बादी समुदाय अझै उपेक्षित

बर्दिया, २६ साउन । बर्दियाको बगानाहास्थित जुडपानी गाउँमा बादी समुदायका महिला समाजको गलत दृष्टिमा बाँच्न बाध्य छन् । नेपालमा राजारजौटाले घरको पूजाआजामा नचाउन तथा यौनतृष्णा मेटाउन इतिहासको कालखण्डमा प्रयोग गर्ने गरे पनि बादी समुदायका महिला अझै पनि समाजको गलत हेराइ र अपहेलनायुक्त जीवन बिताउन बाध्य छन् । तीन सय ५० वर्ष पुरानो इतिहास बोकेको बादी समुदाय विशेषगरी नेपालका सल्यान, प्युठान, रोल्पा, बाँके, बर्दिया, कैलालीलगायत अन्य जिल्लामा छरिएर बस्ने गरेको पाइन्छ ।

बादी जाति भएकै कारण महिलालाई समाजमा नकारात्मक दृष्टिले हेर्ने गरेको बगानाहा गाविस जुडपानीका शोभा बादी बताउँछिन् । छोरी बिग्रँने डरले बुबाआमाले सानै उमेरमा विवाह गरिदिने गरेको बादीहरूको भनाइ छ । बादी जाति हुँदैमा सबै महिलाले यौन व्यवसाय नगर्ने जुडपानीका प्रकाश बादी बताउँछन् । सरकारले सहयोग गरे बादी जातिप्रति समाजमा भएको नकारात्मक सोच परिवर्तन हुने र सरकारले बादी जातिप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने उनले बताए ।
सोही गाविसकी कल्पना बादी आफूले यौन व्यवसाय छाडिसकेको र कुनै दिदीबहिनीले ‘यौन व्यवसाय गर्छु’ भन्दा आफूलाई लाज लाग्ने गरेको बताउँछिन् । आजकाल पुरुषहरू आफ्ना घरमा नआउने बताउँदै उनले यौन पेसामा लाग्ने बादी महिलालाई व्यवसाय छाड्न दबाब दिने गरिएको जानकारी दिए । बर्दिया जिल्लामा दुई सय ५० घरधुरीमा एक हजार चार सयभन्दा बढी बादी समुदायको जनसंख्या रहेको महिला तथा बालबालिका कार्यालय बर्दियाको तथ्यांकमा उल्लेख छ । जिल्लामा राजापुर, पाताभार, ताराताल, भीम्मापुर, पशुपतिनगर, ढोढरी, पदनाहा, धधवारलगायत २३ वटा गाविसमा बादी समुदाय छरिएर बसेका छन् ।
सदियौँदेखि राज्य र समाजबाट वञ्चित बादी महिला शोषण, अन्याय, अत्याचार र दमनको सिकार बन्न पुगेका छन् । समाजमा जातीय अपहेलनाका कारण जात परिवर्तनसमेत गर्नुपरेको यथार्थ उनीहरूको छ । चारैतिर अपमान भएको महसुस गरेका बादी समुदाय कोही पढेलेखेको भए पनि सामाजिक अपेहलनाका कारण रोजगारी नपाएको बताउँछन् । समाजका पुर्खाले थालनी गरेको गलत परम्परालाई आधुनिक नेपालका निर्माताले जोगाइराख्नु उपयुक्त छैन । बादी समुदायका महिलालाई इज्जतका साथ बाँच्ने अधिकार पनि छ । यसलाई राज्यले समयमा नै सम्बोधन गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिक्रिया