परालको माचका केटाकेटी र गंगीको दर्शन


भदौ नलाग्दैको भदौरे दर्के पानी, दरबारमार्गको सडकमा सानोतिनो भेल जम्मा हुँदै छ । ओत खोज्दै एउटा होटेलको बगलमा उभिन पुगेको म शरीर झट्कारेर पानीका ठूला थोप्ला टक्टक्याउँदै छु । बाछिटाले भिजेको लुगा अख्रिँदै गर्दा शरीरबाट तातो बाफ उडेर गयो । सिसाको पानी वाइपरले पन्छाउँदै एउटा कार मेरो अगाडि रोकियो । पानीले अपारदर्शी बनाएको सिसाभित्र मानिस दृष्टिमा आउन सहज थिएन र मैले नियालेर हेर्ने कोसिस पनि गरिनँ । बरु, शरीरका लुगा जतनसाथ सिउरिँदै सतर्क भएँ र गाडीबाट अझ टाढा हुन खोजेँ । निमेषभित्रको यो दृश्य छिचोल्दै गाडीको झ्याल खुल्यो र त्यसभित्रबाट एउटा नारी ध्वनि सुनियो, ‘दादा कसलाई पर्खेर बस्नु भा †’ स्वर पूर्ण परिचित होइन र अपरिचित पनि थिएन । ढल्केको टाउकोबाट कपाल देब्रेतिर लतार्दै युवतीले गगल्स खोलेर चम्किला आँखा झ्यालबाट देखाएपछि बल्ल चिनेँ, ‘गंगी ।’ लामो अन्तरालको भेटमा पनि उसले शिष्टता देखाएकाले म कृतार्थ थिएँ तर उसका आँखा भावशून्य थिए । ‘कता जानुहुन्छ, आउनुस् म पुर्‍यादिन्छु’ उपकारी लयमा उसले भन्नासाथ म गाडी चढेँ र गाडीमै चढेपछि मात्र आफ्नो गन्तव्य बताएँ – ‘सोह्रखुट्टे’ ।
सम्भव भएसम्मको आधुनिक देखिएकी थिई गंगी । सायद नाम पनि फेरेर आधुनिक नै बनाएकी थिई कि † तर, मेरो दिमागको चित्रमा ऊ गंगी नै थिई । आर्य–अनार्य, हिन्दू–बौद्ध एकैसाथ जन्मेर हुर्केको समाज भएर होला मंगोल मुलकी भए पनि उसको नाम गंगी थियो । पानीको दर्के कोलाहलबाट वातानुकूलित कारको शून्यताले कान सन्न हुँदै थियो, गंगीले देशभित्र चर्काे जातीय विभेद भएको प्रसंग झिकी । निकट विगतका राजनीतिक घटना जनजातिलाई अधिकार वञ्चित गर्नैका लागि ब्राह्मणवादी सत्ताले रचना गरेको दलिल उसले प्रस्तुत गरी । ‘सदियौँदेखिको उत्पीडनबाट मुक्त हुन उठेको हाम्रो आवाजलाई कुनै दर्शनले दबाउन सक्दैन,’ जातीय मुद्दालाई दर्शनको हल्का लेप लगाएर ऊ बोल्दै गई, मैले सुनिरहेँ । पानी एकैछिनको बौलाहा रूप देखाएर बिदो भयो, म गंगीसँग छुट्टिएँ । गंगीसँग भर्खरै भएका कुराहरू मेरा पुराना स्मृतिसँग पौठेजोरी खेल्दै दिमागका पत्रमा आहोरदोहोर गर्नथाले, जहाँ पहिलोचोटि ऊसित मेरो भेट भएको थियो ।
०००
शरदको कुनै दिन, काभ्रेको तिमाल डाँडाबाट देखिने ग्रामीण दृश्य हेरिरहेको छु । डाँडाको काखमा सरमथली गाउँ, सेतो र रातो माटोले पोतिएका छ्यास्मिस घरहरू । सेता घरका आँगनमा गोबरले लिपिएका तुलसीका मठ र राता घरका धुरीमा गाडिएका बहुरंगी बौद्ध झन्डा । नजिकै नमोबुद्धबाट गौतम बुद्धका अर्धमुदित नयनहरूले शान्तिको ज्योति फालेजस्तै र गाउँको बीचमा रहेको शिवालयबाट मनिसहरूले अपूर्वशक्ति फेला पारेजस्तै । आहा † धर्मको यो कस्तो कम्बिनेसन, जातको यो कस्तो अन्तरर्घुलन † फरक जात, बेग्लै धर्मका अनेक बिरुवा एकै ठाउँमा हुर्काउन सक्ने कस्तो माटो † संसारभरका पुस्तकालयमा पाइने सभ्यताका इतिहासको कुन पुस्तकमा पढ्न पाइन्छ होला यस्तो † तल तरेली परेका खेतका गह्रा, त्यहाँ सुकाइएको धानको निहिन, हिमालबाट बहेको बतासले परालको हल्का बासना पिँmजाइरहेको । खेतको सिरानतिर परालको माचमा केटकेटीहरू खेलिरहेका । तिनीहरूका पनि विभिन्न जात, धर्म र दर्शन छन् । जात, धर्म र संस्कारको वास्ता नगरी उनीहरू खेलिरहेका छन् । लाग्यो, यो विविधताले प्रवाह गरेको मानवीय धर्म र दर्शन कहिले नाश होला र †
मानवीयताको धर्ममा उनिएको नेपाली समाज र यसले मनमा दिने अनौठो शान्ति, कार्लमाक्र्सले व्याख्या गरेको ऐतिहासिक भौतिकवाद, फायरबाख वा हेगेलले अगाडि सारेको द्वन्द्वात्मकता वा भौतिकवादमा कहाँ अटाइएको होला ? गान्धी वा नेहरूले अध्ययन गरेको समाज र यसको तादात्म्य कहाँ होला ? जीवनको मानवीय र प्राकृतिक सत्यानन्द कुन दर्शनमा पाइएला † कुन धर्ममा पाइएला † खेतको सिरानमा लहरिएको गोरेटोमा एकछिन उभिएर केटाकेटीहरू खेलिरहेको हेरेँ । एउटा कलिलो बालक नजिकै लेट्यो । नांगा पाखुरामा परालले दर्फर्‍याएर फुस्रो भएको, घिसारिएका घुँडाको एकपत्र छाला खुइलिएर हल्का रगत आएको, एकैछिन आत्तिएभैँm रोइरहेको बालकलाई एकपटक उठाएर चुम्मा खाउँजस्तो लाग्यो । मैले बालकलाई उठाएँ, ऊ झन् अलल्लिएर रोयो । नजिकै थिई एक युवती, ऊ आई र बालकलाई फुल्याई, त्यो गंगी थिई । म आर्य बाहुनको छोरो, त्यो कलिलो मंगोल बालक रुवाइको वशीकरणमा परेको गंगीले चाल पाई सायद । भनी, ‘मानवता सबैभन्दा ठूलो धर्म हो ।’ त्यसयता गंगीसँग मेरो कैयौँपटक भेट भयो तर हामीले दर्शनका विषयमा कहिल्यै बहस गरेनौँ । परालको माचमा केटाकेटीको खेल हेर्दा र दरबारमार्गमा भेट हुँदा उसले मलाई दिएको दर्शन धेरै फरक थियो, अझ पूरै विपरीत । लाग्यो, मैले कहिल्यै नाश नहुने ठानेको दर्शन दरबारमार्गमा गुडेका कारहरूले पो भत्काउँदै छन् कि †
आज सहरमा गुड्ने वातानुकूलित पजेरो र कारभित्रबाट मानिसहरू ‘जातीय दलनमा परेँ’ भन्ने चित्कार विस्तार गरिरहेका छन् । सभ्यताको विकाससँगै बनेका आर्थिक व्यवस्थाहरूको शोषणले थिचिएका हरेक जाति भोको पेटको निरर्थकतासँग एकैपटक हार खाइरहेका छन् । एक चिनियाँ किशोरले आइपड किन्न आफ्ना दुवै किड्नी बेच्यो, त्यो हान जातिको थियो सायद । जीवनको कष्टसँग हार खाएका कैयौँ नेपालीले आफ्ना सन्तानलाई नदीमा बगाएर आत्महत्या गरे, कुनै जातिवादीले उनीहरूको जीवनको दुरूहता खोज्ने कष्ट गरेन । बजारको पुँजीसँग पराजित हरेक देश, हरेक जात र हरेक धर्मका मानिस आत्महत्याको बाटो रोजिरहेका छन् । पुँजीको बजारु स्वामित्व, उपभोगको पक्षपाती वितरण, रुढ परम्पराका दलनबाट मुक्त हुन हामी जातीय राज्यका दर्शनहरूको सूत्रपात गरिरहेका छौँ । गंगीलाई भन्न मन लागेको थियो– बलिया, पढेका र बुद्धिमानले निर्धाहरूलाई, अनपढहरूलाई र कमजोर बुद्धि भएकालाई जहिल्यै थिचेका छन् । गंगी † निर्धाहरू जुनसुकै जातिका होऊन्, आफ्ना सुस्केराहरूलाई अन्तिमपटक चितामा मात्रै बिसाउन बाध्य छन् । गाउँमा हेर त † परालका माचमा सबै जातका केटाकेटी धर्म र जातको वास्ता नगरी उस्तै खेल खेलिरहेका छन् । कुन जातको मानिस मरेको छैन गरिबीले † नढाँटी भन्ने हो भने गंगीलाई पनि थाहा छ– दर्शनको जन्म मस्तिष्कबाट होइन, पेटबाट हुन्छ । भोकाएका बेला, अघाएको बेला, वेदना भएको बेला अनि खुसी भएको बेला मानिस बेग्लाबेग्लै दर्शनमा चलिरहेको हुन्छ । अझ यसो भनौँ, तिमालको सरमथलीमा भेटिएकी तिमी र कारमा दरबारमार्गमा दगुरिरहेकी तिमीबीच दर्शनको कत्रो बदलाव छ † म अनुभूत गरिरहेको छु, दुई गंगी ।
०००
गंगीसँगका कैयौँ भेट, दर्शनका विषयमा ऊसँगका दुई छोटा कुराकानी र उपभोक्तावादी समाज विकासक्रमले आफैँले भुलेका बाल्यकालका झलकहरू दिमागमा आइरहेछन् । म गाउँमा जन्मेँ, बालदौँतरीहरू प्राय: सबै तामाङ थिए । तारुण्य अवस्थामा आज म सम्झन्छु, घरमाथिको डाँडामा सन्सारी पूजा भएको । हामी पोते झाँक्री भन्थ्यौँ, धेरै बूढा, सधैँ घुँडा दोबरेर बसेकाले उनको सुरुवाल घुँडामा भुक्लुक्क उठेको हुन्थ्यो । जो सन्सारी पूजा गरेर कुखुराको बलि चढाउँथे, तितेपाती, कपुर र गोकुल धूपको धुवाँसँगै भर्खर काटिएको कुखुराको एक टुक्रा मासु लुछेर त्यहीँ पोल्थे र म मीठो मानी–मानी खान्थेँ ।
मेलै नजानेका कुराहरू पनि त्यसपछि जान्दै गएँ, उनको र मेरो जातमा कत्रो ठूलो अन्तर छ, धर्ममा कत्रो ठूलो अन्तर छ † म बालक छँदै उनी मरे, चिहान डाँडामा लैजाने मलामीको ताँती गन्दै गर्दा मेरो घाँटीमा कस्तो–कस्तो हिक्का अड्किएको थियो । उनको घेवा (मृत्युकर्म) मा भात मुछेर तयार गरिएको सोल्मो (मूर्ति) मा घन्टौं टोलाएर उनको अनुहार खोज्थेँ म । सातो जोगाउन आमाले मजेत्रोको फेरले मेरो आँखा छोपेको, सन्सारी पूजा हुने शनिबारका दिन डाँडामा म एक्लैले ती झाँक्री बाजेलाई कुरेको म सम्झिरहेको छु । भर्खरै छुट्टिएकी एनजिओकर्मी गंगी, परालको कुन्युँमा खेलिरहेका केटाकेटी र पोते झाँक्री सबैलाई कैयौँ पटक दिमागमा खेलाउँदै म रत्नपार्क आइपुगेँ । माइक्रोबसको खलासीले भन्यो, ‘छिटो ओर्लिनुस् ।’ म माइक्रोबसबाट ओर्लेर बाटो लागेँ ।

प्रतिक्रिया