खुला सीमाका बेरोजगारमा हतियारमोह

राजविराज, २४ साउन । खुला सीमा र बेरोजगारीका कारण सप्तरीका युवा हतियारप्रति आकर्षित भएको पाइएको छ । प्रहरी प्रशासनलाई नै चुनौती दिने गरी युवापुस्ता हतियार प्रयोगमा लागेको छ ।

ग्रामीण क्षेत्रमा मात्र नभई प्रहरीको अत्यन्त बाक्लो उपस्थिति रहने राजविराज नगरपालिकामा समेत हतियार बरामद हुन थालेपछि सप्तरीमा युवापुस्ताका हातमा हतियार पुगेको पाइएको हो ।
२० साउनमा तास खेलिरहेका अवस्थामा विवाद हुँदा आफ्नै साथीले चलाएको गोली लागेर कोचाबखारी–७ का २० वर्षीय श्यामकुमार साह गम्भीर घाइते भएका थिए । विष्णुपुरका वीरेन रामले चलाएको गोली साहको कोखा हुँदै ढाडबाट निस्किएको थियो । घटनामा संलग्नमध्ये दुई पक्राउ परेका छन् भने एक हतियारसहित फरार रहेको प्रहरीले जनाएको छ । आधा दर्जनको संख्यामा तास खेल्न भेला भएका सबै युवा एसएलसी परीक्षा सकेर बसेका विद्यार्थी हुन् ।
यसअघि ५ जेठमा राजविराजबाट एकैपटक पाँच युवा हतियारसहित पक्राउ परेका थिए । प्रहरीले उनीहरूका साथबाट दुई थान कटुवा पेस्तोल, सर्ट गनका ११ थान गोली र दुई थान फाइटर बरामद गरेको थियो । पक्राउ पर्नेमा पोर्ताहा–७ का मनीषकुमार यादव २५ वर्षका थिए भने अरू १८ वर्षमुनिका थिए ।
२१ वैशाखमा मल्हनुवा–९ का २३ वर्षीय रामकृष्ण चौधरी, २६ वर्षीय विनोद ठाकुर पनि एक थान कटुवा पेस्तोल, चार थान गोली र एकथान खोकासहित पक्राउ परेका थिए । ‘हतियारसम्बन्धी नौ घटना भएकोमा १५ पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशबहादुर थापाले भने, ‘पक्राउ परेका १२ जना २६ वर्षमुनिका युवा थिए ।’
‘शैक्षिक बेरोजगारी तथा सरकारको उदासीनताका कारण युवापुस्ताले हतियारलाई छिटो र धेरै कमाउने माध्यमका रूपमा प्रयोग गरेका छन्,’ इन्स्पेक्टर थापाले भने, ‘राजविराजबाट १२ किलोमिटरको दूरीमा रहेको भारतीय खुला सिमाना तथा लामो समयसम्म भूमिगत संगठनका नाममा भएको सशस्त्र द्वन्द्वको समयमा भित्रिएका हतियार पूर्णरूपमा नियन्त्रणमा नआएकाले युवाको हातमा पुगेको छ ।’
‘विभिन्न बहानामा नेपाल भित्रिएका हतियार अपहरण, फिरौती, चन्दा संकलन तथा बलात्कारका घटनामा प्रयोग हुने गरेका छन्,’ अधिकारकर्मी प्रकाश खतिवडा भन्छन्, ‘हतियारको जथाभावी प्रयोगले सर्वसाधारण बढी आतंकित भएका छन् ।’ ‘२८ असारमा उपभोक्ता समिति गठन गर्ने विषयमा भएको विवादमा गोली चल्दा नेपाली कांग्रेसका सारस्वर गाउँ सभापति इन्द्रनारायण यादवको मृत्यु भएको घटना यसैको उदाहरण हो,’ खतिवडाले भने, ‘हतियार प्रयोग बढेकाले सुरक्षाको विषय गम्भीर भएको छ ।’ उपभोक्ता समिति गठनका विषयमा विवाद भएपछि स्थानीय ताराकान्त यादवले घरमा राखेको बन्दुक चलाएका थिए । घटनामा संलग्न ताराकान्त र उनका छोरा दीपेन्द्रसहित चारलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
एसपी गणेशबहादुर थापा भन्छन्, ‘बेरोजगारी, अशिक्षा, गलत संगत, फिल्मको बढ्दो प्रभाव तथा आफ्ना छोराछोरीप्रति आँखा चिम्लेर बस्ने अभिभावकका कारण युवापुस्तामा हतियार मोह बढेको छ ।’ सप्तरीमा विदेशी हतियारका तुलनामा घरेलु हतियारको प्रयोग तुलनात्मक रूपमा बढी देखिएको छ ।

प्रतिक्रिया