‘अन्त्यपछि’ अनन्त यात्रा


०२२ साल वैशाख महिनाको त्यो साँझ काठमाडौंबाट लखतरान थकानमा धनगढी पुगिएको थियो । उद्देश्य थियो– देशव्यापी भाषिक समीक्षा यात्रा । यात्राका लागि बोकेर लगेको गुन्टा फुकाउन भ्याएका पनि थिएनौँ । एउटा कोठा हाम्रो टोलीका लागि त्यहाँका मित्रहरूले व्यवस्था गरिराख्नुभएको रहेछ । सुदूर पश्चिम नेपालको धनगढीमा बिजुली बत्तीको सुविधा पुगेको थिएन । मैनबत्तीले मलिनो उज्यालो छरिरहेको कोठामा पुगेर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीको टोली सुस्ताउँदै थियौँ । झ्यालबाट सरर आएको हावाको चाप मैनबत्तीले थेग्न सकेन । झ्याप्प मैनबत्ती निभ्यो । हाम्रो सुविधाका लागि त्यहाँका साथीहरूले सिसाले हावाको झोक्का रोक्नसक्ने लालटिन ल्याइदिनुभयो । त्यही अपरिचित वस्तुस्थितिले मेरो मनमा उपन्यासको बिम्ब जन्मायो ।
हावासँग पैठेजोरी खेल्न नसकेर विस्थापित मैनबत्तीको आडैमा थियो लालटिन । त्यही अवस्थालाई टपक्क टिपेर मैले मनमनै शब्दमा बुनेँ, झोलाबाट कापी कलम झिकेँ अनि पहिलो लाइन लेखेँ ‘बलिरहेको लालटिन छेउमा, झ्याप्प निभेको मैनबत्ती ।’ यो सुरुआतले ०२४ सालको वैशाखमा मेरो पहिलो उपन्यास ‘अन्त्यपछि’ को आकार पायो ।
त्यो पनि रूपरेखा साप्ताहिक पत्रिकाले उपन्यास लेख्न अनुरोध गरेपछि । रूपरेखाका सम्पादकले वैशाख १ गतेका लागि एउटा उपन्यास लेख्छौ ? भनेर सोधे । मेरो चाहनालाई मलजल मिलेपछि स्विकारेँ । अनि, अन्त्यपछि उपन्यास पूरा गरेँ । जसमा जम्मा ६८ पृष्ठ मात्रै थियो । ०२४ साल वैशाख १ गते पूरै उपन्यास रूपरेखा साप्ताहिकमा छापिए पनि मैले किताबका रूपमा भने पछि मात्रै निकाल्न सकेँ ।
अन्त्यपछि उपन्यासमा सहरको दिक्कलाग्दो परिस्थितिको कथावस्तु जोडेँ । गाउँबाट आकर्षित गर्ने तत्त्वले भरिएको सहरदेखि दिक्क भएर एक समूह नै यात्राको तय गर्छन् । सहरको सुखभोगबाट विरक्तिएका उनीहरूको यात्रा भने निश्चित हुँदैन । न त उपन्यासका पात्रले भविष्यको केही परिकल्पना नै बोकेर यात्राको तय गरेका हुन्छन् । २२ वटा एकल उपन्यास लेखनको यात्रा त्यही अन्त्यपछि उपन्यासको अनिश्चित यात्राले मलाई पनि डोर्‍याएको छ । यद्यपि, अन्त्यपछिको कथावस्तु अमूर्त थियो । प्रयोगशील भएर पनि त्यसले मेरो उपन्यास लेखनको अभिलाषा मात्रै अगाडि बढाएको थियो ।
पारिजातको शिरीषको फूल निकै चर्चामा थियो । म भने भर्खर उपन्यास लेख्न सिक्दै । मेरो उपन्यासलाई बुझ्नै नसकिने भन्ने धेरै साहित्यकारको टिप्पणी थियो । अरू साहित्यकारको टिप्पणी सुन्दा आफू लेख्नै जान्दिनँजस्तो महसुस पनि भयो । तर, शंकर लामिछानेको एउटा लाइनको प्रतिक्रिया मेरा लागि उत्प्रेरण बन्यो । उहाँले मेरो अन्त्यपछि उपन्यास पढेपछि शिरीषको फूलसँग तुलना गरेर भन्नुभएको थियो– ‘शिरीषको फूल मोतीको माला हो, तिम्रो अन्त्यपछि छरिएको मोती ।’ यो प्रतिक्रियाले मलाई उत्प्रेरणा जगायो । मेरो लेखन पनि मोती त रै’छ नि भन्ने लाग्यो । त्यस्तै, वीरगन्जका साहित्यकार कृष्णसिंह प्रधानले लेखेरै ‘नेपाली साहित्यमा नवीनता प्रयोग भएको उपन्यास’ भनेर दिनुभएको प्रतिक्रियालाई पनि मैले उत्प्रेरणाको अर्को पाइलाका रूपमा लिएँ । २४ वर्षको उमेरमा थालिएको उपन्यास लेखनयात्रा उही कापी अनि कलमको साथले आज ६९ वर्षमा पनि निरन्तर अघि बढिरहेको छ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया