नेविसंघको नयाँ महाधिवेशन तय

काठमाडौं : कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको विगत लामो समयदेखिको विवाद मिलेपछि महाधिवेशनको मिति परिवर्तन भएको छ ।
संघका संस्थापन र असन्तुष्ट समूहले छुट्टाछुट्टै तय गरेको महाधिवेशन रद्द गरी आगामी माघको पहिलो साताका लागि महाधिवेशनको नयाँ मिति तय गरेको हो । यसअघि असन्तुष्ट समूहले संस्थापन पक्षले आफूहरुको बेवास्ता गरी महाधिवेशनको मिति तय गरेको भन्दै छुट्टै महाधिवेशनको मिति घोषणा गरेको थियो । पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी संघले ५ माघदेखि तीन दिनसम्म महाधिवेशन गर्ने नयाँ मिति सार्वजनिक गरेको हो ।
पार्टीको विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले अब संघ एक भएर महाधिवेशनमा जाने दाबी गरे । विवाद सहमतिमा टुंगिएको र अब एकढिक्का भई दुवै पक्षले माघको पहिलो साता हुने महाधिवेशनमा सहभागी जनाउने निर्णय भएको संघका अध्यक्ष रञ्जित कर्णले बताए ।
संघको विवाद समाधान गर्न बनेको समितिका सदस्यहरु पार्टी महामन्त्री कृष्णप्रसाद सिटौला, विभाग प्रमुख जोशी, बद्री पाण्डेलगायत पत्रकार सम्मेलनमा उपस्थित थिए ।
निना अग्रवाल/प्रशिक्षाथी

प्रतिक्रिया