असदको पतन भए सिरियामा अनिष्ट : इरान

तेहरान, २६ साउन । सिरियाली राष्ट्रपति बसर अल असदको आकस्मिक पतन भए सिरियामा अनर्थ हुने चेतावनी इरानले दिएको छ । युरोपेली संघ, अमेरिका, अरब लिगलगायतले राष्ट्रपति असदको चर्को आलोचना गरिरहेका बेला सिरियाका पक्षमा कूटनीतिक समर्थन जुटाउने तयारी गरिरहेको इरानले बिहीबार यस्तो चेतावनी दिएको हो । सिरियामा राष्ट्रपति असदको राजीनामा माग गर्दै अढाइ वर्षअघिदेखि थालिएको विद्रोहमा विदेशी तत्त्वको हात रहेको आरोप इरानले लगाउँदै आएको छ । सिरियाका पक्षमा अन्तर्राष्ट्रिय जनमत जुटाउने उद्देश्यले सिरियासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको इरानको यस्तो भनाइ सार्वजनिक भएको हो ।
अमेरिकी दैनिक वासिंटन पोस्टमा बुधबार प्रकाशित इरानी विदेशमन्त्री अदि अक्बर सालेहीको लेखमा बसरको पतनले सिरियालाई संकटमा पार्ने दाबी गरिएको हो । ‘सिरिया विभिन्न जात, आस्था र संस्कृतिका मानिस बसोबास गर्ने अलौकिक समाज हो । राष्ट्रपति असदको आकस्मिक पतन भए सिरियाको यस्तो छवि धुलिसात हुनेछ,’ लेखमा उनले भनेका छन् । सिरियाली संकट समाधानका निम्ति इरानले प्रस्ताव गरेको मोडेलमा सहमति भए यसबाट सबैको जित हुने दाबी उनले गरेका छन् ।
रूस र चीनसँग मिलेर इरानले सिरियाका पक्षमा अन्तर्राष्ट्रिय जनमत जुटाउने प्रयत्न गरिरहेको छ । सिरियाली संकट समाधानबारे छलफल गर्नका लागि राष्ट्रपति असदको राजीनामालाई पश्चिमी राष्ट्र र सिरियाका विद्रोहीले पूर्वसर्त बनाएका छन् । तर, इरानले भने यसको चर्को आलोचना गर्दै आएको छ ।
मध्यपूर्वमा सिरिया इरानको दरिलो साझेदार राष्ट्र हो । इरान सिया मुसलमान बहुल राष्ट्र हो र सिरियामा अल्पमतमा रहेका सियाले बहुसंख्यक सुन्नी समुदायमाथि शासन गर्दै आएका छन् । इरानबाहेक सिया धर्मावलम्बीहरूको बाहुल्य रहेको लेबाननको समूह हिजबुल्लाह र प्यालेस्टाइनी समूह हमासले समेत आवश्यक परे सिरियाका पक्षमा लड्न आफूहरू तयार रहेको बताउँदै आएका छन् ।
विगत केही दिनयता सिरियाली सैनिक र विद्रोहीबीच भीषण संघर्ष जारी रहेका बेला इरानले गर्न लागेको सिरियासम्बन्धी बैठकमा चीनसहित १५ राष्ट्र सहभागी हुने इरानी सञ्चारमाध्यमहरूको दाबी छ । सम्मेलनमा इराक, अल्जेरिया, ताजकिस्तान, भेनेजुएला, पाकिस्तान, भारतलगायत अरब लिगका कतिपय सदस्यले सहभागिता जनाउने अनुमान गरिएको छ ।
मंगलबार एक समारोहमा इरानी राष्ट्रपति महमुद अहमदिनेजादले अमेरिकाले सम्पूर्ण मुस्लिम जगतप्रति चुनौती खडा गरेको आरोप लगाएका थिए । अमेरिकाले मध्यपूर्वका सबै राष्ट्रमा आफूअनुकूलको परिवर्तन ल्याउन चाहेको उनको दाबी थियो । ‘म दाबीका साथ भन्न सक्छु कि उनीहरू (अमेरिकीहरू) साउदी अरबमा पनि परिवर्तन ल्याउने दाउ हेरिरहेका छन् । मुस्लिम राष्ट्र शक्तिशाली भएको उनीहरूलाई स्विकार्य छैन,’ उनले भने ।
स्मरण रहोस,् मध्यपूर्वका साउदी अरब, कतार, टर्कीलगायतका राष्ट्रलाई अमेरिकाले सिरिया र इरानविरुद्ध प्रयोग गर्न खोजिरहेको छ । इरानसँग समुद्री सीमा जोडिएको साउदी अरबलाई अमेरिकाले इरानविरुद्ध ‘डिटरेन्स’ का रूपमा प्रयोग गर्दै आएको छ । यस्तोमा इरानी राष्ट्रपति अहमदिनेजादले सम्पूर्ण मुसलमान जगत्लाई अमेरिकी षड्यन्त्रविरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।
यसअघि इरानी सशस्त्र बलका उपप्रमुख मसुद जजाभेरीले आवश्यक परे सिरियालाई फौजी सहयोग गर्न आफूहरू तयार रहेको घोषणा गरेका थिए । इजरायलको प्रतिरोध गर्ने हरेक राष्ट्रलाई इरानले सहयोग गर्ने उनले प्रस्ट पारेका थिए ।
सिरियाली प्रधानमन्त्री भागे
सिरियाली प्रधानमन्त्री रियाद हिजाब बुधबार जोर्डन पुगेका छन् । दुई मन्त्री तथा तीन सैनिक अधिकारीसहित सपरिवार जोर्डन पुगेका उनले सिरियाली सरकारसँग सम्बन्ध टुटाएर विद्रोहीको साथ दिएको अनुमान गरिएको छ । उनी जोर्डनको अम्मानमा सुरक्षित रहेको समाचारमा उल्लेख छ ।
हिजाब परिवारका केही सदस्यसहित बुधबार सबेरै जोर्डन प्रवेश गरेका थिए । उनी त्यतै बस्छन् वा फर्किन्छन् भन्ने अझै सार्वजनिक भएको छैन ।
राष्ट्रपति बसर अल असदले गत जुनमा हिजाबलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनीलगायत मुलुकका उच्चस्तरीय राजनीतिक तथा सैनिक अधिकृत मुलुकबाट पलायन हुनुले राष्ट्रपति असद संकटमा परेको देखिएको विश्लेषकले उल्लेख गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया