रोम्नीले गुमाए समर्थन

वासिंगटन, २५ साउन । रिपब्लिकन पार्टीका तर्फबाट ह्वाइट हाउसका दाबेदार मिट रोम्नीले राष्ट्रपति बाराक ओबामासँग आउँदो कार्यकालका लागि हुने निर्वाचनमा अमेरिकी मतदाताको समर्थन गुमाउन थालेको नयाँ अभिमत संकलनमा देखिएको छ । अमेरिकामा निर्वाचन आउन तीन महिना मात्र बाँकी छ ।

वासिङ्टन पोस्ट तथा एबिसी न्युजको अभिमत संकलनमा म्यासाचुसेट्सका पूर्वगभर्नरप्रति ४९ प्रतिशत मतदाताले नकारात्मक धारणा राखेको देखिएको छ । मे महिनामा गरिएको अभिमत संकलनमा यो संख्या ४५ प्रतिशत रहेको थियो । चालीस प्रतिशतले उनलाई सकारात्मक रूपमा हेरेको देखिएको छ भने अघिल्लो अभिमत संग्रहमा यस्तै अवस्था देखिएको थियो । यसको विपरीत ५३ प्रतिशत मतदाताले राष्ट्रपति ओबामालाई समर्थन गर्ने जानकारी दिएका छन् भने ४३ प्रतिशतले उनलाई मन नपराउने उल्लेख गरेका छन् ।
यसले अधिक प्रतिशत स्वतन्त्र मतदाताले राष्ट्रपति ओबामालाई मन पराउने देखिएको छ ।
रोम्नीको बेलायत, इजरायल तथा पोल्यान्ड भ्रमणका समयमा राखिएको धारणाका कारण उनीप्रतिको समर्थन घटेको देखिएको छ । रोम्नीको आफ्नै रिपब्लिकन पार्टीका ८३ प्रतिशत उनीप्रति सकारात्मक देखिए र केवल ४१ प्रतिशतले मात्र उनलाई बलियोरूपमा समर्थन गरेको देखियो ।
यो सर्वेक्षण १ देखि ५ अगस्तसम्म गरिएको हो र यसमा एक हजार २६ वयस्कले भाग लिएका थिए । यस नमुना सर्वेक्षणमा गल्ती प्रतिशत घटी वा बढी चार प्रतिशत देखिएको छ ।
क्विनिपियाक विश्वविद्यालय, न्युयोर्क टाइम्स तथा सिबिएस समाचारको सर्वेक्षणले भने विस्कनसिन, भर्जिनिया तथा कोलोराडो राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएको छ । कोलोराडोमा रोम्नीले ५० प्रतिशत तथा ओबामाले ४५ प्रतिशतको समर्थन प्राप्त गर्ने अवस्था देखिएको छ भने भर्जिनिया तथा विस्कनसिनमा राष्ट्रपति ओबामाले बढी समर्थन प्राप्त गर्ने अवस्था देखिएको छ ।
भर्जिनियामा राष्ट्रपति ओबामाले ४९ प्रतिशत समर्थन प्राप्त गर्ने देखिएको छ भने रोम्नीले ४५ प्रतिशत समर्थन प्राप्त गर्ने देखिएको छ । विस्कनसिनमा ओबामाको समर्थन ५१ प्रतिशत र रोम्नीको समर्थनमा ४५ प्रतिशत देखिएको छ ।
कोलोराडोबाट प्राप्त नयाँ तथ्यांकमा ओबामा अगाडि देखिएका छन् भने रिकी नागरिकले ६ नोभेम्बरमा राष्ट्रपति पदका लागि मतदान गर्ने छन् । एजेन्सी

प्रतिक्रिया