोमानी ढंगले नेपाली सेनाको इतिहास लेखनमा जागिर दिने प्रवृत्तिकै परिणाम हो– यी पुस्तकहरूको कोपभाजन । जो त्यही व्यक्ति भएर पनि भाग–१ मा एउटा कुरा लेख्छन् त भाग–२ मा अर्कै । अनि भाग–३ त्यसै पनि बहुरंगी हुने नै भयो । परिणाम हाम्रा सामु छ– गौरवशाली, देशको भाग्य निर्माता र हाम्रो सुरक्षामा अहोरात्र खटेका नेपाली सेनाजस्तो निकायलाई पनि दल र तिनका नेताभैँm अनावश्यक बहस र विवादमा बारम्बार ल्याउने दुष्प्रयास भइरहेको छ ।
यो जनरल रुक्मांगद कटवालको पालाको कुरा हो । त्यस बखत म उहाँलाई केही सुझाब लिएर प्रधानसेनापतिको कक्षमा पुगेको थिएँ । तर, त्यसबखत उहाँले मलाई आफ्नै सेनाको जमदारसँग गर्नेजस्तो व्यहवार गर्नुभयो । म छक्क परेँ, लाग्यो– यस सेनालाई जनताको सेना बनाउन सम्भव छैन कि क्या हो † त्यसपछि एकपटक बहालवाला कर्णेल डा. प्रेमसिंह बस्न्यातसँग पनि नेपाली सेनाबारे प्रसंग चल्यो । ‘तपाईंहरू किन सेनालाई माया गुर्न हुन्न ? उहाँको प्रश्न थियो । मैले प्रतिप्रश्न गरेँ– तपाईंहरू नै हामीलाई कहाँ माया गर्नुहुन्छ र ? माया गरे न माया पाइने हो । मेरो बुझाइ के छ भने हाम्रो सेना यही अर्थमा ‘हाम्रो’ हुनसकेको छैन । प्रजातन्त्र आएको दुई दशक नाघिसक्दा पनि अझै यो सेना खोरिया र मण्डले अनि राणा–ढुकुटी र पानी छर्किएका क्षत्रीहरूको संकीर्ण दायराबाट बाहिर आउन सकिरहेको छैन । यिनका सैनिक प्रतिष्ठान हुन् वा सैनिक विद्यालय तिनमा अहिले पनि आमजनताको पहुँच छैन । यस्तो प्रवृत्तिले नेपाली सेनालाई नेपाली सेना, सबैको सेना र देशको सेना बन्नबाट सदैव रोकेको छ । निवर्तमान सेनापति छत्रमान गुरुङले यसतर्फ थोरै गर्लान् कि भनेको त यिनले त झन्डै यसलाई जनजातिको सेना पो बनाउन भ्याए । त्यसको एउटा कुरूप दुष्टान्त हो– यसपटकको सैनिक इतिहास, जसलाई इतिहासका केही ‘प्राडा’ ले चिफसाहेबले भनेअनुसार रुजु सदर गरिदिए । तर, यो कदापि नूतन होइन, बरु एउटा सनातनकै नयाँ संस्करण हो, जो अघिल्ला दुई चिफसापहरूले पनि प्राय: यिनै प्राडाहरूको प्रयोगद्वारा नेपाली सेनाको इतिहासमाथि सांघातिक हमला गर्दै आएका थिए ।
उपसंहार : नेपाली सेनाको इतिहास प्रायोजितरूपमा त्रिविका केही वरिष्ठ वा कनिष्ठ प्राडाहरूलाई ठेक्कामा लेख्न लगाएर होइन, स्वतन्त्र पहिचान भई बुद्धिविवेक किनबेच गर्ने लेखनदास होइन, प्राज्ञिक–मूल्य र मान्यतामा अडिग रहने बौद्धिकहरूबाट लेखाइनु जरुरी हुन्छ । साथै, सेनाले त्यसलाई पुरानो विरासतका आधारमा त्यसको सनातनी संकीर्ण दायरामा देशभक्ति वा राजभक्तिको आवरणमा आफ्नो दुनो सोझ्याउन तल्लीन तथा खप्पिस कठमुल्लावादीहरूको पञ्जाबाट फुत्काएर लेख्ने, पढ्ने तथा समाजमा विश्वसनीयता भएका सिर्जनशील अनुसन्धानहरूको पहुँचसम्म ल्याइपुर्‍याउन ढिला भइसकेको छ ।
त्यस्तै, कठमुल्लावादीहरूको सिफारिसमा शिवपुरी सैनिक प्रतिष्ठान चलाउने र सैनिक विद्यालय वा महाविद्यालयका प्राचार्य वा हाकिम बनाउने पुरानो परिपाटीले शाही सेनाको गतिशीलतालाई बढाउने होइन, खुम्च्याउने मात्र सम्भावना प्रबल हुनेछ ।

प्रतिक्रिया