काठमाडौं, २४ साउन । एमालेको युवा संगठन युवा संघ नेपालले सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकारलाई आन्दोलनबाटै हटाउने भन्दै संघले सरकारसँग वार्तामा बस्दै नबस्ने जनाएको छ ।
‘हामी वार्तामा जाँदै–जाँदैनौँ,’ काठमाडौंमा मंगलबार भएको साक्षात्कारमा संघका अध्यक्ष महेश बस्नेतले भने, ‘यो सरकारलाई सत्ताच्युत गराएरै छाड्छौँ ।’
यो सरकार अवैधानिक भएको भन्दै अध्यक्ष बस्नेतले आन्दोलन अवधिभर मन्त्रीका गाडीलाई सडकमा गुड्न निषेध गरिएको बताएका छन् । ‘जबर्जस्ती गुडे मन्त्रीको टाउको पनि फुट्न सक्छ,’ बस्नेतले भने, ‘यसको जिम्मेवार युवा संघ नभई स्वयं मन्त्री नै हुनेछन् ।’
मन्त्री र सरकारी उच्च पदाधिकारीले बिदाको दिन पनि मोजमस्तीका लागि सरकारी गाडीको दुरुपयोग गरिरहेको भन्दै बस्नेतले त्यस्ता गाडी खोजी–खोजी कब्जामा लिई सम्बन्धित निकायमा बुझाइने बताए । उनले युवा संघको आन्दोलनका क्रममा स्कुल तथा कलेजका गाडीमा अवरोध नगर्ने बताए । उपत्यकाको हकमा बुधबारदेखि चक्काजाम एक घन्टा घटाएर बिहान ६ देखि ९ बजेसम्म कायम गरिएको उनले जानकारी दिए ।
संघले दोस्रो चरणको आन्दोलनसमेत सार्वजनिक गरेको छ । त्यसअनुसार २६ साउनमा सिंहदरबार घेराउ, २७ गते मुकुण्डो प्रदर्शन, २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन, ३१ गते मसाल जुलुस, ३२ गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।
आठ गाडी तोडफोड
संघका कार्यकर्ताले आठवटा गाडी तोडफोड गरेका छन् । मंगलबार बिहान बन्द अवज्ञा गरेको भन्दै संघका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन् । प्रहरीका अनुसार बन्दकर्ताले भक्तपुरको सल्लाघारीमा बा १ ग २२६३ नम्बरको नगरपालिकाको गाडी र बा २ ख २२३४ नम्बरको ट्रक तोडफोड गरेका छन् । काठमाडौंको चप्पल कारखानाअगाडि बा १ ज १५१५ नम्बरको ट्याक्सी, काभ्रेस्थित बनेपामा बा १ ख ६३७१ नम्बरको बस, चितवनको वीरेन्द्र क्याम्पसअगाडि बा १ क ४४९६ नम्बरको ट्रक र ना १ ह ७२७ नम्बरको टेम्पो तोडफोड भएको छ । बन्दकर्ताले हेटौंडामा ना २ ख ५०५६ र ना २ ख ९६८६ नम्बरको ट्रक तोडफोड गरेका छन् । तोडफोड गरेको भन्दै प्रहरीले चप्पल कारखानाअगाडिबाट एक युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थीद्वारा एक घन्टा चक्काजाम
विभिन्न शैक्षिक माग राखेर आन्दोलनरत आठ विद्यार्थी संगठनले मंगलबार सरकारी क्याम्पसअगाडि चक्काजाम गरेका छन् ।
काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश सरकारी क्याम्पसअगाडि मंगलबार दिउँसो १ देखि २ बजेसम्म एक घन्टा चक्काजाम गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन् । उनीहरूले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार पहिलो कार्यक्रम गरेका हुन् । विदेशी नाममा राखिएका उच्च माध्यमिक विद्यालय तथा कलेजका नाम परिवर्तन गर्नुपर्ने, शुल्क घटाउनुपर्नेलगायत माग राखेर विद्यार्थी संगठन आन्दोलित छन् । उनीहरूले बुधबार ७५ वटै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने जनाएका छन् ।
प्रतिक्रिया