सुदूरपश्चिममा गौराको रौनक

कञ्चनपुर, २५ साउन । सुदूरपश्चिमेलीको पर्व गौरा सुरु भएको छ । भदौ महिनामा हुने गौरापर्व अधिकमास परेका कारण साउन महिनामै मनाउन लागिएको हो । अधिकमास र अगन्तोदय भएपछि गौरापूजन नगर्ने चलन रहेका कारण साउन महिनाकै पञ्चमीका दिनदेखि गौरापर्व मनाउने निर्णय गरिएको हो ।

गौरापर्वको पहिलो दिन महिलाले तामाका भाँडामा पाँच प्रकारका अन्न एकै ठाउँ भिजाएर गौराको प्रारम्भ गरेका छन् । गहँु, केराउ, गहत, मास र गुराँसलगायत भिजाइएका पाँचथरि अन्नलाई बिरुडा भन्ने गरिएको पण्डित बलराम पनेरूले बताए ।
पर्वमा महिलाले निराहार बसेर शिवपार्वतीको संयुक्त रूपमा पूजन गरी भगवान्सँग मनोवाञ्छित फल माग्ने गर्छन् । पौराणिक कालमा शिवलाई प्राप्त गर्न पार्वतीले निराहार बसेको मान्यताका कारण गौरापर्व मनाइने गरिएको पण्डित पनेरूले बताए । गौरापर्वको दोस्रो दिन षष्ठीमा तामाको भाँडामा भिजाइएको बिरुडालाई व्रतालु महिलाले पानीको मुहान र पधेँरामा धुने तथा सप्तमीका दिन गौरालाई बाँस वा निगालाको डालामा प्रतिस्थापन गर्छन् । गौरा भित्र्याएपछि पूजाअर्चना गरी महिलाले दुवधागो चढाउने गर्छन् ।
गौराष्टमीका दिन व्रत बसेका महिलाले बिहानैदेखि गौरा मनाउने स्थलमा फाग झोडा सगुन गाएर पूजा गर्छन् । पुरोहितले अभिषेक गरेको दुवधागो महिलाले घाँटीमा लगाउने चलन रहेको मीना ठगुन्नाले बताइन् । सोही दिन तामाको भाँडामा भिजाइएको पाँच अन्नको बिरुडा गौरापूजन गरेर घरपरिवारका सदस्यको टाउका पुज्ने चलन रहेको उनले बताइन् ।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुखशान्तिका लागि व्रत बसी पूजा गर्ने चलन छ । पूजनपछि बाजागाजासहित गौरा विसर्जन गरिन्छ । गौरापर्वमा पौराणिक कालका गीति कथा, गायन र परम्परागत नृत्यमार्फतबाट रमाइलो गरिन्छ भने देउडामा मायाप्रीतिका भाका, राजनीतिक व्यंग्य र जनचेतना फैलाउने सन्देश दिने गरिन्छ । केही समययतादेखि मौलिक संस्कृतिप्रति चासो नदिने युवाले पनि हाल आएर संस्कृतिप्रति चाख राख्न थालेको स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताए ।
यो पर्व सुदूपश्चिम क्षेत्रमा मात्रै नभएर भारतको कुमाउ, गढवाल क्षेत्रमा समेत धुमधामका साथ मनाइने गरिन्छ । गौरापर्वका अवसरमा विदेशमा गएकाहरू घर फर्कने, विवाहिताहरू माइत जाने र देउडा, ढुस्को खेलेर रमाइलो गर्ने चलन छ । सोही अवसरमा महिलाले अठेवाली मनाउनका लागि गौरा र महेश्वरका प्रतिमा टाउकामा राखेर परम्परागत तरिकाले नाच्नेसमेत गर्दै आएका छन्, जसलाई गौरा नाचसमेत भन्ने गरिन्छ ।
गौराको पूजा–विधि भने ठाउँ र चलनअनुसार फरक छ । पश्चिमी सीमा नाका गड्डाचौकीबाट गौरापर्वका लागि घर फर्कनेको संख्या उल्लेख्य रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद भट्टले बताए ।
कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली साहित्य संगमले गौरा महोत्सवसमेत आयोजना गरेको छ । महोत्सवमा डोटेली संस्कृति झल्कने पहिरन, परिकार, परम्परागत बाजा र ताम्रपत्र राखिएका छन् । महोत्सव आकर्षक बनाउन पुरुष र महिलाको देउडा खेल प्रतियोगिता राखिएको छ ।

प्रतिक्रिया