सभागृहमा नेताहरूलाई व्यंग्य

काठमाडौं, २६ साउन ।  राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको झ्याइँकुटी झ्याइँ, मेरीबास्सै, जय होस् गाईजात्रा महोत्सवमा कलाकारले देश बिगार्ने नेताहरूमाथि गतिलो व्यंग्य गरेका छन् । प्रहसन सुरु गर्छन्, हास्य कलाकार सुरेन्द्र केसी र शिव शंकर रिजालले । गब्बरसिंह र कालिया बनेका उनीहरू ६ सय एक सभासद्ले संविधान बनाउनुको सट्टा राष्ट्रको ढुकुटी सिध्याएको प्रसंग उठाउँदै व्यंग्य गरी अन्त्यमा रोमाञ्चक शैलीमा नेताहरूलाई बन्दुक र नारी मोहमा नअल्झी काम गर्न आग्रह गर्छन् ।
मेरीबास्सै समूहबाट प्रस्तुत भेटेरिनरी क्लिनिक प्रहसनले वर्तमान सरकाको काम गर्ने शैलीलाई व्यंग्य गरेको छ । केदार घिमिरे, सुनीता गौतम, सुरज चापागाईं र राजु पौडेलले अभिनय  गरेका छन् । प्रस्तुतिका क्रममा क्लिनिक साहु बनेका केदारले प्रधानमन्त्री भट्टराईले हरेक कुरा ट्राई मात्र गरेकाले उनको थर नै ट्राई बनाइएको बताउँदा दर्शकले उठेरै ताली बजाएका थिए । प्रस्तुतिका क्रममा आधुनिक पहिरनमा देखिएकी साहुनी सुनीता ‘मैया’ प्रहसनको अन्त्यतिर साधारण मौलिक नेपाली पहिरनमा नेपाली झन्डा फहराउँदै आउँछिन् । हाँसोको माहोलमा राष्ट्रिय भावना छचल्काउँछिन् ।
झ्याइँकुटी झ्याइँ समूहले नेपाल एक्सप्रेस नामक प्रहसन देखाउँछ । दमन रुपाखेती, खेम शर्मा, घनश्याम गौतम र शेखर खनालले अभिनय गरेका छन् । देशलाई गाडीका रूपमा प्रस्तुत गरिएको छ, जसका हेन्डिल, लुकिङ ग्लास, इन्जिन केही हुँदैनन् । प्रचण्ड र शेरबहादुर देउवाको नक्कल गरिरहेका घनश्याम र दमन एकअर्कासँग लडाइँ गरिरहेका हुन्छन् । खलासी बनेका खेमले सर्वसाधारण नागरिकको भाषामा उनीहरूलाई सम्झाउँछन्– नेताहरूले लडाइँ गरेकै कारण देश बिग्रियो, त्यसैले आफूलाई सुधार, मिलेर देश बनाऊ ।
जय होस् समूहको प्रहसनमा संविधानसभा विघटनपछि सभासद्हरू बेकामे भएका र उनीहरू चुराधागो बेच्दै हिँडेको प्रसंग उठाएर व्यंग्य गरिएको छ । जहाँ दुई सभासद् मुख देखाउन लाज लागेर गाउँ फर्कन सकिरहेका छैनन् । अनि आरोप लगाउँछन्– ठूला नेताका कारण संविधानसभा विघटन भयो, हामीले गर्दा होइन । यो प्रहसनचाहिँ कलाकार रवि डंगोलद्वारा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया