प्रधानमन्त्री नआएपछि उपराष्ट्रपतिलाई कालोझन्डा

काठमाडौं, २९ साउन । सरकारी कार्यक्रम बहिष्कार गर्ने सिलसिलामा विपक्षी गठबन्धनमा आबद्ध दलका युवा–विद्यार्थी संगठनका कार्यकर्ताले उपराष्ट्रपति परमानन्द झालाई कालोझन्डा देखाएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित सरकारी कार्यक्रममा विपक्षी दलका युवा तथा विद्यार्थीले प्रमुख अतिथि रहेका उपराष्ट्रपति झालाई कालोझन्डा देखाएका हुन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई कार्यक्रममा प्रमुख अतिथि रहने सूचनाका आधारमा उनीहरूले कालोझन्डा देखाउने कार्यक्रम तय गरेका थिए । तर, अचानक उपराष्ट्रपति झा कार्यक्रमको प्रमुख अतिथि बनेर त्यहाँ पुगेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री नआएपछि उपराष्ट्रपति झालाई नै कालोझन्डा देखाए । प्रधानमन्त्री र मन्त्रीहरू कार्यक्रममा सहभागी नभएको एमाले भ्रातृसंगठन युवा संघ नेपालका महासचिव नीरज आचार्यले बताए । प्रधानमन्त्री डा. भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत भने आºनो पार्टी एमाओवादीको तमुवान राज्यसमितिको आयोजनामा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा गएका थिए ।
उपराष्ट्रपतिलाई कालोझन्डा देखाउने कार्यक्रम नभए पनि सरकारी कार्यक्रम बहिष्कार गर्ने क्रममा कालोझन्डा प्रदर्शन गरिएको संघका महासचिव आचार्यले जानकारी दिए । ‘उपराष्ट्रपतिलाई कालोझन्डा देखाउने कार्यक्रम थिएन,’ आचार्यले सौर्यसँग भने, ‘सरकारका कार्यक्रम बहिष्कार गर्ने क्रममा कालोझन्डा प्रदर्शन गरिएको हो ।’
मूलधारका युवा संगठनलाई बेवास्ता गरी एनजिओ र आइएनजिओसँग साझेदारीमा गरिएको कार्यक्रम युवाहरूको कार्यक्रम नभएको उनीहरूको भनाइ छ । ‘एनजिओ र आइएनजिओसँग मिलेर गरेको कार्यक्रमले युवाका सरोकारको सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘मूलधारका युवा विद्यार्थी संगठनलाई बेवास्ता गरी गरिएको कार्यक्रमको औचित्य छैन ।’
सरकारविरुद्ध आन्दोलनमा रहेका विपक्षी दलसम्बद्ध युवा विद्यार्थी संगठनले आन्दोलनको दोस्रो चरणका कार्यक्रमअन्तर्गत आइतबार युवा दिवसको कार्यक्रम बहिष्कार गर्ने र प्रधानमन्त्रीलाई कालोझन्डा देखाउने कार्यक्रम राखेका थिए । सोमबार राजधानीमा मुखुन्डो जुलुस प्रदर्शन गर्ने र सबै जिल्लामा संयुक्त आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम रहेको आचार्यको भनाइ छ ।

प्रतिक्रिया