निगमको घाटा अझ चुलिँदै

काठमाडौं, २९ साउन । नेपाल आयल निगमको घाटा आगामी महिना अझ बढ्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले आगामी महिना निगमको घाटा बढ्ने निश्चित भएको हो ।
करिब एक महिनाबीचमा मात्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रतिब्यारेल २३ डलर वृद्धि भएकाले निगमले घाटा बढ्ने जनाएको छ । यसले करिब चार वर्षपछि नाफामा देखिएको निगम फेरि घाटामा जाने भएको छ । निगमका कामु महाप्रबन्धक सुरेशकुमार अग्रवालले नाफा/घाटा अन्तर्राष्ट्रिय बजारसँग निर्भर रहेकाले विदेशी बजारमा मूल्य वृद्धि हुँदा घाटा बढेको जनाए । उनले आगामी महिना निगमको मासिक घाटा अझ बढ्ने निश्चित भएको जानकारी दिए ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि निगम घाटा बढ्दै जान्छ,’ अग्रवालले भने, ‘करिब एक महिनाबीचमा विदेशी बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २३ डलर बढेको छ, यसले घाटा थप वृद्धि भएको हो ।’ उनले करिब एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर रहेको तर अहिले एक सय १३ डलर प्रतिब्यारेल पुगिसकेको जनाए । बिदेसीबजारमा कच्चा तेलको मूल्य वृद्धिपछि आयल निगमले भारतीय आयल निगम (आइओसी) बाट बढी मूल्य तिरेर पेट्रोलियम आपूर्ति गर्नुपर्ने र सोहीकारण निगमको घाटा थपिँदै जानेगरेको अग्रवाललको भनाइ छ ।
भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आइओसीले अगष्ट १६ मा पठाउने नयाँ मूल्यसूचीमा पेट्रोलियमको मूल्य बढेर आउने निगमले जनाएको छ । आइओसीले पठाउने मूल्य विगतभन्दा बढी भए पनि नेपाली बजारमा पेट्रोलियमको मूल्य नबढ्ने भएकाले घाटा वृद्धि हुने निगम अधिकारीको तर्क छ । निगम भने महँगोमा किनेर ल्याएको पेट्रोलियम सस्तोमा बिक्री गर्नुपर्दा घाटा चुलिँदै गएको जनाउँदै आएको छ ।
निगमले गत १ अगस्टमा भारतीय आयल निगमले पठाएको मूल्यअनुसार अहिले पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ ३५ पैसा, मट्टीतेलमा १० रुपियाँ ६२ पैसा, आन्तरिक हवाई इन्धनमा १६ रुपियाँ ५० पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ रुपियाँ ८९ पैसा नाफा रहेको जनाएको छ । तर, एल्पी ग्यासमा प्रतिसिलिन्डर दुई सय पाँच रुपियाँ ९६ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपियाँ ४१ पैसा घाटा रहेको निगमले जनाएको छ । यो मूल्यकै कारण अहिले निगम १६ करोड ४७ लाख मसिक घाटामा रहेको अग्रवालको भनाइ छ ।
यसअघि एक जुलाईमा आइओसीले पठाएको मूल्यअनुसार निगम चार वर्षपछि १३ करोड ११ लाख मासिक नाफामा आएको थियो । सो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले १३ करोड ११ लाख नाफा भएको निगमको दाबी छ । तर, त्यसको १५ दिनपछि निगमको नाफा एक करोड ३२ लाख मात्र सीमित भएको थियो । नेपाली बजारमा भएको मूल्यवृद्धि र विदेशी बजारमा कच्चा तेलको मूल्य गिरावटले आशालाग्दो नाफामा देखिएको निगम १६ जुलाईमा भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार एक करोड ३२ लाख नाफामा झरेको भए पनि त्यसको १५ दिनपछि अर्थात् एक अगस्टमा भने एकैपटक १६ करोड ४७ लाख रुपियाँ घाटामा आएको हो ।
१५ दिनबीचमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नाफा घटेको र फेरि मूल्य बढेकाले आगामी महिना घाटा बढ्ने निगमको दाबी छ । अहिले पेट्रोलको कुल नाफा १२ करोड ५६ लाखमा झरेको निगमले जनाएको छ । यस्तै, मट्टीतेलमा ६ करोड ३७ लाख, आन्तरिक हवाई इन्धनमा चार करोड ९५ लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा १९ करोड ५२ लाख रुपियाँ कुल नाफा रहेको निगमले जनाएको छ । तर, एलपी ग्यासमा २४ करोड ७२ लाख र डिजेलमा ३५ करोड १७ लाख कुल घाटा रहेकाले नाफा घाटाको अन्तर बढेको निगमको दाबी छ ।
यता आर्थिक वर्ष ०६५/०६६ पछि पहिलोपटक नाफामा आएको निगम फेरि घाटामा गएपछि त्यसको प्रत्यक्ष प्रभाव पेट्रोलियम आपूर्तिमा पर्ने देखिएको छ । बढ्दो घाटाका कारण आइओसीलाई समयमै भुक्तानी दिन नसकेमा तेल आपूर्तिसमेत प्रभावित हुने निगम अधिकारीको भनाइ छ । अहिले निगमसँग ३५ हजार किलोलिटर पेट्रोलियम मौज्जात रहेको जनाइएको छ ।
यता निगमले गत असारसम्म करिब १२ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरी करिब १८ अर्ब ५० करोड राजस्व दाखिला गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमार्फत असारसम्म सात हजार एक ५६ वटा नयाँ फर्म दर्ता र सात हजार एक ९६ वटा फर्म नवीकरण गरी ६ करोड ४५ लाख ९० हजार आठ सय ३१ रुपियाँ राजस्व असुली भएको छ ।

प्रतिक्रिया