काभ्रे, ३० साउन । वर्षायाममा समेत साताको ३७ घन्टा लोडसेडिङ खेप्न बाध्य भइरहेका बेला काभ्रेमा सात सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।
जिल्ला विकास समितिको अगुवाइमा जिल्ला ऊर्जा तथा वातावरण शाखा र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सञ्चालित लघुजलविद्युत् योजनाबाट विद्युत् उत्पादन भएको हो । जिल्लास्तरीय वार्षिक समीक्षागोष्ठीमा लघुजलविद्युत् उत्पादनको तथ्यांक सार्वजनिक गरिएको हो । जिल्ला विकास समितिले गत आर्थिक वर्षमा मात्रै २६ किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण, १४ किलोमिटर सडक ग्राभेल, ५८ किलोमिटर सडक स्तरोन्नति, १४ वटा झोलुंगे पुल निर्माण र ४१ किलोवाट जलविद्युत् उत्पादनलगायतका उपलब्धि हासिल गरेको जनाएको छ ।
जिल्लाको साक्षरता दर, शौचालय प्रयोग गर्नेको संख्या, सुधारिएको स्रोतको खानेपानीको उपलब्धता, विद्युत् विस्तारलगायतका क्षेत्रमा समेत उल्लेख्य प्रगति भएको एलडिओ गोविन्दबहादुर कार्कीले जानकारी दिए । काभ्रेमा १४ गाविस र नगरपालिकाका केही वडा खुलादिसामुक्त क्षेत्र घोषणा भएका छन् ।
जिल्ला विकास समिति काभ्रेमार्फत गत आर्थिक वर्ष ०६८/६९ मा जिविस अनुदान, जिविस आन्तरिक कोष, ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना, स्थानीय यातायात तथा पूर्वाधार क्षेत्र कार्यक्रम, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग, गुम्बा व्यवस्था तथा विकास समिति र लोपोन्मुख आदिवासी जनजाति कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान कार्यक्रम, झोलुंगेपुल तथा स्थानीयस्तरका सडक आयोजना, जनसहभागितामा आधारित विकास कार्यक्रम, स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पुल कार्यक्रम, सामाजिक सुरक्षा, केन्द्रीयस्तरका सडक आयोजना, निर्वाचन क्षेत्र विकास कार्यक्रम, शान्ति प्रक्रिया सहयोग आयोजना, विद्युत् विकास विभाग, सडक बोर्ड नेपाल, बालमैत्री स्थानीय शासन, ग्रामीण ऊर्जा विकास कार्यक्रम, ग्रामीण पुन:निर्माण तथा पुन:स्थापन आयोजना, लघुउद्यम विकास कार्यक्रमलगायतका कार्यक्रम तथा आयोजना सञ्चालन भएका छन् ।
जिल्ला विकास समितिले सञ्चालित कार्यक्रममा विनियोजन भएको कुल रकमको ९१.६३ प्रतिशत रकम खर्च भएको बताएको छ । जिल्ला विकास समितिलाई प्राप्त रकममध्ये ६.९४ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको एलडिओ कार्कीले जानकारी दिए । यो आर्थिक वर्षमा सडकतर्फ एक सय ९९ योजनामा एक सय ७२ योजना सम्पन्न भएका छन् भने खानेपानीका एक सय १० वटामा ८९, सिंचाइ ३९ मा ३७, भवन २८ मा २४, शिक्षा क्षेत्रमा ६७ मा ५२, गुम्बा/मन्दिर ३७ मा २९, आयआर्जनमा ६९ मा ५३, सीप/क्षमता विकासमा ४४ मा ३७ र विद्युत् विस्तार, खेलमैदान, पुल/कल्भर्टलगायतका विविध योजनामा ७४ मा ४९ योजना सम्पन्न भई कुल ६ सय ६७ योजनामा पाँच सय ४२ योजना सम्पन्न भएका छन् ।
यो आर्थिक वर्षमा जिल्ला विकास समितिले तय गरेका एक सय २५ योजना सम्पन्न हुने क्रममा रहेका छन् । गत आर्थिक वर्षमा ८७ गाउँ विकास समितिले करिब दुई हजार दुई सय योजना सञ्चालन गरेको बताइएको छ । चारवटा निर्वाचन क्षेत्रमा ९ सभासद्का ८८ योजनाको ९० लाख रुपियाँमध्ये ८८ लाख ७३ हजार रुपियाँ खर्च भएको छ ।
जिल्ला विकास समितिले चालु आर्थिक वर्षमा ५१ प्रतिशतभन्दा बढी अर्थात् एक करोड १९ लाख रुपियाँ बेरुजु फस्र्योट गरेको छ भने लघुजलविद्युत्को क्षेत्रमा योगदान गरेबापत ७५ जिल्लामध्ये उत्कृष्ट तेस्रो जिल्लाको रूपमा पुरस्कृत भएको छ ।
प्रतिक्रिया