जहाज खरिदको योजना माग

काठमाडौं, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमसँग जहाज खरिदको विस्तृत योजना मागेको छ । सरकारले निगमका लागि जहाज खरिद गर्ने निर्णय गरेपछि तालुकदार मन्त्रालयले स्पष्ट योजना मागेको हो । सरकारले गतसाता निगमलाई दुईवटा न्यारो बडी जहाज किन्न स्वीकृति दिएको थियो ।
मन्त्रालयमा हालै सरुवा भएर आएका सचिव यज्ञप्रसाद गौतमले जहाज खरिद गर्नुअघि निगमसँग व्यापारिक, प्राविधिक र खरिद योजना मागिने बताए । ‘जहाज किन्ने भनेर मात्र हुँदैन, स्पष्ट र दीर्घकालीन योजना पनि चाहिन्छ ।’ आइतबार पर्यटन सचिवको कार्यभार ग्रहण गरेपछि गौतमले भने । किनेर होस् वा भाडामा वायुसेवा कम्पनीका लागि जहाज अनिवार्य हुने उनले बताए । अमेरिकी डलरको मूल्य बढेकाले जहाज महँगो पर्ने उनको भनाइ छ । किस्ताबन्दीमा जहाज किन्दा आफ्नो हुन दस वर्षभन्दा बढी लाग्ने भन्दै उनले भाडामा लिन उपयुक्त हुने संकेत गरे ।
जहाज किन्नुअघि निगमले बजारको स्थिति, व्यापारिक सम्भाव्यता, रुटको विश्लेषणजस्ता काम गर्नुपर्ने सचिव गौतमको भनाइ छ । छोटो रुटमा ठूलो जहाज चलाउँदा प्राविधिक खर्च बढी हुने भएकाले मध्यम आकारका जहाज उपयुक्त हुने उनको सुझाव छ । यसअघि जहाज खरिदको प्रयास हुँदा जिम्मेवार व्यक्तिसमेत जानुपरेको प्रसंग उल्लेख गर्दै सचिव गौतमले प्रक्रिया पुर्‍याएर मात्र जहाज खरिद गर्नुपर्नेमा जोड दिए । जहाज खरिदका साथै निगममा संरचनागत सुधारसमेत खाँचो रहेको उनले औँल्याए ।
यसअघि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा सचिव गौतमले पर्यटन क्षेत्रको विकासका लागि थुपै्र चुनौती रहेको भन्दै पर्यटनबाट प्राप्त हुने राजस्व बढाउन तथा नेपाललाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउन सँधै प्रयासरत रहने बताए । हवाई सुरक्षामा जोड दिँदै उनले सडक दुर्घटना बढिरहेका सन्दर्भमा हवाई यातायाततर्फ आकर्षण बढेको उनको भनाइ छ । ‘हवाई यातायात सुरक्षित, नियमित र भरपर्दो हुनुपर्छ । वायुसेवा कम्पनीहरूले सुरक्षाका मापदण्ड पूरा गरे/नगरेबारे मन्त्रालयले कडाइका साथ अनुगमन गर्छ,’ उनले भने  ।
पर्यटनबाट कृषि विकास मन्त्रालयमा सरुवा भएका सचिव डा. गणेशराज जोशीले कृषि र पर्यटन एकअर्कामा सम्बन्धित भएकाले दुवैलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । आफ्नो १४ महिने कार्यकालमा भिजन ०२० को सुरुवात, बिबिसी र सिएनएनमा नेपालको प्रचार, पर्यटन दशकको घोषणा, नेवानीका लागि जहाज खरिद निर्णयलगायतका काम भएको उनले बताए । आफ्नो ज्ञान भएको मन्त्रालयमा सरुवा हुनपाएकामा उनले खुसी व्यक्त गरे । तत्कालीन कृषि मन्त्रालयबाट जागिर सुरु गरेका जोशीले यसै विषयमा विद्यावारिधी गरेका हुन् । पर्यटनका सचिव गौतम पनि सम्बन्धित विषयका विज्ञ हुन् । आठ वर्ष पर्यटन मन्त्रालयमा सहसचिव भएका गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकसमेत भइसकेका छन् ।

प्रतिक्रिया