दोस्रो चरणका आन्दोलन घोषणा

काठमाडौं, २७ साउन । कामचालउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको सहज बहिर्गमन माग गरेर विपक्षी दल आवद्ध २१ यूवा/विद्यार्थी संगठनले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले भट्टराईले आफै पद नछाडे पदमुक्त गराउने चेतावनी दिएका हुन् । यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले राष्ट्रघाती सरकार अधिनायकवाद तीर उन्मुख भएको भन्दै प्रधानमन्त्रीले पद त्याग नगरे बालुवाटबाट निकालेर कब्जा गर्ने चेतावनी दिए ।
नेपाल तरुण दलका अध्यक्ष उदयशम्सेर राणाले एमाओवादी सत्ता कब्जा गर्ने रणनीतिमा अगाडि बढीरहेको दावी गर्दै आफूहरुले एमाओवादीको चाल कुनै पनि हालतमा पुरा हुन नदिने स्पष्ट पारे ।
नेविसंघका अध्यक्ष रन्जीत कर्ण प्रधानमन्त्री बाबुराम भट्टराईले आफै पदत्याग गरेर सहमतिको सरकारका लागि वातावरण बनाउनु पर्ने उल्लेख गरे ।
आन्दोलनका कार्यक्रम अनुसार साउन–२८ गते आइतवार विहान सरकारले मनाउन लागेको यूवा दिवस असफल बनाउन अवरोध गर्ने, विदेशी नाम, विदेशी शैक्षिक संस्थाको आबद्धता भएका र सिटिभिटी अन्तर्गतका सबै शिक्षण सस्था बन्द गर्ने, साउन–२९ गते ७५ जिल्लामा प्रधानमन्त्रीको मुखुण्डो सहित ब्यङग्य जुसससहित आन्दोलन गर्ने, साउन–३० गते राजधानीमा यूवा स्वरोजकार कोष घेराउ गर्ने रहेका छन् ।
साउन–३० गते ७५ जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, भदौ–३ गते राष्ट्रपतिलाई मतदानको परिणाम बुझाउने र सोही दिनबाट प्रधानमन्त्री निवास घेराउ गर्ने कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया