फरिद जकारिया ‘टाइम’बाट निलम्बित

न्युयोर्क : भारतीय मूलका चर्चित अमेरिकी पत्रकार एवं लेखक फरिद जकारियालाई प्रतिष्ठित पत्रिका ‘टाइम’ र प्रसारण संस्था सिएनएन दुवैबाट निलम्बन गरिएको छ । जकारियाले ‘साहित्यिक चोरी गरेको’ र ‘नैतिक आचरण राम्ररी निर्वाह गर्न नसकेको’ स्वीकार गरेपछि उनी कारबाहीमा परेका हुन् । निलम्बनको यो कारबाही हाललाई एक महिनाका लागि भए पनि यसको अवधि थपिने धेरै सम्भावना छ । रूपर्ट मर्डोकको स्वामित्व रहेको फक्स न्युजद्वारा ‘फोन हयाकिङ’ गरेको प्रकरण सार्वजनिक भएपछि अमेरिकी पत्रकारिता जगत्मा जकारिया–सन्दर्भ दोस्रो सबैभन्दा ठूलो विवाद हो ।
जकारिया वैदेशिक मामिलासम्बन्धी विशेषज्ञ पत्रकार हुन् र पछिल्लो लामो समयदेखि उनी टाइम र सिएनएनका लागि कार्यरत छन् । टाइममा स्तम्भ लेख्नुका अतिरिक्त उनी सिएनएन टिभी च्यानलमा ‘जिपिएस’ नामक एक लोकप्रिय टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेका छन् । टाइम पत्रिकामा, अमेरिकी राज्यहरू कोलोराडो र विस्कन्सिनमा भएका गोलीकान्डका सन्दर्भमा हतियार (बन्दुक) नियन्त्रणसम्बन्धमा, लेखेको एक लेखमा जकारियाले न्युयोर्कबाट प्रकाशित हने ‘द न्यु योर्कर’ पत्रिकामा गत अप्रिलमै प्रकाशित सामग्री चोरेको स्वीकार गरेका थिए । जकारियाले क्षमायाचना गर्दै आफूबाट भयानक भूल भएको उल्लेख गरेका छन् । उनले हार्भर्ड विश्वविद्यालयमा अध्यापन गर्ने अमेरिकी इतिहासका प्राध्यापक जिल लेपोरद्वारा लिखित लेखबाट एउटा सिंगै परिच्छेद जस्ताको तस्तै केही उल्लेख नगरी आफ्नो लेखमा राख्नु ठूलो नैतिक गल्ती भएको पनि जकारियाले स्वीकार गरेका छन् ।
अमेरिकाका दुई लब्धप्रतिष्ठित येल र हार्भर्ड विश्वविद्यालयबाट स्नातक गरेका जकारियाले हतियार नियन्त्रणसम्बन्धमा एउटा स्तम्भ लेख लेखेका थिए, जुन लेख टाइमको २० अगस्तको अंकमा छापिएको थियो । उक्त लेखको एक हिस्सा सिएनएनको वेबसाइटमा ब्लगका रूपमा छापिएको थियो । ब्लगमा उक्त लेख राखिएलगत्तै ‘मिडिया वाचडग’ र ‘नेसनल रिभ्यु अनलाइन’ जस्ता अन्य अनेक ब्लगहरूले जकारियाको उक्त लेख ‘द न्यु योर्कर’ मा अप्रिलमै प्रकाशित लेखको नक्कल भएको खुलासा गरेका थिए । यससम्बन्धमा टाइम पत्रिकासित पनि औपचारिक तबरबाटै स्पष्टीकरण मागिएको थियो, त्यतिबेला जकारियाले उक्त कार्य आफ्नो गल्ती भएको स्वीकार गर्दै तत्कालै क्षमा मागेका थिए । टाइम व्यवस्थापनले जकारियाको उक्त स्तम्भ एक महिनाका लागि रोकिएको र यससम्बन्धमा व्यापक समीक्षा भइरहेको जनाएको छ । टाइमका प्रवक्ता अलि जेलेन्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रिकाले जकारियाद्वारा प्रस्तुत गरिएको क्षमायाचनापत्र स्वीकार गरेको छ तर उनले जे गरेका छन् त्यो पत्रकारितासम्बन्धमा रहेका हाम्रा सिद्धान्तको ठाडो उल्लंघन हो । हाम्रो मान्यता के हो भने लेखहरू केवल तथ्यपूर्ण हुनुपर्छ भन्ने मात्र होइन, बरु मौलिक पनि हुनै पर्छ ।’
अमेरिकी पत्रकारितामा यसअघि पनि साहित्यिक चोरीका घटना धेरैपटक सार्वजनिक भएका छन् । कहाँसम्म भने ‘न्यु योर्कर’ का लब्धप्रतिष्ठित विज्ञान पत्रकार जोनाह लेहरर आपैँmले लेखेका पुराना लेखकै कतिपय हिस्सा चोरेर नयाँ लेखहरू तयार पार्ने गरेको प्रकरण निकै विवादित र चर्चित बनेको थियो । फरिद जकारिया भारतमा इस्लामी मामिलाका बहुचर्चित चिन्तक रफिक जकारियाका छोरा हुन् । सानै उमेरमा फरिद अध्ययनका लागि हार्भर्ड विश्वविद्यालय पुगेका थिए । केवल २६ वर्षको उमेरमै उनी वैदेशिक मामिलासम्बन्धी विश्वप्रतिष्ठित पत्रिका ‘फरेन अफेयर्स’ का सम्पादक बन्न पुगेका थिए ।वैदेशिक मामिला र राजनीतिसित निकटता राखेका जकारियाका लेख र उनका पुस्तक आममानिस र नीतिनिर्माताबीच मात्र होइन, स्वयं अमेरिकी राष्ट्रपति बाराक ओबामाजस्ता नेताहरूबीच पनि अत्यन्त लोकप्रिय छन् । (एजेन्सी)

प्रतिक्रिया