गृहयुद्ध उन्मुख सिरिया

दमास्कस : गत अप्रिल महिनाको पहिलो साता सिरियाका लागि विशेष दूतमा नियुक्त भएपछि कोफी अन्नानले भनेका थिए– सिरियामा गृहयुद्ध हुने डर यतिखेर विश्वमा छाएको छ, मेरो मनमा पनि त्यो डर छ, त्यसैले मैले त्यहाँका नागरिकलाई गृहयुद्धबाट बचाउन सक्दो प्रयास गर्नेछु । तर, यो चिन्ता व्यक्त गरेको ठीक चार महिनापछि संयुक्त राष्ट्रसंघ र अरब लिगका विशेष दूत रहेका अन्नानले आफूलाई सो दूतका रूपमा अब म्याद नथप्न दुई दिनअघि मात्र आग्रह गरेका छन् किनभने यतिखेर सिरियामा गृहयुद्ध सुरु भइसकेको छ, उनले जे नहोस् भनेर लडेका थिए, आखिर त्यही भएको छ ।
करिब १८ महिनाअगाडि सिरियाली नागरिकले सुरु गरेको सरकारविरोधी आन्दोलनले करिब एक महिनाअघिदेखि गृहयुद्धको रूप लिएको छ । पहिला आन्दोलनकारी भन्ने विश्वका समाचार समितिले पनि अहिले आएर सिरियाली आन्दोलनकारीलाई विद्रोही भन्न थालेका छन्, किनभने ती आन्दोलनकारीका हातमा यतिखेर बन्दुक आइसकेको छ । गएको करिब दुई महिनाअघिदेखि सिरियाली आन्दोलनकारीले आफ्नै सेना बनाएका छन् र अहिले उनीहरूले पनि सरकारी सेनाले जस्तै हवाई एवं हतियारबाट आक्रमण थालेका छन् । बितेका केही सातादेखि सिरियामा विद्रोहीले सरकारी सेनाको हत्या गरेका समाचार आउन थालेका छन् । यसरी प्रतिदिन त्यो देश गृहयुद्धको चपेटामा परिरहेको छ ।
देशमा शान्ति स्थापना गर्ने र अन्दोलनकारी एवं सरकारी पक्षलाई प्रजातन्त्र स्थापनाका लागि मनाउने उद्देश्यले दूत तोकिएका अन्नानले हार खाइसकेका छन् । उनको शान्ति प्रस्ताव असफल भइसकेको मात्र होइन, अहिले त सिरियामा सरकारी सेना र विद्रोही पक्ष नै कसले कति मानिस मार्ने भन्ने होडमा उत्रिएका छन् । तर, बढी मात्रामा नागरिक नै सरकारी सेनाको दमन र यातनाबाट पीडित बनेका छन् । फ्रान्सेली समाचार समिति एएफपीसँग अन्नानले यही शुक्रबार भनेका छन्– सिरियाबारे विश्व समुदाय चिन्तित हुन सकेन, म एक्लैले मात्र गरेर के हुन्छ र ? विशेषगरी चीन र रुसले यस विषयमा सहयोग नगर्दा त्यहाँको शान्तिप्रक्रियाले गति लिन सकेन, सार्थक बन्न सकेन ।
सिरियामा जनआन्दोलन सुरु भएको करिब १८ महिना भयो र आन्दोलनमा जारी हिंसामा परेर २० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । तैपनि यो हत्याको शृंखला कहिलेसम्ममा रोकिने हो भन्ने अझै अनिश्चित र अनिर्णीत छ । पछिल्लो परिस्थितिले अवस्था झनै अन्योलपूर्ण बनाइदिएको छ । सिरियामा जे नहुनु थियो त्यही भइरहेको छ, अब गम्भीर नहुने हो भने सिरियाली नागरिकका आगामी दिन झनै कष्टपूर्ण र असुरक्षित हुनेछन्– संयुक्त राष्ट्रसंघका महासचिव बान की–मुनले भनेका छन् । बारम्बार अनुरोध गर्दा पनि राष्ट्रपति असदले विश्व समुदायको आवाजलाई नसुनेजस्तो गरेरै नागरिकको हत्या गरिरहेकाले अबका दिन यही हालतमा रहन दिन नहुने उनले बताए ।
सिरियामा गृहयुद्ध मात्र होइन, आत्मघाती बम हमलाका खतरनाक कार्य पनि भित्रिएका छन् । केही साता मात्र अघि सिरियाली रक्षामन्त्रीको यस्तै हमलामा परी हत्या भएको छ । यस्तो खतराले आगामी दिनमा अरू कति नागरिकलाई सिकार बनाउने हो, त्यो त्रासले सबैलाइ पिरोलेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान की–मुनले अप्रिल पहिलो साता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा भनेका थिए– मध्यपूर्वी राष्ट्रहरूमा सन् २०११ को सुरुदेखि थालिएको अरब क्रान्तिमा सबैभन्दा क्रूर आन्दोलनका रूपमा सिरिया परिचित छ र यो क्रूरताको क्रमले अब धेरै दिन निरन्तरता पाउने छैन । यो भनाइको चौथो महिनासम्म त्यहाँको क्रूरता जारी छ । चार दशकदेखि आफू र
आफ्ना परिवारद्वारा एकछत्र शासन चलाउँदै आएका राष्ट्रपति असदले जनआक्रोश मत्थर पार्न गरिएका विभिन्न प्रक्रियालाई अमेरिकालगायत विश्वका कुनै पनि राष्ट्रले पत्याएनन्, जसरी सिरियाली नागरिकले पत्याएका थिएनन् । (एजेन्सी)

प्रतिक्रिया