अहेव र औषधिविनाको उपस्वास्थ्यचौकी

काभ्रे, २६ साउन । दुई जिल्लाको पायक पर्ने उपस्वाथ्यचौकी लामो समयदेखि पिएन र ग्रामीण स्वास्थ्य कार्यकर्ताका भरमा सञ्चालन भएका छन् ।

चौकीका अहेव महिनामा एकपटकमात्रै कार्यालय जाने गरेकाले सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । काभ्रे र सिन्धुलीका केही गाविसका सर्वसाधारणलाई सेवा पुर्‍याउँदै आएको बनखुचौरस्थित गोल्टारमा रहेको उपस्वास्थ्य चौकी पिएन रामकृष्ण कुँवर र अहेव हरिबहादुर क्षेत्रीले चलाउँदै आएका छन् ।
मातृशिशु कार्यकर्ताको दरबन्दी भए पनि उपस्वास्थ्य चौकीमा हाजिर भएकी छैनन् । अहेव सुरेश शाह लामो समयदेखि चौकीमा नगएको स्थानीय चक्र कुँवरले बताए । शाह महिनाको एकपटक गएर रिपोर्ट बनाएर काठमाडौं फर्कने गरेका छन् । यातायातको समेत अभाव रहेको गाउँमा लामो समयदेखि अहेव नभएपछि ग्रामीण स्वास्थ्य कार्यकर्ता र पिएनले नै बिरामीलाई सुई र स्लाइनसमेत दिँदै आएका छन् ।
०४९ सालमा स्थापना भएको उपस्वस्थ्य चौकीमा गत वर्षदेखि बर्थिङ सेन्टरसमेत सञ्चालनमा आएको छ । अहेवकै अनुपस्थितिले अनमीले मात्रै गर्भवती महिलाको जाँचमा गुणस्तरीय सेवा दिन नसकेको बताइएको छ । बर्थिङ सेन्टरमा आउने बिरामीका लागि समेत उपस्वास्थ्य चौकीले चाहेजति उपचार दिन सकेको छैन । पछिल्लो समय उपस्वास्थ्य चौकीमा औषधिको पनि अभाव रहेको छ । औषधिको अभाव भएपछि सर्वसाधारणले ज्वरो आउँदासमेत सिटामोल नपाएको ग्रामीण स्वास्थ्य कार्यकर्ता हरिबहादुर क्षेत्रीले जानकारी दिए ।
उपस्वास्थ्य चौकीमा काभ्रेका बन्खु, घर्तीछाप, फोक्सिङटार तथा छिमेकी सिन्धुली जिल्लाको कपिलाकोट, भोक्टेनी, लामिबगर र दोभानबाट दैनिक ६० सेवाग्राही उपचारका लागि आउने गरेका छन् । उपचारका लागि आएका सबै बिरामी अहेवको जाँचविना घर फर्कने गरेका छन् भने जाँच भएका बिरामीले समेत औषधि पाउन सकेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालयले सेमिनार, गोष्ठी र अन्य कार्यक्रममा अनमी बोलाउँदा सेवा लिन आउने गरेका गर्भवती तथा अन्य महिला प्रभावित हुने गरेका छन् ।
लामो समयदेखि उपस्वस्थ्य चौकीमै कार्यरत ग्राीमण स्वास्थ्य कार्यकर्ता हरिबहादुर क्षत्री स्थानीय भएकाले सर्वसाधारणले उपचार पाइरहेका भए पनि स्वास्थ्यका बारेमा पूर्णज्ञान नहुँदा थप समस्या उत्पन्न भएको छ । जिल्ला सदरमुकाम आइपुग्न दुई दिन लाग्ने भएकाले पनि डाँडापारी क्षेत्रमा भएका उपस्वाथ्य चौकीमा बिरामीको चाप हुने गरेको छ ।

प्रतिक्रिया