जब नेपालमा टेलिभिजन हेर्न थालियो

टेलिभिजनको प्रथम प्रसारणको करिब पाँच दशकपछि मात्र नेपालमा टेलिभिजन प्रसारण सुरु भएको हो । संसारको पहिलो सार्वजनिक टेलिभिजन प्रसारण सन् १९३६ नोभेम्बर २ मा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनको अलेक्जान्ड्रा प्यालेसबाट भएको थियो । तर, नेपालीहरूले टेलिभिजनको अनुभव भने नेपालमा टेलिभिजन स्थापना हुनुभन्दा पहिले नै गर्न पाएका थिए । पहिलो टेलिभिजन अनुभवबारे साहित्यकार तथा चलचित्र लेखक अविनाश श्रेष्ठ भन्छन्– ‘सन् १९७३ मार्च १३ (२०२९ फागुन ३० गते) तारिखमा साहित्यकारहरू ईन्द्रबहादुर राई, लख्खिदेवी सुन्दासलगायतका साहित्यकारहरू नेपाली भाषालाई भारतमा मान्यता दिलाउने अभियानका क्रममा भारतीय केन्द्रीय सरकारसँगको वार्ताका लागि नयाँ दिल्ली जाँदा हामी बसेको लोधी होटलमा सादा टेलिभिजन हेर्न पाइएको हो । पहिलोचोटि टेलिभिजन देख्दा हामी रोमाञ्चित भएका थियौँ । त्यसबेला कृषि कार्यक्रमजस्तो दृश्यहरू आइरहेका थिए । लगातार करिब १० मिनेटसम्म पम्पसेटबाट पानी आएको आयै † त्यस्तै एउटा ट्रेक्टरले १०–१५ मिनेटसम्म लगातार जोतेको जोत्यै † पछि मलाई लाग्यो ती सम्पादन नगरिएका दृश्यहरू थिए ।’
विदेश पुगेका नेपालीले टेलिभिजनसँग परिचित हुने मौका पाए तापनि नेपालमा भने टेलिभिजन सेटहरू विसं. २०३० को दशकको मध्यतिर मात्र भित्रिएका थिए । यस्ता टेलिभिजन सेटहरू मूलत: भिडियो हेर्नमा प्रयोग हुन्थ्यो । टेलिभिजन सेट आफैँ र भिडियो क्यासेट प्लेयर (भिसिपी)र भिडियो क्यासेट रेकर्डर (भिसिआर) डेक अत्यन्त महँगो पर्ने हुनाले यी उपकरणहरूमा धनी वर्गको मात्र पहँुच थियो । त्यसैले टेलिभिजनको अनुभव पनि यही वर्गमा मात्र सीमित थियो (केसी, सन् २००० आचार्य, सन् २००२)। काठमाडौंका जनसाधारणले भने भारतीय मूलका महर्षि योगीको प्रवचन त्यहीँ खिचेर खुलामञ्च वरिपरि राखिएका करिब ३० वटा रंगिन टेलिभिजनसेटमार्फत देखाइएको बखत विसं. २०३४ को कात्तिकमा टेलिभिजन देख्न पाएका हुन् ।
विसं. २०३० को दशकको मध्यतिर काठमाडौंको मखन, गुच्चाटोल, इन्द्रचोकलगायतका सहरका पुराना केन्द्रहरूमा भिडियो देखाउने व्यावसाय तीव्र गतिमा फैलियो । काठमाडौंमा व्यावसायिक रूपमा टिभी स्क्रिन र डेकबाट फिल्म देखाउने काम फोटो कन्सर्नले सुरुआत गर्‍यो । पाँचसय रुपियाँमा डेक, टिभी स्क्रिन र तीनवटा फिल्म भिएचएस (भिएचएस) क्यासेटमा एक रातको लागि भाडामा दिन्थ्यो । फोटो कन्सर्नकै प्राविधिक घरमै आएर फिल्म देखाउने गर्दथ्यो । यो समयमा सिंगापुर र बैंककबाट ठूलो संख्यामा डेक र टिभी स्क्रिन काठमाडौं भित्रियो । ती फिलिप्स टिभी र अकाई डेक थिए । त्यसपछि फोटो कन्सर्नले फिल्मका क्यासेटहरू भाडामा दिन थाल्यो । त्यसबखत एउटा क्यासेटको एक सय रुपियाँ भाडा र त्यसको लागि डिपोजिट एक हजार रुपियाँ तिर्नुपथ्र्याे । काठमाडौं भित्रिएका टेलिभिजन सेटहरू भिडियो पार्लरमा प्रयोग भए । करिब एकलाख रुपियाँ लगानी गरेर टेलिभिजन सेट र भिसिआर डेक जोडेपछि झ्याल नभएका, गर्मी हुने र गनाउने अँध्यारा छिँडीहरूमा परालका गुन्द्रीमा ५० जनाभन्दा बढी दर्शकलाई राखेर दैनिक सातवटा शोसम्म व्यावसायीहरू चलाउँथे र हप्तामा औसत ३० हजार रुपैयाँ आर्जन गर्दथे । प्रत्येक भिडियो पार्लरले फरक फिल्महरू देखाउने भएकाले काठमाडौंवासीहरूलाई चलचित्र छनोटको व्यापक र अपूर्व अवसर प्राप्त भएको थियो । अंग्रेजी भाषाका पूर्वीएसियाका र हिन्दी भाषाका चलचित्रहरू ठूलो संख्यामा दर्शकलाई उपलब्ध थिए । पाँचदेखि १५ रुपियाँसम्म तिरेर खासगरी युवाहरू आºना छनोटका चलचित्रहरू हेर्दथे । आºनो भिडियो अनुभवबारे केदार शर्मा लेख्छन्, ‘काठमाडौंको गुच्छा टोलमा भिआइपी टाकिज भन्ने भिडियो देखाउने ठाउँ थियो । हामी त्यहाँ गएर आर्ट फिल्म भनिने वैकल्पिक धारका भारतीय सिनेमा खुब हेथ्र्यौं ।’ मूलप्रवाहका व्यावसायिक चलचित्र, वैकल्पिक कला सिनेमा मात्र होइन, काठमाडौंवासीलाई भिडियो पार्लरहरूले अश्लील चलचित्रसमेत पस्किन्थे । यसले तत्कालीन सरकारमाथि नैतिक कारणबाट भिडियोको सार्वजनिक प्रदर्शनलाई नियन्त्रण गर्न एक प्रकारको दबाब सिर्जना भइरहेको थियो । यसैबेला अंग्रेजहरूबाट स्वतन्त्र हुन भारतीयहरूले गरेको आन्दोलनको विषयवस्तुमा आधारित हिन्दी चलचित्र क्रान्तिको सन् १९८१ मा भारतमा सार्वजनिक प्रदर्शन भयो । यो चलचित्र रातारात काठमाडौंको भिडियो पार्लरहरूमा पनि व्यापक रूपमा प्रदर्शन गरियो । प्रतिबन्धित नेपाली राजनीतिक दलका केही नेताको संलग्नता भारतीय स्वतन्त्रता आन्दोलनमा समेत भएका कारण पञ्चायती व्यवस्थाको विरुद्धमा जनभावना भड्किने सम्भावना तत्कालीन सरकारले देख्यो र सार्वजनिक भिडियो प्रदर्शनलाई नियन्त्रण गर्‍यो । सरकारले अनुमतिपत्र लिनुपर्ने, कर तिर्नुपर्नेजस्ता नियम लगाउनुका साथै कडा निगरानीसमेत राख्ने गरेकाले भिडियो प्रदर्शन व्यवसाय जटिल र कम लाभदायक बन्दै गयो । त्यसबेला भिडियो पार्लरमा गएर सिनेमा हेर्ने मात्र होइन, डेक र टेलिभिजन सेट नै भाडा तिरेर घरमै ल्याएर हेर्ने चलनै बनेको थियो । निश्चित घन्टाका लागि यस्ता उपकरणक सर्वसाधारणलाई भाडामा दिने काम व्यवसायीहरू गर्दथे । आºनो अनुभव बताउँदै श्याम चित्रकार भन्छन्, ‘हामी ६ सय रुपियाँमा डेक र टिभी सेट भाडामा ल्याएर घरका सबै परिवार बसेर घरमै हिन्दी सिनेमा हेथ्र्यौं । अलि असहज लाग्ने नाचहरू आएमा त्यसलाई फास्ट फरवार्ड गथ्र्यौं ।’
विसं. २०३० को दशकको मध्यपछिदेखि नै एन्टिनामार्फत भारतीय सरकारी टेलिभिजन दूरदर्शनका कार्यक्रमहरू नेपालीहरूले हेर्न थालेका थिए । काठमाडौंमा पहिलोचोटि टेलिभिजनमा दूरदर्शनको सिग्नल पकड्न सफल व्यक्ति हुन्– कृष्णदास श्रेष्ठ । रेडियो मर्मतको पेसा गर्ने र यस क्षेत्रमा रुचि भएकाले उनलाई टेलिभिजनको कार्यक्रम आउने नआउनेबारे परीक्षण गर्न रहर लाग्यो । उनको रुचि र निरन्तर प्रयासबाट उनलाई यो सफलता प्राप्त भयो र काठमाडौंवासीले दूरदर्शन टेलिभिजनका कार्यक्रमहरू नियमित रूपमा हेर्न पाए । श्रेष्ठ आºनो संस्मरण यसरी बताउँछन्– मसँग बच्चाहरूका लागि भिडियो गेम खेल्न दिल्लीबाट ल्याएको ‘टेस्ला’ ब्रान्डको इन्डियन श्यामश्वेत टिभी सेट थियो । ब्याडमिन्टन, भलिबललगायतका चार–पाँचवटा गेम खेल्न सकिने त्यो टिभी सेट ३५ सालतिर ल्याएको थिएँ । २०३६ सालमा दूरदर्शनको स्टेसन जयपुरमा र रिले स्टेसन मजºफरपुरमा छ भन्ने थाहा पाएँ । त्यसपछि मलाई टेलिभिजन सिग्नल टेस्ट गर्न मन लाग्यो । पर्दा राख्ने एल्मुनियमको मोटो डन्डी र तीन लाइनका मसिना डन्डीको बार बनाएर यागी एन्टिना बनाएँ । अहिले डल्लु आवास क्षेत्र भएको ठाउँमा हाम्रो खुला फाँटमा प्रशस्त जग्गा थियो । त्यही फाँटमा आर्मी अस्पतालको ठीकअगाडिको हाम्रो घरमा खुला ठाउँको अन्दाज गरेर कोसिस गरँे । तर, महिनौँ कोसिस गर्दा पनि सिग्नल आएन । पछि अमेरिकन लाइब्रेरीमा गएर प्राविधिक किताबहरू अध्ययन गर्दा बुस्टर चाहिन्छ भन्ने थाहा पाएँ । त्यसपछि आफैँ दिल्ली गएर बुस्टर ल्याएँ र एन्टेनामा फिट गरेँ । कोसिस गर्दै जाँदा २०३७ सालको बुद्ध जयन्तीका दिन दृश्य र ध्वनि दुवै आयो । विश्वजित र राजश्री अभिनित फिल्म ‘सहनाइ’ टिभीमा आयो । म खुसीले उफ्रेँ । दंग भएँ । परिवार सबै कुदेर आए । ठूलो उत्सवै भयो । मान्छे र आवाज बुझिन्छ तर प्रस्ट छैन । टेक्निकल स्ट्ेरन्थ नपुगेको थाहा पाएँ । पछि खोज्दै जाँदा फ्रिक्वेन्सी १७५ मेघाहर्ज रहेछ । त्यसपछि वेभलेन्थ मिलाएँ । दृश्य धेरै सफा भयो । सुरुमा धेरैले पत्याएनन् । तर, टिभी देखेपछि दंग परे । मानिसहरू मलाई घेरेर टिभी ल्याइदिन भन्थे । म टिभी र बुस्टर लेखेर दिन्थँे र एन्टेना बनाइदिन्थँे । सुरुमा धेरैको घरमा मैले नै जडान गरिदिएको छु र धरैलाई सिकाइदिएको छु । स्वयंसेवकका रूपमा यो काम गर्दा मलाई निकै आनन्द आएको थियो ।
(उप्रेतीको भृकुटी एकेडेमिक पब्लिकेसनबाट अर्को साता सार्वजनिक हुने ‘नेपालमा टेलिभिजन: विकास र बहस’ शीर्षकको किताबको अंश)

प्रतिक्रिया