साझा बसको अन्तिम सिटमा बसेको छु । बसभित्र अत्यन्त कम यात्री छन् । बीचभागमा र अघिल्तिर पनि सिटहरू खाली छन् । तर, म अन्तिम सिटमा बसेको छु । विश्वविद्यालय, कीर्तिपुरको परिसरमा छु र सधैँझैँ सोचाइमा हराउँदै हराउँदै पुग्नु छ महाराजगन्ज पिपलबोट । यात्रामा कवि राजा पुनियानीको एउटा कविताको चरम स्मरण भइरहेको छ ।
पिजोको अन्तिम सिट पाएँ ।
म यहीँ बसेको छु ।
अघिल्ला सिटकाहरू अघिल्ला दृश्यहरू देख्छन्
जो देख्तछु म पनि ।
त्यही अघिल्ला दृश्य देख्तछु म
जो उनीहरूका लागि पछिल्ला भइसकेका हुन्छन् ।
धेरै समयपछि आज एउटा कविताले हल्लाइदिएको छ मेरो मन । तुलना गर्दा, म राजा पुनियानीको यो कविताबाट हृदयमा भन्दा बढी मस्तिष्कमा हल्लिएको छु । पहिला–पहिलाजस्तो कविताले तुरुन्तै छुँदैनन् अचेल । एक समय थियो, जुनबेला आजभोलि असाध्यै कमजोर लाग्ने कविताको पनि मात चढ्थ्यो तर अचेल कम मातहरूमा मात्रै कविता चढ्छ । राजाको कविताले मलाई काव्यिक उन्मादको एउटा प्रिय चरममा पुर्याएर छोडिदियो । मैले सोचेँ, राजाहरूले कविता लेखेसम्म नेपाली कविता विषयगत रूपमा कमजोर हुनेछैन ।
दार्जलिङका कवि राजा पुनियानी, जसलाई मैले पहिलोपटक पढेको हुँ, प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘कविता’ त्रैमासिकमा । निरन्तर खोजिरहेछु पत्रपत्रिकाहरूमा तर उनलाई मैले त्यसपछि कतै पढ्न पाएको छैन । कविता त्रैमासिकमा जीवनसम्बन्धी बहत्तरौँ कविता छाप्ने राजा जीवन विषयक शृंखलाबद्ध कविताहरू लेख्दै रहेछन् भन्ने अनुमान लगाउन सकिन्थ्यो । धेरै कविहरूले सदियौँदेखि लेखिरहेको तर लेखिएर कहिल्यै नसकिने कविताको विषयले मलाई अझ बढी तान्यो ।
राजा पुनियानी पिजोको अन्तिम सिटमा थिए । म साझा बसको अन्तिम सिटमा छु । यात्राका माध्यमहरू फरक–फरक छन् । उनले सायद अन्तिम सिट मात्र पाएकाले अन्तिम सिटमा छन् । मैले अघिल्ला सिटहरू पाएर पनि स्वेच्छाले अन्तिम सिटमा छु । नियति र समयहरू फरक–फरक छन् । हाम्रा यात्राका लम्बाइहरू वा तन्काइहरू पनि फरक–फरक छन् । तर, एकदमै समान अनुभूतिहरू छन् हामीहरूसँग । उनी निकै लामो यात्रामा छन् । जीवनभरकै यात्रामा यात्रारत छन् उनी । तर, मेरो यात्रा उनको सापेक्षमा निकै छोटो छ । साझा बसबाट म सुन्धारासम्म पुग्छु या वीर हस्पिटलसम्म पुग्छु, त्यो म स्वयंलाई थाहा छैन । कहाँ ओर्लिन मन लाग्छ मलाई, थाहा छैन । उनको पिजोयात्रा समस्त जीवनको प्रतिनिधित्व गर्ने एउटा मीठो विम्ब हो । तर, मेरो साझा यात्रा तत्क्षणिक एक यथार्थ मात्र हो । मेरो यात्रा सम्पूर्ण जीवनको विम्ब बनिसकेको छैन । यद्यपि, मेरो अलिखित जीवन अनुभूति उनको लिखित जीवन अनुभूतिसँग नदीहरू समुद्रमा मिसिएझैँ आपसमा मिसिएका छन् । उनको जीवनानुभूति समुद्र, मेरो जीवनानुभूति नदी । यसले के फरक पार्छ र ?
साझा बसको अन्तिम सिटमा बसेको छु ।
केही यात्रीहरू बसको अघिल्ला सिटहरूमा र केही बसको मध्यभागबाट यात्रा गरिरहेका छन् । तर, मेरो सापेक्षमा अन्य सबै यात्रीहरू अघिल्ला सिटहरूमा छन् । उकालीको सिरानी हालेर सुतिरहेको सडकमा बस गुडिरहेको छ । सडकमा स्पिड ब्रेकरहरू छन्, कतैकतै सडक धस्सिएको छ । जब–जब स्पिड ब्रेकरहरू आउँछन् या जब–जब सडकमा धस्सिएका भागहरू आउँछन्, साझा बस अल्पकालका लागि उफ्रिन्छ । यात्रीहरू सबै उफ्रिन्छन् । तर, म सबभन्दा बढी उफ्रिनुपर्छ, कारण म अन्तिम सिटमा छु । अन्तिम सिटमा बसेर यात्रा गर्नुका कठिनाइहरू मलाई राम्ररी थाहा छ । अघिल्ला सिटमा बसेर यात्रा गर्नुका आनन्दहरू पनि मलाई राम्ररी थाहा छ । तर, म छु, मेरो रोजाइमा, बसको अन्तिम सिटमा । मलाई यतिबेला साझा बसको अन्तिम सिट सबैभन्दा बढी प्यारो छ । त्यसले मेरो नाममा नोस्टालजियाको दुनियाँमा प्रवेश गर्ने एउटा ढोका खुलाइदिएको छ । त्यही नोस्टालजिया मलाई प्यारो लागिरहेको छ ।
म सम्झिरहेको छु पोखरालाई । पोखराको सिटी बसको यात्रालाई । गाउँबाट पोखरा झरेका प्रारम्भिक दिनहरूमा बगर हुँदै लेकसाइड जाँदा या लेकसाइड हुँदै बगर फर्किंदा म सिटी बसका अघिल्ला सिटहरूमा मात्र बस्न रुचाउँथेँ । बसका अघिल्ला सिटहरू मात्र मेरा रुचिका विषयहरू थिए । अघि बसेर यात्रा गर्दा म आफूलाई अरू यात्रीहरू भन्दा सम्पूर्ण रूपमा अघि रहेको महसुस गर्थें । म युगअनुरूप हिँडिरहेको अहम्बोध पनि गर्थें । म सोच्थेँ, पछिल्ला सिटहरूमा बसेर यात्रा गर्दा यो युगमा जीवन र समयका अर्थ र संकेतहरू बुझ्न सकिन्न । सत्यको बोध गर्न सकिँदैन । सामान्यता पछि बस्नुको अर्थ मेरा लागि जीवनमा अघि बढ्न नचाहनु नै थियो । तर, जब मैले पोखरामा मेरा नयाँ साथीहरू भेट्टाएँ तबदेखि उनीहरूसँग सिटी बसको अन्तिम सिटमा बसेर यात्रा गर्न थालेँ । उनीहरू कुन्नि किन बसको अन्तिम सिट मन पराउँथे । उनीहरूको मनपराइ मलाई नयाँ लाग्थ्यो । नयाँ हुनुको अर्थमा त्यसले मलाई प्रशस्त विचारशील बनाउँथ्यो । डेरामा आएर उनीहरू बसको पछि बस्नुका कारणहरू केलाउँथे । सोच्दै जाँदा मलाई पनि अन्तिम सिट मन पर्न थाल्यो । अन्तिम सिट मलाई अब आफ्नोजस्तो लाग्न थाल्यो । आफ्नो जीवनजस्तो लाग्न थाल्यो । आफ्नो हैसियतजस्तो लाग्न थाल्यो । अन्तिम सिटको सम्बन्धमा पोखरामा मैले धेरै सोचेँ । त्यसपछि ममा एउटा नयाँ र विपरीत आदतको प्रादुर्भाव भयो । उनीहरूले मलाई सम्भवत: अन्जानमा (सायद बढी नजिक हुन र संवाद गर्न पाइन्छ भन्ने लोभमा) सिटी बसको अन्तिम सिटमा बसाल्थे । अन्तिम सिटमा त मैले मेरो जीवन–दर्शन नै भेट्टाएँ । अन्तिम सिटमा बसेर यात्रा गरिरहँदा म सोच्थेँ, मानौँ, म त्यही बुद्ध हुँ, जो बोध–गयाको पीपलको रूखमुनि तपस्यारत छ । मानौँ, मलाई अचानक नै बुद्धत्व प्राप्त भएको छ । म बसको अघिल्लो सिट सम्बन्धमा मौन बस्न थालेँ । (बुद्धले त मान्छेलाई मौन रहन धेरै उपदेश दिए । अरूलाई मौन राख्न आफूचाहिँ धेरै बोले । ओशोले बुद्धको बाटोबाटै मान्छेलाई मौन राख्न मानवीय इतिहासमै सबैभन्दा बढी आफू बोल्नुपरेको घोषणा गरे ।) मैले त मेरा नयाँ साथीहरूलाई पनि त्यसबारेमा केही भनिनँ ।
त्यो ज्ञान प्राप्ति मेरा लागि एउटा ठूलो प्राप्ति थियो तर उनीहरूका लागि त त्यो अत्यन्त साधारण विषयवस्तु मात्र थियो । म उनीहरूमार्फत अन्तिम सिटको प्रशंसक र पक्षपाती बनेँ जीवनमा । त्यसपछि संस्थाका कार्यक्रममा भाग लिँदा उपस्थिति र निर्णयहरूमा आफ्नो नाम अन्तिममा लेख्न थालेँ ।
म स्थिरता र अपरिवर्तनको पक्षमा छैन । साँच्चै नै परिवर्तन र रूपान्तरणको लोभमा मैले धेरैपटक यात्राहरूमा अघिल्ला सिटहरू छानेको छु । आफ्नो आदतलाई बदल्ने प्रयास गरेको छु । आफूलाई बदल्ने प्रयास गरेको छु । तर, कारणवश ती अघिल्ला सिटहरू मलाई त्यसपछि कहिल्यै पनि सारै आत्मीय आफन्त महसुस भएनन्, प्यारा लागेनन् ।
साझा बसको अन्तिम सिटमा बसेको छु ।
अन्य यात्री बसका अघिल्ला सिटमा बसेका छन् । कोही सोचमग्न देखिन्छन्, कोही उँघिरहेका छन् । थाहा छैन, उनीहरू केके सोचिरहेका
छन् ? थाहा छैन, अर्धनिद्रामा उनीहरू केके अर्ध सपनाहरू देखिरहेका छन् ? सडकछेउका मसला र कल्कीका रूखहरू उनीहरूका लागि पछि पर्दै गइरहेका छन् । सडकका निद्रालु भागहरू पछि सर्दै गइरहेका छन् । बाग्मतीको गन्हाउने पानी र माछा समात्ने दाउ ढुकिरहेका बकुल्लाहरू पछि पर्दै गइरहेका छन् । सडकमा जीवनझैँ नांगै हिँडिरहेका पागलहरू र भोकले सताइएका भिखारीहरू पछि सर्दै गइरहेका छन् । थाहा छैन, यात्रीहरूले त्यतातिर सोचिरहेका छन् कि
छैनन् ? तर, अरू सबै संसारलाई एकैछिन बिर्सिएर म चढेको बसलाई नयाँ संसार (र, प्रतियोगितास्थल पनि) मान्ने हो भने त्यो संसारमा राजा पुनियानीझैँ म पनि एक विजेता बनेको छु । यावत् दृश्य जब अघिल्ला सिटमा बसेकाहरू देख्न असमर्थ हुन्छन्, तब पनि म ती दृश्य देखिरहन सक्छु । तब पनि ती दृश्य मेरा लागि उपस्थित भइरहन्छन् । जब उनीहरू देख्ने सब योग्यता गुमाउँछन् तब पनि म ती दृश्य देख्ने योग्यता राख्छु । कुनै पूर्वाग्रह र दम्भविना म सोच्छु, वास्तवमा नै अघिल्ला सिटमा बस्नेहरू भन्दा म बढी जीवनबोधी छु, जीवनयोग्य छु र छु पृथक् पनि ।
राजा पुनियानीको त्यो कविता नपढेको भए जीवनको एउटा यथार्थ स्मरण गर्नबाट म आज सम्भवत: वञ्चित हुने थिएँ । मायालु आवाजले हृदयको तार छोएझैँ मनमस्तिष्कमा स्पर्श गरिरहेको छ त्यो कविताले मलाई । म बजिरहेको छु । म सम्झिरहेको छु, पोखरामा मैले भेटेको मेरो खास जीवनलाई । मेरो जीवन हैसियतलाई ।
साझा बसको अन्तिम सिटमा बसेको छु ।
एकतमास बसको पछिल्लो झ्यालबाट यात्रामा मैले पछाडि छोडेको भाग हेरिरहेको छु । सडकछेउमा उभिएका रूखहरूबाट सडकमा झरेका पातहरू म बसेको बसलाई पछ्याउँदै आइरहेका छन् । सायद म राजा पुनियानीझैँ तिनै अभिशप्त पातहरू हुँ र पछ्याइरहेको छु, जीवनका छायाहरूलाई ††
पछिल्लो सिटमा बसेर
गाडीलाई पछ्याउँदै आएका
बाटोका पतकरहरू देखेपछि
सम्झन्छु …, यो जीवन पनि
पछ्याउन लाउँदै आएको हुनुपर्छ
कसैलाई †
केहीलाई ††
– राजा पुनियानी
प्रतिक्रिया