नेपाल अस्ट्रेलियाविरुद्ध खेल्दै

काठमाडौं, २९ साउन । यु–१९ क्रिकेटमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ । एसिसी यु–१९ क्रिकेटमा नेपाल चारपटक विजेता र दुईपटक उपविजेता भइसकेको छ । यस उमेरसमूहको विश्वकप पनि पाँचपटक खेलिसकेको छ । विश्वकपमा दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड र जिम्बावेजस्ता टेस्ट टोली पनि नेपालसँग पराजित भइसकेका छन् । नेपालले यी टोलीविरुद्ध प्राप्त गरेको जित नै विश्वकपमा नेपालका लागि एउटा ठूलो सफलता बन्यो । विश्वकपमा एकपटक मात्र सुपर–एटमा पुगे पनि यिनै कारण नेपाली टोली हरेक प्रतिद्वन्द्वीका लागि टाउकोदुखाइ बन्ने गरेको छ ।
तीनपटकको विजेता अस्ट्ेरलिया सोमबार नेपालविरुद्ध भिड्दा उसलाई पनि सजिलो हुनेछैन । यता नेपाल टेस्ट टोलीमा पनि ‘टप क्लास’ अस्ट्रेलियालाई हराएर फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई चर्चामा ल्याउने प्रयासमा छ ।
गत वर्ष आयोजित एसिसी यु–१९ एलिटकपमा उपविजेता भएर विश्वस्तरको छनोटमा पुगेको नेपाल त्यसमा सहभागी १० टोलीमध्ये दोस्रो भएको थियो । नेपालभन्दा माथि स्कटल्यान्ड मात्र रहेको थियो । यसबीचमा नेपालले केही समयअघि आयोजित एसिसी यु–१९ एसियाकपमा भारतविरुद्ध स्तरीय बलिङ प्रदर्शन गरेको थियो । भरखरै मात्र भएको अभ्यास खेलमा नेपालले टेस्ट टोली न्युजिल्यान्डविरुद्ध २४९ रन जोडेको थियो । यिनै कारण हुन्, फेरि टेस्ट टोली नेपालदेखि त्रसित छ । अस्ट्रेलियाविरुद्ध अप्रत्यासित नतिजा निकालेमा नेपालले पुन: एकपटक सुपर–एटको यात्रा तय गर्ने सम्भावना सहज हुनेछ । सन् २००० यता नेपालले सुपर–एट यात्रा तय गर्न सकेको छैन ।
अभ्यासमा नेपाली बलिङ प्रभावकारी नदेखिए पनि सोमबार अस्ट्रेलियाविरुद्ध नेपाली बलरले लय समात्ने अपेक्षा गरिएको छ । त्यसो त अभ्यासमा इंगल्यान्डसँग पराजित भए पनि अस्ट्रेलियाले शनिबार समूहको पहिलो खेलमा इंगल्यान्डलाई नै पराजित गरिसकेको छ । सुभाष खकुरेल, हासिम अन्सारी, प्रदीप ऐरी लयमा देखिए पनि मध्यक्रमका राजेश पुलामीमग, सागर पुन, फैजलुर रहमानलगायतका ब्याट्सम्यानले अभ्यासमा राम्रो प्रदर्शन नगरेका कारण नेपाली ब्याटिङ संकटमा पर्ने हो कि भन्ने आशंका गरिएको छ । अभ्यासका क्रमका घाइते भएका नियमित कप्तान पृथु बास्कोटाको चोट नेपालका लागि चिन्ताको कारण भएको छ । नेपालले समूहका अन्य खेलमा आयरल्यान्ड र इंगल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया