जाजरकोटमा पहिरो/यातायात अवरुद्ध

जजरकोट, २७ साउन । दुई साताअघिदेखि परेको वर्षाका कारण जाजरकोटको यातायात सेवा अवरुद्ध भएको छ ।
वर्षाले छिन्चु–जाजरकोट सडकखण्डअन्र्तगत पर्ने जाजरकोट खलंगादेखि भुर–७, फेराबजारसम्म सडकका विभिन्न भागमा पहिरो गएका छन् । सडकमा परेका ठूला खाल्डाका कारण यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।
खलंगादेखि फेरासम्मको करिब २५ किलोमिटर बाटो अवरुद्ध भएपछि अहिले सुर्खेतको राकमबाट फेराबजारसम्म मात्र सवारी साधन सञ्चालनमा रहेको भेरी गंगा यातायात व्यवसायी समितिका काउन्टर ईन्चार्ज मनोजजंग शाहले बताए । फेरासम्म पनि ठाउँठाउँमा गाडीलाई ठेल्दै पुराउनुपर्ने बाध्यता रहेको शाहले बताए ।
सुर्खेत, नेपालगञ्जबाट सिधा यातायात चल्ने जाजरकोटमा गत असारदेखि सुर्खेतको राकमबाट मात्र यातायात सञ्चालनमा छ । नदीमा पानीको सतह बढेपछि सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोड्ने भेरी नदीमा रहेको फेरी बन्द भएपछि सवारी साधन राकमसम्म मात्र पुग्ने गरेका छन् ।
बाटो अवरुद्ध भएसँगै सदरमुकाममा ट्याक्टर समेत चलेका छैनन् । ट्याक्टरका कारण सदरमुकाममा दैनिक उपभोग्य सामानहरुको समेत अभाव हुन थालेको छ ।
‘ट्याक्टर नचले पछि बजारमा सामानको अभाव देखिन थालिसक्यो,’ उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले भने, ‘बाटो मर्मतका लागि सम्बन्धित निकायमा पहल भैरहेको छ ।’
व्यापारीहरुले बजारमा कृतिम अभाव सिर्जना गर्न थालेको उपभोक्ताले अरोप लगाएका छन् ।
बाटो बन्द हुँदा जिल्ला अस्पताल जजारकोटले रिफर गरेका बिरामीहरुलाई अन्यत्र लगेर उपचार गराउन पनि समस्या भएको छ । सदरमुकामबाट पैदल फेरा बजार पुग्न पाँच घण्टा लाग्ने गर्छ ।
अत्याधिक वर्षाले बुधवार खलंगा–१, शान्तिचौतारीस्थित राजु शाहीको घुम्ति पहिरोले बगाएको थियो ।
वर्षाले विद्युत बन्द
जाजरकोट सदरमुकाम लगायत आसपासका स्थानमा विद्युत सेवा पुराउँदै आएको साङ्ट–रिसाङ लघु जलविद्युत आयोजनाको विद्युतसेवा पुनः अवरुद्ध भएको छ ।
बुधवार रातिको वर्षापछि आएको पहिरोले आयोजनाको नहर भत्काउँदा विद्युत सेवा अवरुद्ध भएको हो ।
साउन महिनामा मात्र तीन पटक नहर भत्की सकेको छ । विद्युत सुचारु हुन नसक्दा जिल्लामा संचालित २ वटा सामुदायिक रेडियोका प्रशारण सेवा समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया