मोर्चा गठनमा नयाँ केही छैनः कांग्रेस

काठमाडौं, २६ साउन । विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ एमाओवादी सहितका दलहरुले गठन गरेको ‘संघीय लोकतान्त्रिक गठबन्धन’को मोर्चालाई महत्व नदिएको जनाएको छ ।
उसले नयाँ मोर्चालाई जालझेलको संज्ञा दिएको छ । कांग्रेसले जनतामा भ्रम सृजना गर्न एमाओवादीले मोर्चा गठन गरेको आरोप लगाएको छ ।
बागवजारस्थित पिके क्याम्पसमा डा.नारायणप्रसाद चालिसेको ‘पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपान्यास’ नामक पुस्तकको लोकर्पाण पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी सहितको मोर्चामा कुनै नयाँ विषय नरहेको टिप्पणी गरे ।
‘कांग्रेसलाई संघीयता विरोधी देखाउन मोर्चा गठन भएको छ,’ उनले भने, ‘मोर्चामा कुनै नयाँपन छैन, त्यसले कुनै असर गर्दैन ।’
जालेझेलको राजनीति गर्न मोर्चा गठन गरेको दाबी गरेका कोइरालाले त्यसलाई आफूहरुले खासै महत्व नदिएको बताए । उनले निकासका लागि सहमति, सहकार्य र सम्वादकै मार्गबाट चल्नु पर्ने बताए ।
एमाओवादी सहितका दलले बिहीबार राति बालुवाटारमा नयाँ निर्वाचन सम्मका लागि संघीय लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको भोली पल्ट कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।
कांग्रेस मुलुकले धान्ने संघीय राज्यहरु बनाएर जान पहिलादेखिनै तयार रहेको बताएका कोइरालाले भने, ‘धेरै संघीयता बनाउने हो भने त्यो दीर्घकालिन हुँदैन ।’ मुलुकलाई साँचो अर्थमा संघीयतामा ढाल्ने हो भने सामथ्र्य र बहुपहिचानका आधारमा थोरै राज्य बनाउनुपर्ने कोइरालाको भनाई थियो ।
एमाओवादीले नै मुलुकमा संघीयता नचाहेको बताएका कोइरालाले जेठ–१४ गते अघि भएका सहमति उलंघन गरेर संविधानसभा विघटन गरेको आरोप लगाए । ‘संघीयताको संख्यामा कांग्रेसले कहिले पनि विरोध गरेको छैन,’ उनले भने, ‘एमाओवादी नै त्यस विषयमा पटक/पटक कुरा बदल्छ ।’
शासकीय स्वरुपमा कांग्रेसले संसदीय व्यवस्थाकै पक्षमा अडान राख्ने कोइरालाले जनाए । ‘शासन सत्तालाई चेक एण्ड व्यालेन्समा राख्न पनि संसदीय व्यवस्था आवश्यक छ,’ उनले भने, ‘अन्यथा मुलुकमा निरंकुशता आउँछ ।’
त्यसै गरेर सभापति कोइरालाले मेलमिलाप र सहकार्यको नीतिका साथ मुलुकलाई निकास दिनुपर्ने बताए । उनले वीपी कोइरालाको मेलमिलापकै नीति अहिले पनि सान्दर्भिक रहेको रहेको बताए ।

प्रतिक्रिया