आइएसपी कम्पनी संकटमा

काठमाडौं, २८ साउन । दूरसञ्चार सेवाप्रदायक कम्पनी इन्टरनेट सेवामा पनि केन्द्रित भएपछि इन्टरनेट सेवाप्रदायक

(आइएसपी) कम्पनीहरू मारमा परेका छन् । मूलत: भ्वाइस सेवा प्रदान गर्ने नेपाल टेलिकम, एनसेल तथा युटिएलले इन्टरनेट सेवामा पनि जोड दिनथालेपछि इन्टरनेट सेवा दिनकै लागि खोलिएका आइएसपी संकटमा परेका हुन् । आइएसपी कम्पनीले लामो समयदेखि विभिन्न समस्या व्यहोर्दै आएको व्यवसायीहरू बताउँछन् । सरकारले बेवास्ता गरिरहे इन्टरनेट सेवाप्रदायक कम्पनी बन्द हुने अवस्थामा पुग्ने उनीहरूको दाबी छ । अन्योल भविष्यका कारण यो क्षेत्रमा नयाँ लगानीसमेत आउन छाडेको बताइएको छ ।
आइएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोराका अनुसार लोडसेडिङ, दक्ष जनशक्तिको अभाव तथा बन्दहडताल लगायतका राजनीतिक गतिविधि आइएसपी कम्पनीले भोगिरहेका समस्या हुन् । भित्रिएको नयाँ प्रविधि आइएसपी कम्पनीलाई नदिएर साथै स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनाएर सरकारले समेत आइएसपीलाई बेवास्ता गरेको अध्यक्ष विनयको भनाइ छ । ‘सरकारले ऐनको व्यवस्था गरेर सबैलाई समान व्यवहार हुन्छ भने पनि व्यवहारमा त्यो लागू हुनसकेको छैन ।’ बोहोराले भने । यसले गर्दा आइएसपी कम्पनी सानो दायरमा खुम्चिन बाध्य भएको उनको भनाइ छ ।
ग्राहकको संख्या र आम्दानी सन्तोषजनक भए पनि आइएसपीको भविष्य अन्योलपूर्ण रहेको सञ्चालकहरू बताउँछन् । दूरसञ्चार सेवाप्रदायकको थ्रिजी र एडिएसएल सेवाले व्यक्तिगत इन्टरनेट प्रयोगकर्तालाई तानेको उनीहरूको भनाइ छ । अहिले आइएसपी कम्पनीहरू कर्पोरेट हाउस, होटल, स्कुल तथा अस्पताललगायतका ठूला संघ/संस्थातिर केन्द्रित छन् । आइएसपीहरूले लामो समयदेखि छुट्टै फ्रिक्वेन्सीसमेत माग गरिरहेकामा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका फ्रिक्वेन्सी वितरण तथा नीति निर्धारण समितिले दूरसञ्चार कम्पनीसरह आइएसपीलाई पनि वाइम्याक्स फ्रिक्वेन्सी दिने निर्णय गरेको थियो । तर, निर्णय भएको लामो समय भइसक्दा कार्यान्वयन भएको छैन ।
आइएसपी कम्पनी भायोनेटका सञ्चालक बोहोरा इन्टरनेट सेवाप्रदायकका बीच पूर्वाधार साझेदारी हुनुपर्ने बताउँछन् । यस विषयमा नियामक दूरसञ्चार प्राधिकरणको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ छ । दूरसञ्चार कम्पनीसँग पूर्वाधार साझेदारी गर्ने हो भने आइएसपीहरू गाउँगाउँसम्म पुग्न सक्ने दाबी उनी गर्छन् । पूर्वाधार साझेदारी हुन नसक्दा अहिले सबैले आआफ्नो तार तानेर सहर नै कुरूप बनाएका छन् । त्यस्तै पूर्वाधार साझेदारी नहुँदा ब्याट्री, तार, पावर सबैमा लगानी दोहोरो परिरहेको छ । आइस्पानले अप्टिकल फाइबर साझेदारी गर्नका लागि प्रयास गरिरहेको भए पनि त्यो सफल हुन सकेको छैन ।
दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार आइएसपी कम्पनीका ग्रहक संख्या बढ्नुका सट्टा घटिरहेको छ । कुल इन्टरनेट प्रयोगकर्तामध्ये अहिले सबैभन्दा बढी एनसेलका ५७ प्रतिशत छन् भने टेलिकमका ४० प्रतिशत छन् । आइएसपी कम्पनीका ग्राहक १ प्रतिशत मात्र छन् । फ्रिक्वेन्सी नभएकाले वायरलेस प्रविधिबाट इन्टरनेट सेवाप्रदायक कम्पनीले नयाँ सेवा सुरु गर्न पाइरहेका छैनन् । सरकारले लिलाम बढाबढका माध्यमबाट निजी आइएसपीलाई पनि वाइम्याक्स फ्रिक्वेन्सी दिने निर्णय गरिसकेको छ । आइएसपीले पनि वाइम्याक्स पाएपछि प्रतिस्पर्धात्मक वातावरण हुने र इन्टरनेटको शुल्क पनि ३० देखि ५० प्रतिशतसम्म घट्ने दाबी व्यवसायीको छ ।

प्रतिक्रिया