सेयर बजारमा सुधारको संकेत

काठमाडौं, २१ साउन । सेयर बजारमा सुधारको संकेत देखिएको छ । राजनीतिक दलहरू बीचको दूरी बढे पनि नेप्सेमा केही सुधारको संकेत देखिनुले लगानीकर्तामा झिनो उत्साह थपिएको छ । चालु आवदेखि नेप्सेको कारोबार प्रणालीलाई अत्याधुनिक बनाई दोस्रो बजारको कारोबार क्षेत्र अझ व्यापक बनाउने, अनलाइन कारोबार सुरु गर्ने, नेप्सेलाई आइएसओ प्रमाणित संस्थाको रूपमा विकास गर्ने, निजीकरण प्रक्रियालाई तीव्रता दिई रणनीतिक साझेदार आकर्षित गर्ने कुरालाई सरकारले अघि सारेको छ ।

त्यसैगरी स्टक मार्केटमा वैदेशिक लगानी भित्र्याउने, नेप्सेको संरचनागत परिवर्तन गर्ने, खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर खरिद/बिक्री गराउने उद्देश्यले स्थापित ओटिसी बजारको महत्त्व बुझाई कारोबार गराउने, स्टक एक्सचेन्जको संरचनात्मक परिवर्तन गरी समयानुकूल बनाउने, रियल सेक्टर कम्पनीलाई बजारमा ल्याई वित्तीय क्षेत्रको प्रभुत्व कम गर्नेलगायतका बजार विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता नेप्सेले व्यक्त गरेकोले पनि बजारमा केही सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ ।
सेयर बजारमा १५ लाख लगानीकर्ता रहेको तथ्यांक छ । अति संवेदनशील क्षेत्रको रूपमा रहेको सेयर बजारलाई कमजोर राजनीति संयन्त्रले सबैभन्दा बढी प्रभाव पारिरहेको छ । तरल राजनीतिक अवस्थामा नीति नियममा हुने हेरफेरले गर्दा सेयर बजारप्रति सरकारले हेर्ने दृष्टिमा परिवर्तन आउने अपेक्षाले पनि बजारप्रति विश्वासको वातावरण बन्न सकिरहेको छैन । यसतर्फ पनि सरकारले सोच्नुपर्ने खाँचो बढेको छ ।
अहिले बैंकहरूमा तरलतामा केही सुधार देखिएकोले उनीहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् भने कर्जा प्रवाहमा दिने दर पनि घट्दो अवस्थामा रहेको थियो तर यसैबीच राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत वाणिज्य र विकास बैंकले जम्मा गर्नुपर्ने अनिवार्य नगद अनुपात (सिआरआर) को सीमा बढाएको छ । पाँच प्रतिशत रहेको सिआरआर अनुपात वाणिज्य बैंकको हकमा ६ प्रतिशत पुर्‍याइएको छ । १ प्रतिशत सिआरआर बढ्दा बैंक तथा वित्तीय संस्थाले थप १० अर्ब रुपियाँ राष्ट्र बंैकमा जम्मा गर्नुपर्ने हुन्छ । यो रकममा बैंकहरूले ब्याज पाउँदैनन् । यो भनेको लगानी घट्नु हो । सिआआर बढ्नुले बैंकलाई ऋणको ब्याजदर नघटाउनतर्फ सहयोग पुर्‍याउँछ । यसले सेयर बजारमा केही असर पार्न सक्ने संकेत देखिएको छ । तर पनि अबका दिनमा सेयरमा ओरालो लाग्नुपर्ने अवस्था अलि कमै मात्रै देखिएला भन्ने अनुमान गर्न सकिन्छ किनकि लामो समयदेखि प्रतीक्षामा रहेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएस) आउने भएको छ ।
५ वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा ९० प्रतिशतसम्म लगानी गर्थे । त्यतिखेर राष्ट्र बैंकले ५० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीति ल्याएपछि बजार प्रभावित भएको सर्वत्र गुनासो बढेको थियो । यो नियमलाई राष्ट्र बंैकले समयसापेक्ष रूपमा परिवर्तन गरी बंैक तथा वित्तीय संस्थालाई सेयर धितो कर्जा गर्न सक्ने व्यवस्था गर्‍यो । आव ०६७/६८ को अन्त्यमा आएर केन्द्रीय बैंकले घरजग्गा कर्जा तथा सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा लिँदै आएको नीतिलाई खुकुलो बनायो । उसले बंैक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमालाई पनि हटायो ।
सेयर धितोमा लगाइएको बन्देज हटेपछि बैंक तथा वित्तीय संस्था आफैले धितोको जोखिम मूल्यांकन गरेर सेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन् । यसअघि सेयर धितोको ६० प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था थियो । पछिल्लो समयमा आएर नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकरको कामलाई बढी प्रभावकारी बनाउनेतर्फ काम गरिरहेको छ । सेयर खरिदमा ब्रोकर नै विभिन्न बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाहको माध्यम बन्न सक्ने अवस्था ल्याउनेतर्फ बोर्डले काम अगाडि बढाएकोलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । अर्थ मन्त्रालय पनि सेयर बजारतर्फ संवेदनशील बनिरहेको छ । सेयर खरिदको बिलबाट लोन पाउने व्यवस्था सुरु हुनुले पनि बजारमा केही सुधार देखिएको मान्न सकिन्छ ।

नेप्से ६ अंकले बढयो
काठमाडौ : गत साता नेप्से परिसूचक ६ दशमलव १८ अंकले वृद्धि भई ४ सय २ दशमलव २१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा एक दशमलव ६९ अंकले बढेको छ । गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय १० कम्पनीको कारोबार भएको थियो जसमा ५ हजार ३ सय ६१ कारोबारबाट २० करोड ८० लाख ७३ हजार रुपियाँबराबरका ६ लाख ९० हजार ५ सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए ।
यसभन्दा अघि पनि १ सय १३ कम्पनीको कारोबार भएको थियो जसमा ७ हजार ५ सय ५ कारोबारबाट ४६ करोड ७० हजार रुपियाँबराबरका १४ लाख ५४ हजार ६ सय ७१ कित्ता शेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ५४ दशमलव ८४ प्रतिशतले ह्रास भएको पनि नेप्सेले जनाएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १४ करोड ५६ लाख रुपियाँबराबरको कारोबार भएको छ । यो कुल कारोबारको ७० प्रतिशत हो । कारोबार रकमको आधारमा ३ करोड ४५ लाख रुपियाँको सेयर किनबेच गरी चिलिमे हाइड्रोपावर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर १ लाख ३९ हजार १ सय ८० कित्ताको आधारमा किस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा ३ सय ६५ वटालाई आधार मान्दा पनि चिलिमे हाइड्रोपावर नै अग्रस्थानमा देखिएको छ । साताका उत्कृष्ट पाँच कम्पनीमा चिलिमे हाइड्रोपावर, एभरेस्ट बैंक, किस्ट बैंक, बैंक अफ काठमाण्डू, नबिल बैंक रहेका छन् । गत साता पनि स्टक एक्सचेन्जमा संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

प्रतिक्रिया