सडक र सिँचाइमा भ्रष्टाचार

नेपालगन्ज, ३० साउन । मध्यपश्चिम डिभिजन सडक कार्यालय नम्बर ३ मा भ्रष्टाचार भएको छ । सडक डिभिजन कार्यालयले बाँके र बर्दियाका सडकका लागि ह्युम पाइप खरिदमा भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०६८/०६९ को अन्त्यतिर बजेट सक्नका लागि विभिन्न मितिमा २६ लाख ६८ हजार आठ सय ९५ रुपियाँको ८० थान ह्युम पाइप खरिद गरेको देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नेपालगन्ज इकाइ प्रमुख देवराज भारतीले मध्यपश्चिम डिभिजन सडक कार्यालय नम्बर ३ का तत्कालीन प्रमुख भानु जोशी र लेखापाल सुदर्शन ढकालले जानाजान सार्वजनिक खरिद नियमावलीविपरित ह्युम पाइप खरिद गरेको बताए ।
सार्वजनिक खरिद नियमावली–०६४ अनुसार सोझै खरिद गर्दा एक आर्थिक वर्षमा टेण्डरमार्फत १५ लाख रुपियाँसम्मको मात्र खरिद गर्न पाउने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै डिभिजन प्रमुख जोशी र लेखापाल ढकालले टेन्डर आह्वान पनि नगरेको र २६ लाख रुपियाँभन्दा माथि रकमको सोझै ह्युम पाइप खरिद गरेको अख्तियार इकाइ प्रमुख भारतीले जानकारी दिए ।
‘एकातिर टेन्डर आह्वान गरेका छैनन्, अर्कोतर्फ सोझै टेन्डर गरे पनि १५ लाख रुपियाँसम्म मात्र गर्न पाइन्छ, तर २६ लाख रुपियाँ भन्दा बढी रकमको गरिएको छ,’ भारतीले भने, ‘सिधै रकम तल माथि गराउनका लागि नियत खराब राखेर काम गरेको देखिएको छ ।’
सडक डिभिजन कार्यालयले उप्रेती पोल एण्ड पाइप इन्डस्ट्रिज रझेना–३ बाँकेबाट २२ पुस ०६८ मा १० लाख ९२ हजार एक सय २२ रुपियाँको पाइप खरिद गरेको थियो । यस्तै, ११ फागुन ०६८ मा तीन लाख ८७ हजार सात सय ३१ रुपियाँको ह्युम पाइप सडक डिभिजनले खरिद गरेको थियो ।
त्यसैगरी बाँकेस्थित बागेश्वरी ह्युम पाइप एण्ड विद्युतपोल उद्योगबाट १९ फागुन ०६८ मा नौ लाख ८२ हजार दुई सय ५२ रुपियाँको र ३ असार ०६९ मा दुई लाख ६ हजार सात सय ९० रुपियाँको ह्युम पाइप खरिद गरेको कागजात अख्तियारले ल्याएको छ ।
सडक डिभिजनले खरिद गरेको ह्युम पाइप बाँकेको बनकटवा–इगाउँ सडकमा आठवटा, परसपुर–थुकैला सडकमा नौ वटा, पुलचोक–सीतापुर सडकमा तीन वटा, बिनौना–बैजापुर सडकमा २५ वटा, बैजापुर–विनौना–फत्तेपुर सडकमा १३ वटा, बर्दियाको भुरिगाउँ–तेलपानी सडकमा ६ वटा, बेलवा–धनौखा सडकमा १६ वटा ह्युम पाइप बिछ्याएको कागजमा देखाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जस्थित मध्यपश्चिम डिभिजन सडक कार्यालय नम्बर ३ र सिक्टा सिँचाइ आयोजनामा आइतबार छापा मारेपछि दुवै कार्यालयमा भ्रष्टाचार भएको पाइएको हो । बाँकेका सिडिओ ढुण्डीराज पोख्रेलको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इकाइ प्रमुख देवराज भारतीको टोलीले दुई वटा कार्यालयमा छापा मारेका थिए ।
अख्तियारले कागजमा ह्युम पाइप लगाएको देखिएपनि सडकमा लगाएको नलगाएको बारेमा पनि अनुसन्धान गरिने जनाएको छ । अख्तियारले नेपालगन्जस्थित सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा पनि आइतबार नै छापा मारेको छ । प्रशासनिक खर्चका लागि विकास निर्माणको रकमबाट छुट्याइने पाँच प्रतिशत रकममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि छापा मारिएको इकाइ प्रमुख भारतीले जानकारी दिए । उनले सडक र सिक्टा सिँचाइ आयोजनाका विषयमा छानविन भइरहेको जानकारी दिँदै थप सरकारी कार्यालय पनि अख्तियारको घेरामा रहेको बताए ।

प्रतिक्रिया