काठमाडौं, २० साउन । विदेशी नाम राखेका शिक्षण संस्थालाई ६ महिनाभित्र स्वदेशीपन झल्कने नाम परिवर्तन गर्न शिक्षा बिभागले प्रस्ताव गरेको छ ।
६ महिनाभित्र विदेशी नाम परिवर्तन गरेमा सुबिधा दिने सहितको प्रस्ताव बिभागले शिक्षा मन्त्रालयमा पठाएको हो ।
बिभागका निर्देशक टेकनारायण पाण्डेले ६ महिनाभित्र नाम परिवर्तन गरेमा जिल्ला शिक्षा समितिलाई तिर्नुपर्ने शुल्क नलाग्ने प्रस्ताव मन्त्रालयमा पठाएको जानकारी दिए ।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले विदेशी नामका शिक्षण संस्थाका बारेमा राजधानीमा गरेको कार्यक्रममा निर्देशक पाण्डेले भने, ‘जिल्ला शिक्षा समितिको शुल्क फरक फरक छ, ६ महिनाभित्रमा परिवर्तन गरेमा त्यो शुल्क नलाग्ने प्रस्ताव गरेका छौं ।’
निर्देशक पाण्डेले विदेशी नाम राख्ने कुरा विश्वब्यापीकरणको बिकृति भएको बताए । उनले शिक्षण संस्थालाई शहरबाट गाउँ जान प्रोत्साहन गर्ने तर गाउँबाट शहर आउन निरत्साही गर्ने पनि उल्लेख गरे ।
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले विदेशी नामाकरण परिवर्तन गरेर स्वदेशी राख्दा कुनै समस्या नहुने दाबी गरे । ‘नेपालमा विदेशी नाम राख्न जरुरी छैन,’ उनले भने, ‘विदेशी नामको स्वीकृति दिने र लेख्ने दुवै बेइमानी हुन् ।’ दोष स्वीकार गरेर सुधार गर्नुपर्ने उनको सुझाव छ ।
उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य–सचिव भीमलाल गुरुङले कक्षा ११ र १२ मात्र चलाएका शिक्षण संस्थाको नाममा परिषद् जिम्मेवार रहेको बताए ।
सदस्यसचिव गुरुङले भने, ‘नाम जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिने हो, स्कुलको नाम जे छ त्यसमै हामीले सम्बन्धन दिनुपर्छ ।’
११ र १२ मात्र सञ्चालन गरेकाहरुलाई नाम परिवर्तन गर्दा नेपालीपनमा मात्रै स्वीकृति दिएको उनको दाबी छ । प्रक्रिया पुराएर नाम परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
उच्च माध्यमिक विद्यालय संघ (हिसान)का उपाध्यक्ष रमेशकुमार सिलवालले सम्बन्धन लिएर सञ्चालन गरेका शिक्षण संस्था र विद्यार्थीमाथि आक्रमण होइन स्वीकृति दिने विरुद्ध आन्दोलन गर्न विद्यार्थी संगठनलाई आग्रह गरे ।
विद्यार्थी संगठनहरुले भने विदेशी नाममा राष्ट्रियतामाथि नै ठूलो आघात पुगेको दाबी गरे ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले राष्ट्रियता जोगाउन आन्दोलन आवस्यक रहेको बताए । उनले भने, ‘विदेशी नामाकरणले राष्ट्रियता कमजोर भयो ।’
अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष जागृत रायमाझीले तस्करदेखि ब्यापारी सबैले शिक्षामा लगानी गरेका कारण बिकृति आएको दाबी गरे ।
नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का संयोजक शरद रसायलीले विदेशी नाम हटाउने कुरामा कुनै सम्झौता नगर्ने बताए ।
नेविसंघका नेता लेखनाथ पोखरेलले विदेशी नाम राख्नु संवेदनशिल कुरा भएको र केही त्यस्ता संस्थाले चन्दासँग जाडेर विद्यार्थीलाई बदनाम गराउन खोजेको आरोप लगाए ।
मधेशी विद्यार्थी फोरम नेपालका अध्यक्ष अशोक यादवले नेपाली विद्यार्थीलाई नेपालीपन दिनुपर्ने खाँचो औल्याए ।
प्रतिक्रिया