काठमाडौं, २२ साउन । रौतहट चन्द्रनिगाहपुरका मुकेशकुमार बैठाले काठमाडौंमा क्यान्डी (चिनीबाट बनेको गुलियो मिठाई) बेच्न थालेको पाँच वर्ष भयो । उनको उमेरका साथीहरूले एसएलसी पास गरिसके । १५ वर्षका बैठाले भने कत्ति पनि पढेका छैनन् ।
बुबा वीरलाल बैठाले अरूको बारीमा खेतीपाती लगाउँछन् । आमाको नामसमेत थाहा नपाएका उनी दुई बहिनी, तीन भाइमध्येका माइला हुन् । दिनमा ६/७ सय कमाउने उनलाई साहुले भने महिनाको ४ हजार दिन्छ । ‘कमाएको सबै पैसा घर पठाउँछु,’ बालव्यवसायीले भने । बैठाका दुवै भाइ काठमाडौंका चोक–चोकमा क्यान्डी बेच्छन् । ‘मसँगैको जुम्ल्याहा भाइ र म एउटै साहुकामा काम गर्छाैं,’ उनले सुनाए । भाइ लक्ष्मण बैठा भने काठमाडौंमा यस्तो काम गर्न आएको एक वर्ष मात्र भयो । उनले पनि दिनमा ४/५ सय कमाइरहेका छन् । जुम्ल्याहा दाजुभन्दा उनी अग्ला र मोटा भएकाले साहुले उनलाई महिनाको ५ हजार दिएको छ । उनीसँग सरकारी शिक्षाको कत्ति पनि अनुभव छैन ।
रौतहटका पुजल सहन्नी पनि उनीहरूसँगै काम गरिरहेका छन् । विद्यालयमा शिक्षकले नजानेको भन्दै कुटेपछि दुई कक्षा पढ्दा पढ््दै छाडेर उनी एक वर्षअघि काठमाडौं आएका हुन् । दिनभरि सहरका विभिन्न ठाउँमा क्यान्डी बेच्न जान्छन् । उनका बुबा माछा मार्ने काम गर्छन् । उनका तीन भाइमध्ये उनी माइला हुन् । पढाइ छाड्नेबित्तिकै व्यवसायमा लागेका १३ वर्षीय सहन्नी दिनमा ४/५ सय कमाउँछन् ।
रौतहटकै लालबाबु पइत १६ वर्षका भए । उनको उमेरका साथीहरूले एसएलसी पास गरिसकेका छन् । उनी भने काठमाडौंमा क्यान्डी बेचिरहेका छन् । उनको आºनै जग्गा छ । आमाबुबा किसान हुन् । उनलाई पढ भनेर कक्षा एकमा भर्ना गरिदिएका थिए बुबाले तर शिक्षकले कुटेपछि उनलाई पढ्न मनै लागेन रे † ‘बुबाले त पढ भन्थे मैले पढिनँ’ पढ्न नपाएकामा कत्ति पनि दु:ख लाग्दैन उनलाई । घरमा आमाबुबालाई काममा सघाइरहेका उनी एक वर्षअघि यस्तो काम गर्न काठमाडौं आएका हुन् । काम गरेबापत उनी ४५ सय महिनाको पाउँछन् । खान, बस्न साहुले नै खर्च गर्ने भएकाले उनको सबै पैसा बचत हुन्छ । उनले पनि जागिरको सबै पैसा घर पठाउँछन् । रौतहटकै विष्णु नाथ साहुको कोठामा नरदेवीमा राति सुत्छन् उनीहरू ।
क्यान्डी बेच्ने काममा लागेका प्राय: बालबालिका पढेका छैनन् । कतिपयले पढ्न पाएका छैनन् । तर, उनीहरूलाई पैसा चिन्न भने गाह्रो हँुदैन । हिसाब नजानेर व्यापारमा कुनै दिन घाटा व्यहोर्नुपरेको छैन । बिहान सबैजना फरक–फरक ठाउँमा जाने उनीहरू हिँडेरै काठमाडौंका चोक, गल्ली–गल्लीमा पुगेका छन् । साँझ भने वसन्तपुरमा जम्मा हुन्छन् ।
सबैभन्दा बढी डर उनीहरूलाई सडक बालबालिकाको छ । ‘उनीहरूले हाम्रो सामान र पैसा लुट्छन, त्यसैले हामी उनीहरूबाट बचेर हिँड्छौँ,’ लक्ष्मण बैठाले सौर्यसँग भने । केही दिनअघि दुईजनाको ४/४ सय रुपियाँ लुटेको पनि उनीहरूले सुनाए । उनीहरू दसैँ–तिहारमा घर जान्छन् । पैसाका अलावा साहुले खान, बस्न र कपडा दिइरहेको छ । गरिबी, शिक्षा प्रणाली, सानै उमेरमा अभिभावकको मृत्यु आदि बाध्यताले पढ्ने उमेरमा उनीहरूलाई बालव्यवसायी बनाएको छ । व्यवसायमा आम्दानी गरिरहेका उनीहरू पढ्न नपाएकामा कोही पनि दु:खी छैनन् ।
प्रतिक्रिया