काठमाडौं, २४ साउन । राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक संकटको समाधान दलीय सहमतिबाट मात्र सम्भव हुने बताएका छन् । अन्तरपार्टी महिला सञ्जालद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा पनि प्रमुख दलका शीर्ष नेताहरूले सहमतिको रटान लगाएका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका क्रममा देखिएका विवादित विषय समाधान गर्न तयार भए कांग्रेस नेतृत्वमा सरकार गठन हुनसक्ने बताए । उनले भने, ‘विगतमा प्रमुख राजनीतिक दलहरूबीच भएको पॉचबु‘दे सहमतिअनुसार संविधान निर्माण गर्ने सहमति भए कांग्रेस नेतृत्वको सरकार स्वीकार्य हुनसक्छ, त्यो हुन नसके नयॉ सहमति खोजिनेछ ।’
दाहालले दलहरूबीच सहमति गरी चुनावी सरकार गठन गर्नसक्ने संकेत गर्दै सरकारको नेतृत्व नागरिक समाज, राजनीतिक दलका नेताहरू जो कोहीले पनि गर्नसक्ने बताए ।
कांग्रेस सभापति सुशील कोइरालाले वर्तमान राजनीतिक संकटको समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । त्यसका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मार्गप्रशस्त गर्नुपर्ने सभापति कोइरालाले दोहोर्याए । सबै दल आआफ्नो जिम्मेवारीपूर्वक विश्वासका साथ प्रस्तुत हुनुपर्ने भन्दै कोइरालाले विद्यमान संकट लामो समयसम्म कायम रहे मुलुक अफगानिस्तानजस्तै हुने खतरा औँल्याए ।
एमाले अध्यक्ष झलनाथ खनालले मुलुकमा राजनीतिक सहमति नै चाहिएको भन्दै विद्यमान संकट समाधान गर्न नसकिए मुलुक कहिले पनि अगाडि बढ्न नसक्ने बताए । राष्ट्रिय सहमतिको सरकारले मात्र विद्यमान संकट समाधान गर्न सक्छ भन्दै अध्यक्ष खनालले त्यसका लागि अब सबै दल नयॉ ढंगले अघि बढ्नु जरुरी रहेको बताए ।
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले पनि संकट समाधानको एकमात्र बाटो सहमति भएको बताए । सहमति हुन नसके मुलुकको स्थिति भयावह हुने तर्क थियो वैद्यको पनि । माले महासचिव सिपी मैनालीले पनि सहमतितर्फ केन्द्रित भई दलहरूले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया