कांग्रेस नेतृत्वमा सरकार बन्दैन

काठमाडौं, २८ साउन । एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले पाँच बुँदे सहमति अनुसार संविधानका विवादित विषयमा सहमति जुटाएर थोरै समयका लागि संविधानसभा ब्यूताउन सहमति जनाए कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले संविधानसभा व्यूताउन सहमति नजनाए चुनावी सरकारको नेतृत्व कांग्रेसलाई कुनैपनि हालतमा दिन नसकिने बताए ।
उनले सरकारको नेतृत्व पाउनका लागि कांग्रेसले संविधानसभा पुनःस्थापनामा एमाओवादीलाई सहयोग गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले संविधानसभा पुनःस्थापना गरिए मुलुक झन् ठूलो जटिलतामा फस्ने चेतावनी दिईन । उनले भनिन्, ‘ताजा जनादेशका लागि जानुनै उपयुक्त विकल्प हुन्छ ।’
भावी प्रधानमन्त्रीका रुपमा उपसभापति रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्ने उनले बताईन ।
उनले विहीबार बस्ने केन्द्रीय कार्य समितिले प्रधानमन्त्रीको उम्मेदवारमा पौडेललाई निर्णय गर्ने दाबी गरिन् । उनले वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको अभिभावक भएकाले प्रधानमन्त्री बन्न लोभ गर्न नहुने बताईन् ।
एमाले सचिव यूवराज ज्ञावलीले एमाओवादीले सत्ता कब्जा गर्ने योजना स्वरुप संविधानसभा समयअघिनै विघठन गराएको आरोप लगाए ।
उनले संविधानसभाको पुनःस्थापना गरेर मुलुकलाई अगाडि बढाउन नसक्ने स्पष्ट पारे । चार बर्ष सम्म कुनै काम गर्न नसक्ने संविधानसभा मुलुकलाई आवश्यक नरहेको उनको भनाई छ ।

प्रतिक्रिया