निजामतीभन्दा पाँच वर्ष बढी जागिर खान्छन् त्रिविका कर्मचारी

काठमाडौं, २२ साउन । निजामती कर्मचारीले ५८ वर्षको उमेरमा अनिवार्य अवकाश पाउँछन् तर निजामती कर्मचारीबाट निकासा भएको तलबभत्ता खाने त्रिभुवन विश्वविद्यालयका कर्मचारी भने ६३ वर्षको उमेरसम्म जागिर खान पाउँछन् । निजामतीभन्दा त्रिविका कर्मचारीले पाँच वर्ष बढी सेवासुबिधा लिँदा शिक्षा मन्त्रालयका कर्मचारीको चित्त दुखाइ रहेछ ।
त्रिविका कर्मचारी गैरकानुनी रूपमा ६३ वर्षसम्म काम गरेका त होइनन तर एउटै प्रकृतिको काम गर्ने निजामती सेवामा भने राज्यबाटै ठूलो भेदभाव भएको महसुस मन्त्रालयका कर्मचारीले गरिरहेका छन् । त्रिविका कर्मचारीलाई तलबभत्ता निकासा गर्ने शिक्षा मन्त्रालयका कर्मचारी ५८ वर्षमा अवकाश पाउने तर सरकारको अनुदानमा सञ्चालित त्रिविका कर्मचारी भने ६३ वर्षसम्म जागिरमा रहन पाउने असमान व्यवस्था भन्दै उनीहरूले आवाजसमेत उठाउन थालेका छन् ।
निजामति कर्मचारी सेवासर्तले उमेरको हद ५८ वर्ष तोकेको छ । त्रिविको नियमले भने कर्मचारीको उमेर हदबन्दी ६३ वर्ष तोकेको छ ।
यसमा नीतिगत त्रुटि भएको भन्दै मन्त्रालयका कर्मचारीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षणसमेत गराएका छन् । मन्त्रालयको आर्थिक प्रशासनका उपसचिव योगराज पोखरेलले राज्यले असमान व्यवहार गरेकाले समान गराउनका लागि आवाज उठाइरहेको बताए ।
‘माथिल्लो निकायमा पनि महसुस भएको छ तर समान बनाउने काम भने अगाडि बढेको छैन,’ उपसचिव पोखरेलले भने, ‘त्रिविका कर्मचारीको दायित्व ६३ वर्षसम्म सरकारले नै बेहोरेको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले पनि यसमा ध्यान दिनु जरुरी छ, एउटै प्रकृतिको काम गर्नेलाई फरक व्यवहार गरिनुहुन्न ।’ त्रिविका प्रशासन र लेखा शाखाका कर्मचारीलाई विशेष सुबिधाको खाँचो नरहेको उनको भनाइ छ ।
रकम निकासा दिने ठाउँमा रहेका उनले भेदभावपूर्ण नीतिबाट ‘पिन्च’ पर्ने गरेको गुनासो गरे । भने, ‘कहिलेकाहीँ हामी पनि ६३ वर्ष उमेरको हद भएदेखि सचिव भइन्थ्योजस्तो लाग्छ, त्रिविको व्यवस्था देखेर पिन्च हुन्छ ।’ निजामति कर्मचारीसरहको सेवा सुबिधाको व्यवस्था गरे त्रिविको आर्थिक संकटमा समेत केही सुधार आउने दाबी उनले गरे ।
शिक्षासचिव किशोर थापाले त्रिविका कर्मचारीको उमेर हद ६३ वर्षसम्म र निजामती कर्मचारीको ५८ वर्ष तोकिनु सुहाउँदो नभएको प्रतिक्रिया दिए । ‘प्रोफेसरले धेरै समय काम गर्नु ठीक हो तर कर्मचारीको निजामतीसरह हुनुपर्ने हो,’ सचिव थापाले भने, ‘यस विषयमा हामीले केही सोचेका रहेनछौँ, यो राजनीतिक तहमा कुरा उठाउनुपर्ने विषय हो ।’
नेपालीको औसत आयु बढेकाले निजामतीको जागिरको उमेर हद बढाउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया