हतियार भेटिएन

बाग्लुङ, २५ साउन । पश्चिम ढोरपाटन प्रहरी चौकीमा कार्यरत असईको हत्यासँगै हराएको हतियार प्रहरीले फेला पारेको छैन ।

बोबाङ–९ मा लागेको जनैपूर्णिमा मेलामा सुरक्षाका लागि खटिएका पर्वत बाजुङ–५ का नरबहादुर क्षत्रीको हत्या भएको एक साता बित्दा पनि उनको साथमा रहेको एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली फेला नपरेको प्रहरीले जनाएको छ । क्षत्रीको हत्या आरोपमा पक्राउ परेका स्याङ्जा घर भएका प्रहरी चौकीमा कार्यरत जवान ख्यामनारायण पौडेलले हत्या स्वीकार गरे पनि हतियार फेला नपरेको हो ।
‘हराएको हतियार खाजा खाने बेला होटलमै छाडियो या बाटोमा खसालेर कसैले लग्यो,’ अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालयका सई शैलेन्द्र खड्काले भने, ‘खोज अनुसन्धान जारी छ ।’ हतियार खोजीका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङका असई बालकृष्ण शर्माको नेतृत्वमा एउटा टोलीसमेत परिचालन गरिएको छ ।
‘पौडेलले असईको हत्यामा हतियार प्रयोग गरिएको देखिएन,’ खड्काले भने, ‘यसले थप आशंका उब्जाएको छ ।’ पौडेलले प्रारम्भिक बयानमा हतियार कतै खसेको या खोलाले बगाएको हुनसक्ने बताएको प्रहरीको भनाइ छ । उनले आफू मदिराको मातमा भएकाले हतियारको बारेमा केही थाहा नभएको जिकिर गरेका छन् । क्षत्रीको शवको पोस्टमार्टम रिपोर्टमा टाउकोमा गहिरो चोट देखिए पनि त्यसमा कुनै हतियार प्रयोग गरेको पाइएन । प्रहरीका अनुसार पौडेलले ढुंगाले पटकपटक टाउकोमा हानेर क्षत्रीको हत्या गरेका थिए ।
हतियारका बारेमा अनुसन्धान भइरहेको डिएसपी कृष्ण सिवाकोटीले बताए । ‘हतियार कतै खस्यो, कसैले लग्यो या वर्षासँगै खोलामा आएको बाढीले बगायो,’ उनले भने, बाटोमा खसेर कसैले भेट्टाए पनि फसिने डरले कतै फालेको या लुकाएको पनि हुनसक्छ ।’ उनले कसैले हतियार भेटेको भए प्रहरीमा बुझाउन आग्रह पनि गरेका छन् ।
प्रहरीले १९ साउनमा भएको क्षत्रीको हत्या आशंकामा प्रहरी जवान पौडेलसँगै होटल व्यवसायी शान्तदेवी अढाईलाई पनि पक्राउ गरेको थियो । हत्यामा अढाईको संलग्नता अहिलेसम्म नदेखिएको प्रहरीले जनाएको छ । मेलामा इलाका प्रहरी कार्यालय बुर्तिबाङका सई शोभित केसीको नेतृत्वमा १३ जनाको टोली ड्युटीमा खटिएको थियो । मेलाबाट फर्कने क्रममा ढोरपाटन प्रहरी चौकीमा कार्यरत मृतक क्षत्री र हत्याका आरोपित पौडेल ‘पछि आउँछौँ’ भन्दै होटलमा बसेका थिए । होटलमा अत्यधिक मदिरा सेवन गरेर विवाद भएको र केहीबेरपछि हत्या गरेको पौडेलले बताएका छन् ।

प्रतिक्रिया