प्रशासनमै नागरिकता छाडेर युवक फरार

राजविराज : नक्कली नागरिकताबाट एमआरपी (मेसिन रिडेबल पासपोर्ट) लिन आएका एक युवक जिल्ला प्रशासन कार्यालयबाट भाग्न सफल भएका छन् ।
१२ असार ०६८ मा मोहम्मद अफताव मियाँका नाममा बनेको नागरिकता लिएर एमआरपी बनाउन आएका युवकले नागरिकतामा शंका लागेपछि प्रशासनले उनलाई केरकार गरेको थियो । नागरिकतामा होलोग्राम, नागरिकता प्रदान गर्ने व्यक्तिको हस्ताक्षर तथा अन्य विभिन्न कमजोरी देखिएपछि आफूले केरकार गर्ने क्रममा युवक भागेको प्रशासनका कार्यालय सहायक विलक्षण यादवले बताए ।
युवक भागेपछि यादवले एक किलोमिटरसम्म पछयाएका थिए । नागरिकतामा बाबुको नाम मोहम्मद ताहिर मियाँ र ठेगाना पटेर्वा–८ उल्लेख गरिएको छ । फरार युवकले भाग्ने क्रममा २१८५३०/७३० नम्बरको नागरिकतासमेत छाडेर गएको यादवले बताए । नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत जयनारायण यादवको हस्ताक्षर छ ।
तर कार्यालयका कर्मचारीले नागरिकतामा कार्ड, होलोग्राम, हस्ताक्षर, नागरिकता नम्बरलगायतका सम्पूर्ण तथ्य नक्कली भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत होमनाथ खत्रीले नागरिकता नक्कली पाइएकाले आवश्यक कारबाही सुरु गरेर फरार युवकको खोजी भइरहेको बताए । (सौस)

प्रतिक्रिया