सांग्रिला : एउटा परिकथाको देश

आजको काठमाडौं अति अव्यवस्थित जीवनको पर्याय । सन्तानोत्पादनसँगै सौन्दर्य गुमाउँदै गएकी आइमाईजस्तै । अझ यसको कृत्रिम विकासले मानव मस्तिष्कमा पैदा भएको कंकालचित्र । उपत्यकाबाट भञ्ज्याङ फर्केपछि चिसो हावा पाउँदा मानिस आनन्दको श्वास छोड्छ । काठमाडौंको पुरानो आकृति देख्नेहरू उमेरको उत्तराद्र्धमा पुगेर स्मरणशक्ति गुमाउन थालिसके वा धेरै मरिसके । तर, यही काठमाडौं हिजो थियो, एउटा स्वप्नभूमि अर्थात् सांग्रिला । आजको जति भौतिकसुख त थिएन हिजो तर काठमाडौं बैंसको उपल्लो सिँढीमा कुमारित्व नगुमाएकी अप्सराझैँ थियो । आज भौतिक सुख र विकासका पूर्वाधारहरू खडा छन् र काठमाडौं आफ्नै मुटु रत्नपार्कमा भेटिएका दैहिक ग्राहकसँग दैनन्दिनको सहवासपछि फुस्रिएकी ‘वेश्या’को स्वरूपमा बदलिएको छ ।
अंग्रेजी कवि रडयार्ड किपलिङले द वाइल्डेस्ट ड्रिम्स अफ क्यु आर द फ्याक्ट्स अफ काठमाडांै भनेर काठमाडांैको सौन्दर्यलाई लन्डनको क्यु वनोद्यानको उत्ताल स्वप्नसित दाँजेका थिए । कवि किपलिङ कहिल्यै नेपाल आएनन् । भारतवर्षमा किपलिङको सबै समय लाहोर, कोलकाता र सिमलाका गोरासाहेब अनि मेमसाहेबहरूको सरसंगतमै बित्यो । तैपनि उनले काठमाडौंलाई एक रोमाञ्चकारी काल्पनिक चित्रका रूपमा प्रस्तुत गरे । काठमाडौंलाई यसरी व्याख्या गर्ने किपलिङ पहिलो व्यक्ति होइनन् । उनीभन्दा अघि र पछि पनि थुपै्र विद्वान् काठमाडौंको काल्पनिक सौन्दर्यमा डुबेका छन्, हृदयमा विशेष चित्र सजाएका छन् । ठमेल डुलिहिँड्ने नेपालीलाई काठमाडौं नयाँ–नयाँ नलाग्ला, जसरी लन्डनको पिक्काडेली सर्कसमा वा सिमलाको मालमा टहल्ने अंग्रेजलाई पनि ती ठाउँ आकर्षक नलाग्लान् । तर, धेरै विदेशीका लागि काठमाडौं उपत्यका स्वप्नमयी आदर्शले भरिएको संसार थियो ।
समय फेरियो, आकांक्षा फेरिए, सँगसँगै काठमाडौं पनि फेरियो । काठमाडौंको बदलाव दृश्यमा मात्रै छैन, मनमा छ, मनोवृत्तिमा छ, प्रवृत्ति अनि सोचाइमा छ । यहाँबाट निस्केपछि देखिने उत्तरतिरको सेताम्मे हिमाच्छादित शृंखला अहिले भारीले जवानी लुछेर बिसौनीमा बसेको कमजोर भरियाझैँ कालो थुप्रो हुँदै छ । आँखामा शान्तिको स्निग्ध ज्योति झल्कने भिक्षु–भिक्षुणी आज कमै देखिन्छन्, पहेँलो वस्त्रमा चाहिँ देखिन्छन् । तर, वस्त्रभित्रबाट पनि हिंसाको गन्ध आउन थालेको छ । लिटिल बुद्धको भेषमा देखापरेका रामबहादुर बमजनले बुद्ध हुनुको भ्रम सिर्जना गरेका छन् । कहाँ हिजोका मानसिक शान्तिको तृप्ति दिने बुद्धका आँखा, कहाँ आज हतियारको सुरक्षाघेराभित्र बस्ने अनि चित्त नबुझ्ने भक्तलाई पिटेर लखेट्ने हिंस्रक रामबहादुर †
गगनचुम्बी सौन्दर्यको प्रभावमा जहिले पनि हिमालय पर्वतले पश्चिमाहरूको कल्पनालाई आफूतिर आकर्षित गरेको छ । किपलिङले कविता लेख्नुअघि नै सात समुद्रपारिका गोराहरूले पूर्वीय देशलाई रोमाञ्चकारी भूमिका रूपमा हेर्थे । विश्वव्यापी चिन्ता शान्त पार्ने मनोवैज्ञानिक सान्त्वना मानिसले हिमालबाट प्राप्त गर्थे भने यहाँका मनोरम बेसी र पर्वतमालाले नेपालको पौराणिक छवि प्रस्तुत गर्थे । असंख्य मानिस हिमालयलाई भावपूर्ण आँखा र प्रेमपूर्ण हृदयले हेर्छन्– यहाँ भूस्वर्ग (सांग्रिला) देख्छन् । (सांग्रिलाको अर्थ हुन्छ– हिउँले ढाकेका हिमालयका अग्ला चुचुरामा कतै पवित्र गुम्बाको दृश्य, गुन्जिरहेका प्रार्थनाका ध्वनि, गेरुवस्त्र पहिरेका भिक्षुद्वारा ध्यानमन्त्रको उच्चारण, अलौकिक भावको प्रगाढ आवरणले ढाकिएको उत्कृष्ट लोक) । यस्तो सांग्रिला, जहाँ कञ्चन केटाकेटीको स्वच्छ अनि निष्कपट मुस्कान फक्रन्छ, बज्यैहरू शतायु भई बाँच्छन् र एकपल्ट मरेपछि फेरि पनि यहीँ पुनर्जन्म भइरहने अगाध विश्वास छ । जहाँ मनोहर दृश्य मात्र छ, कुप्रवृत्ति पटक्कै छैन । तर, समयको अन्तरालमा नेपाली सांग्रिला आर्थिक वस्तु हुन पुगेको छ । सबैखाले पेसेवर टुर गाइड, चलचित्र निर्माता, फोटोग्राफर, उपन्यासकार तथा राजनीतिशास्त्रीले हिमालय भूमिबाटै आºनो दुनो सोझ्याइरहेछन् । मैल्याइरहेछन् कुमारी सौन्दर्यलाई ।

पहिले हिमालय पर्वतका शिखर पवित्र स्थलका रूपमा मानिन्थे । आजभोलि पर्वतारोहीका काँडेजुत्ताले हिमालहरू दर्फर्‍याइएका छन् । आरोहण टोलीले जथाभाबी फालेका डोरी, चुचे–कुट र झन्डाले यी चुचुरा अपवित्र हुँदै छन् । हिमालमा टेकिन्छन् आधुनिक खुट्टाहरू, तर त्यही हिमालमुनिका जनता संसारसँग सम्पर्कहीन बनेर दुरूह जीवन बिताइरहेछन् । उनीहरूकै शिर मैलिएको छ, तर उनीहरूले नै केही पाएका छैनन् । सांग्रिला उनीहरू आफैँका लागि चाहिँ आस्थावान् सौन्दर्य हो, व्यापार होइन । यी सांग्रिलाका सन्तानको भावनालाई बेवास्ता गरी हिमालयबारे थरीथरीका गाथा हाल्नुको के तुक ?
हिमाली क्षेत्रका रहस्यमय सांग्रिलाकै कारण जासुसहरूले सम्म गरिखान पाएका छन् । धेरै विदेशी खास गरी पश्चिमा विद्वान्हरू, अध्ययन गर्न र यो परिवेशलाई आत्मसात् गर्न आउँछन् भन्ने कुराचाहिँ सत्य हो । धेरैले हिमाली जनता र तिनीहरूले बेहोरेका चुनौतीप्रति खास चासो राख्छन् । वास्तवमा नेपालको सांग्रिला र परम्पराबारे केही पश्चिमा वैज्ञानिकलाई गहिरोसँग थाहा छ, यही क्षेत्रमा वर्षौं अनुसन्धानमा बिताएको भन्दै फुल्ने नेपाली नामधारी विद्वान्लाई भन्दा पनि बढी ।

हिमालयका धेरै आकर्षणमध्ये अधिकांश नेपालमै भएकाले सन् १९५० देखि १९७० को दशकसम्म नेपाल हिमालयको पर्यायवाचीका रूपमा चिनियो । सन् १९५५ मा सम्पन्न स्वर्गीय राजा महेन्द्रको राज्याभिषेकको समाचारको व्यापक प्रचारप्रसारबाट बाह्य संसारमा नेपालले ‘सांग्रिला’ को हैसियत प्राप्त गर्‍यो । शाक्यमुनि भगवान् बुद्धको जन्मस्थानका रूपमा नेपालको पहिचान र विश्वयुद्धमा गोर्खाली सैनिकले देखाएको अद्वितीय पुरुषार्थले पनि नेपाललाई ‘सांग्रिला’ छवि प्राप्त गर्न मद्दत पुग्यो । अमेरिकी फिल्म–निर्माता लेबल टमस तथा कवि हान सुयिन (द माउन्टेन इन यङकी लेखिका) र डोम मोरास (गन अवेका लेखक) जस्ता स्रष्टाका कृति, तिब्बती शरणार्थीहरूको ओइरो, आठ हजार मिटर अग्ला हिमशिखरको आरोहण गर्ने लालसा, शेर्पाहरूको पौरख, काठमाडौं उपत्यकाको आकर्षक रूप । यिनैले नेपालको ‘सांग्रिला’ छविलाई विश्वका सौन्दर्यप्यासीहरूबीच थप उजिल्याए ।
हिमालयको स्वप्नमयी स्वरूपलाई उज्यालोमा ल्याउने काम सुरुमा तीर्थयात्री र ईश्वरवादीबाट भयो, त्यसपछि भारतका अंग्रेज शासकले यसलाई निरन्तरता दिए । लस एन्जेलस टाइम्समा एक पत्रकारले लेखेका छन्– ‘विस्मयकारी भन्ने शब्दावली हिमालयका लागि मात्र प्रयुक्त हुन्छ ।’ आज हिमालय वा काठमाडौंप्रति आकर्षण बढाउने विभिन्न कारणमध्ये केही यी हुन्– तान्त्रिक बौद्धधर्म, मुस्ताङ, डोल्पो, गोर्खा, शेर्पा, खम्पा, पशुपतिनाथ, लुम्बिनी, सगरमाथाको आधारशिविर, कैलाश, माछापुच्छ्रे, मानसरोवर, रारा–फोक्सुन्डो तालहरू, हिममानव यती, प्रार्थना कुँदिएका ढुंगे भित्ता, तिब्बती बौद्धमार्गीले हातमा घुमाउने माने, रोङबुक, मह काढ्ने मान्छेहरू, काठमाडौंकी कुमारी, स्वयम्भू, मच्छिन्द्रनाथ, न्यातपोल मन्दिरमा खोपिएका रतिरागका चित्र… ।

पर्यटक–पुस्तिकाहरूमा हिमालयलाई ‘संसारको छानो’ भनी वर्णन गरिएको छ । आजभन्दा हजारौँ वर्षअघि नै ऋग्वेदका सूत्रमा वरुण, मेघ, उषा र सूर्यको स्तुति गरिएको पाइन्छ । हिमालयको स्तुति त झनै बढी गरिएको छ । वैदिक कालभन्दा पहिलेदेखि नै हिमालय पूजनीय मानिन्थ्यो । हिन्दू धर्मशास्त्रहरूले हिमालयलाई जहिल्यै मिथकीय रूप प्रदान गरे । पूजापाठ, कर्मकाण्ड, मिथक, आख्यान आदि कुरा हिमालयसँगै गाँसिएका छन् । हिमालयलाई भगवान् शिवको निवास पनि मानिन्छ । पुराण साहित्यले गढवाल उत्तराखण्डका लेक–बेँसीहरूलाई यस उपमहाद्वीपका पवित्रतम तीर्थस्थलको दर्जा दिएको छ । हिमालय–पूजनको यस्तो परम्पराले स्कन्ध पुराणमा नयाँ उचाइ हासिल गर्‍यो । भनिएको छ– ‘हिमाचलको स्मरण मात्र गर्ने व्यक्ति काशी गई पूजा गर्नेभन्दा ठूलो हो, अनि हिमाचलमा आफ्नो प्राण त्याग्ने र मर्ने बेला हिमाचलको स्मरण गर्ने सबै प्राणी सम्पूर्ण पापबाट मुक्त हुनेछन् ।’
आफ्नो पुस्तक ‘दी वे टु शाम्भला’ मा बर्नबम लेख्छन्– ‘धेरै पश्चिमा तिब्बतलाई अलौकिक तर अप्रकट पुष्पस्थलका रूपमा हेर्दछन् । तर, तिब्बती आफैँचाहिँ त्यो ठाउँ अन्यत्र कतै छ भन्ठान्छन् । उनीहरूका धर्मग्रन्थअनुसार, त्यो ठाउँ ‘शाम्भला’ हो । दुरुस्त हिमालयका पछिल्तिर एउटा रहस्यपूर्ण राज्य अवस्थित छ भन्ने परिकल्पनाले सबैमा एउटा अद्भुत आकर्षण पैदा गर्छ ।’ हिमालयको बखान गर्ने यो चलन पश्चिमाबाट होइन, भारतीय उपमहाद्वीपको सांस्कृतिक केन्द्र गंगाको समथर भूमिबाट थालिएको हो । हिमालय पर्वतका स्तुति गाउनेहरूमा गंगाको समतल भूमिमा बस्ने प्रागैतिहासिक कालका मानिस मात्र होइनन्, प्राचीनकालमा चिनियाँहरू ‘मरेर पनि अमरत्व प्राप्त गर्नेहरू पश्चिमी पर्वतमा गई बास गर्दछन्’ भन्ने विश्वास गर्थे । बौद्ध धर्मअघिका तिब्बतका बोनधर्मका अनुयायी उत्तरपश्चिम दिशामा हिमशिखरहरूले घेरिएको अदृश्य भूस्वर्ग ‘ओल्मुलुङ्ग्रिङ’ छ भनी ठान्दथे ।
तिब्बतीहरूको विश्वासअनुसार त्यो भूस्वर्ग ‘शाम्भला’ तुर्किस्थानको उत्तरतिर अवस्थित छ, जहाँ त्यहाँका प्रबुद्ध राजाहरूले तिब्बती बौद्धधर्मका उपदेश अर्थात् ‘कालचक्र’को निरन्तर रक्षा गरिरहेका हुन्छन् । बर्नबम लेख्छन्– ‘शाम्भला निवासी शान्त जीवन बिताउँछन् । त्यहाँ भोक र रोगको नामोनिसान हुँदैन । त्यहाँका मानिस धनधान्यले पूर्ण हुन्छन् अनि शुद्ध र पोसिलो खाना खान्छन् । सधैँ स्वस्थ र तन्दुरुस्त रहने त्यहाँका मानिसको पहिरन सफा सेतो कपडाको हुन्छ । उनीहरू देववाणी संस्कृत भाषामा कुरा गर्छन् । ती सुन–चाँदी र जवाहरतका धनी छन् तर तिनको उपयोग गर्दैनन् । ‘शाम्भला’का ऐन कानुन न्यायपूर्ण र मानवीय छन् । त्यहाँ शारीरिक यातना र कैदसजायको कुनै दण्ड व्यवस्था छैन ।’

न्युयोर्कबाट प्रकाशित हुने हिमालयन रिसर्च बुलेटिनका तत्कालीन सह–सम्पादक तथा नेपालका लागि थकाली जातिको अध्ययन गर्ने बिल फिसरका भनाइमा– ‘त्यसबेलाको नेपाल पर्यटकहरूले चाहेजस्तै थियो । नेपाल अरू ठाउँभन्दा बेग्लै थियो, जुन ठाउँमा निश्चिन्त भई आराम गर्न सकिन्थ्यो । सन् १९७० को दशकतिर नेपालमा घुम्न जाने पर्यटकलाई गाउँले मुस्कानसाथ स्वागत गर्थे । त्यहाँ तबसम्म पनि खानाको मोल तोकिएको थिएन, पर्यटकप्रति कसैबाट दुव्र्यवहार हुँदैनथ्यो, कसैले संकीर्ण भावले हेर्दैनथे । सांग्रिला नै भनिहाल्नु अतिशयोक्ति होला । तर, नि:सन्देह नेपालमा यस्तो मोहित बनाउने आकर्षण थियो जो अन्यत्र थिएन ।’ तर, नेपाल नै किन त ? किन नेपाल छेउछाउका मैदानी इलाकाले पश्चिमी पर्यटकलाई आकर्षित तुल्याउन सकेनन् ? फिसरअनुसार, भारतमा अंग्रेज शासनकालबारे लेखिएका पुस्तक र साहित्यले पश्चिमी पाठकमा ती ठाउँप्रति एक किसिमको नकारात्मक भाव पैदा गरायो । जात–पात र छुवाछूत प्रथा, ठगी, सतीप्रथा, बलिप्रथा आदिले मानिसमा त्यो छाप पार्‍यो । त्यसको विपरीत नेपाली संस्कृति बेग्लै थियो, जहाँ यी नकारात्मक पक्ष थिएनन् । खास गरी पहाडी इलाकामा व्याप्त बौद्धधर्मको परोपकारी स्वरूपले धेरैलाई आकर्षित गर्‍यो ।
विश्व गृहयुद्धमा प्रवेश गरेपछि विनाशबाट आहत पश्चिमा संसारबाट आउनेहरूका लागि नेपाल एउटा परिकथाको देश हुनपुग्यो– अरू ठाउँभन्दा एकदम भिन्न र खोजेजस्तै । चरेस र गाँजा छ्यास्छ्यास्ती पाइने । त्यसबेलाको नेपालले त्यस्तो बहुरंगी रोमान्सको वातावरण सिर्जना गर्‍यो, जस्तो पश्चिमाले खोजी हिँडेका थिए । नेपाली समाजको खुला, सरल, मिलनसार तथा गैरव्यापारिक चरित्रले नेपालको मोहिनी रूपमा थप आकर्षण पैदा गर्‍यो ।
तर, १९८० सुरुआतसँगै नेपालको त्यो मनमोहक छवि धुमिल हुँदै गयो । प्याकेज टुर कार्यक्रमअन्तर्गत नेपाल आउने पर्यटक ओइरिन थाले । अमेरिकी दबाबका कारण गाँजा–चरेसको खुला बिक्रीवितरणमा प्रतिबन्ध लागिसकेको थियो । नयाँ–नयाँ ठाउँ हेर्न रुचाउने पर्यटकले नेपालका धेरै भाग चाखिहिँडेका थिए । सांग्रिलाको अवधारणामा, आधुनिक संसारबाट (खास गरी पश्चिमा संसारबाट) वाक्क भएर पलायन हुने वा शान्ति खोज्ने मानिसको अतृप्त भाव प्रतिविम्बित हुन्छ ।
पश्चिमा अवसरवादीहरू काठमाडौंतिर डुलिहिँड्छन् । उनीहरूका हातमा क्यामेरा छन् अनि आतुर छन्, काठमाडौं र हिमालको अद्भुत सौन्दर्यलाई नासिएर जानुअघि नै छोपिहाल्न । यी फोटोग्राफर आºना देशका दामी पत्रिकामा प्रतिस्पर्धापूर्ण स्थान पाउन काठमाडौंका गल्लीमा कतिखेर भनेजस्तो दृश्य पाइएला भन्दै ढुकेर बस्छन् । तिरमिराउँदो, चहकिलो कृत्रिम फ्ल्यास फ्याँकेर धार्मिक पूजाआजालाई बिथोलिदिन्छन् अथवा जुम इन गरेर पशुपतिको घाटमा अस्तव्यस्त भएर नुहाइरहेकी आइमाईका फिल्म वा फोटो खिच्छन् । दु:खलाग्दो कुरा, सस्तो र रोमाञ्चकारी उपन्यास लेखकहरूले सांग्रिला फेला पारेका छन् । आफ्ना नायकलाई हिमाली क्षेत्रतिर पठाउने जासुसी कथा बढ्दो संख्यामा छन् । नायक र खलनायक अक्सर कालीगण्डकीको खोँचतिर पुगेका हुन्छन् । संसारका अन्य ठाउँभन्दा हिमाली जीवन आध्यात्मिक रूपले उच्च धरातलमा छ र यसैको उपयोग विदेशी अवसरवादीहरूले गरिरहेका छन् ।

प्रतिक्रिया