गरिबका धनी सपनाहरू


चार वर्ष पूरा भयो म काठमाडौं छिरेको । सपनै–सपना मनभरि सँगालेर मैले प्रवेश गरेथेँ यहाँ । अंग्रेजी साहित्यमा एमए गर्ने मनसायले यसैलाई केन्द्रबिन्दु बनाएँ । विपनामा अनुवाद भए भने कुन सपनामै सीमित छन् । म पनि एक सपनाप्रेमी मान्छे, साधनारत छु यसको पूर्णताका निम्ति ।
म बेलाबेला गाउँ पनि जाने गर्छु । यसपालि पनि गएँ । म यात्रा गर्न सोखिन छु किनकि मैले राम्ररी बुझिसकँे यात्राको महत्त्व । यात्रा जीवन्त शिक्षा प्राप्त गर्न एकदम महत्त्वपूर्ण छ । धुँवा धुलोसँग पैठेजोरी खेल्दाखेल्दै हैरान भएर मुक्ति खोजिरहेको बेला इलाम यात्रा मेरो निम्ति रामवाण साबित भयो । प्रदूषणसँग छुटेर हरियालीसँग मितेरी गाँस्न पाउँदा एकदम खुसी लाग्यो । कलकल गरिरहेको स्वच्छ नदीको आवाजले मेरो कवि मनलाई बहलाइदियो । म गदगद भएँ, त्यहाँको प्राकृतिक सुन्दरताले भिजेर । हाइवे आसपासका घरमा आँगनभरि गुलाब र अन्य फूल अनि बार्दलीका गमलाभरि बेगुनियाहरू फुल्ने सुरसार गरिरहेका थिए । वर्षायामको स्वागतस्वरूप भुइँकुहिरोको साम्राज्य सुचारु भइसकेको थियो । कर्म घर इलामसम्म पुगँे । मोफसलका लेखक देवेन्द्र सक्तेनसँग भेटघाट भयो । पाँचथर र इलामको सीमारेखा छुट्याउने लेकाली ठाउँ राँकेमा कफी पिउँदै उहाँसँग साहित्यिक कुराकानी गर्न पाउँदा एकदम खुसी लाग्यो । मैले काठमाडौंको साहित्यिक माहोलबारे उहाँलाई बेलिविस्तार लगाएँ ।
केही दिन प्राकृतिक सुन्दरतामा रुमल्लिएर बिते । विशेष कारणवश बसाइ अलि लम्बियो । मैले बिस्तारै महसुस गर्दै गएँ दुर्गमताको पीडा । पहिला–पहिला गुलजार लाग्ने त्यही ठाउँ मलाई सुनसान अनुभूत भयो । मैले बुझेँ काठमाडौं बसाइका क्रममा म त भीडभाडमा बस्न बानी परिसकेछु । मैले पत्रपत्रिका र यताका कविहरूलाई खुब सम्झिएँ त्यसबेला । बिहान जुरुक्क उठेर मुख धोइसकेपछि पत्रिका पसल जाने र सम्पूर्ण पत्रपत्रिका हेर्न अभ्यस्त मेरा आँखाहरू पढ्न नपाउँदा निरास भए । किताबै–किताबमा बिताएको जिन्दगी किताबबाट क्षणभर पनि वञ्चित हुनुपर्दा निराशामा बदलियो । अनि, म खोजिरहेथेँ मनमनै राजधानीमा संघर्ष गरिरहेका कलाप्रेमीहरूलाई, पत्रपत्रिका र किताबहरूलाई । जुन चिजमा सपना जोडिएको हुन्छ त्यो चीजको महत्त्व अमूल्य हुँदो रहेछ । मेरो साहित्यिक सपना असर्फी भन्दा पनि महँगो छ मेरा निम्ति । जहाँ सम्पूर्ण जीवनजगत्को आद्योपान्त अध्ययन गर्न सकिन्छ । मैले ठहर्‍याएँ, साहित्य र सेलिब्रेटीको संगतविना मेरो जिन्दगी नैराश्यको सिकारमात्र बन्न पुग्छ । अक्षरविनाको कागज बन्न पुग्छ । उर्वरताविनाको मरुभूमि बन्न पुग्छ ।
जीवन जिउने सिलसिलामा अनुभवहरू लाम लागेर आउँदारहेछन् । परिस्थितिअनुसार जिउने ढंग बदलिँदै जाँदो रहेछ । त्यो खुल्ला वातावरण अनि मानिसहरू फरक अनुभव गरँे मैले । बिरानाजस्ता, अजिबलाग्दा । पहिला–पहिला म गाउँमा रहँदा/बस्दा कतै भिडभाडमा आउने काम पर्दा बिल्कुल अनौठो लाग्थ्यो । गाडीका हर्न बज्दा झर्को लाग्थ्यो । समग्रमा म कोलाहलविरोधी थिएँ । तर, काठमाडौंले मलाई बिस्तारै कोलाहलको ‘स्लो प्वाइजन’ पिलाएछ । अनि, हरेकपल्ट राजधानीबाट पूर्वाञ्चलतिर फर्किने क्रममा मैले हरेक ठाउँमा बन्द नभए पनि नेपाल बन्द भएजस्तो महसुस गर्न थालेँ । जब हामी अँध्यारोबाट उज्यालोमा पस्दा अर्थात् उज्यालोबाट अँध्यारोमा पस्दा दिमागशून्य भएको महसुस गर्छौं त्यसै गरेर भिडभाडबाट सुनसानतर्फ जाँदा मेरो दिमाग ठीक ठाउँमा आउन समय लाग्यो ।
सहरमुखी मानसिकताले मलाई पनि थाहै नपाई बेस्सरी गाँजेछ । हुन त एउटा भनाइ छ– ‘भगवानले गाउँ बनाए अनि मानिसहरूले सहर’ तर मानिसले बनाएको सहर नै हामीले बाध्यतावश प्रिय मान्नुपरिरहेको छ । कसलाई मन हुन्छ र आफूले जन्मिएको ठाउँ छोड्न ? स्वच्छ हावापानी, हरियालीको साम्राज्य, चिरपरिचित दयालु छिमेकीहरू । तर, भौतिक पूर्वाधारको अभावले गर्दा हामी आफ्नो गाउँ त्यागेर राजधानीमा दौडधुप गर्न विवश छौं । यसको अन्त्य गर्नका निम्ति हरेक पूर्वाधारहरू विकेन्द्रीकृत हुन जरुरी छ । यसका लागि हाम्रो सकारात्मक कदम आवश्यक छ । किताब, पत्रपत्रिका, रोजगारी, सञ्चार, स्वास्थ्य, यातायात आदि–आदि सुबिधा सर्वसुलभ हुनुपर्छ ।
गाउँ बसाइका क्रममा मैले गाउँका कथाव्यथा नजिकैबाट अध्ययन गर्ने मौका पाएँ । त्यसमध्ये वैदेशिक रोजगारीप्रतिको क्रेजलाई मुख्य रूपमा लिन सकिन्छ । दुई छाक खान धौधौ परेर धनसम्पत्ति कमाउने आशामा आफ्नो घरबारी नै बन्धक राखेर बिदेसिनेहरूको कहानी सविस्तार लाउने हो भने त उपन्यासै बन्छ । आफूलाई जेमा चासो छ त्यही कुराको खोजी गरिँदो रहेछ । आफू लेखक भएकाले जुनसुकै कुरालाई गम्भीररूपमा लिने बानी बसिसकेको छ मेरो । म आएको बसमा विदेशबाट लगेजसहित घर फर्किएका महिला तथा पुरुषको संख्या राम्रै थियो । महिलाहरू कुबेत र इजरायलबाट फर्किने धेरै थिए भने पुरुषहरू कतार र मलेसियाबाट । मैले उनीहरूको काम, तलब र विदेशमा रहँदा–बस्दाको अनुभवको विषयमा जिज्ञासा राखेँ ।
विदेश जानेहरूको सुखद सँगसँगै दुखद् कथा पनि त्यहीँ जोडिएर आयो । गाउँका एक पुरुषचाहिँ विदेशबाट अधुरो सपना लिएर फर्किएका थिए । रोगले आक्रमण गरेर थलिएका उनी जाँदा स्वस्थ गए पनि फर्किंदा एम्बुलेन्समा आए । अचेल उनलाई आफ्नै आँगन परदेश बनिसकेको छ । साथसाथै अर्को मर्मस्पर्शी घटना पनि मैले देखेँ । एक युवकको लास पनि आइपुग्यो विदेशबाट । परिवारका सदस्य र छिमेकीहरूको रुवाबासी । तैपनि, विदेश जाने क्रम रोकिएको छैन । म फर्किंदा पनि सँगै सिटमा बसेका साथी विदेश जानेवाला थिए । अनि, आसपासका यात्रुहरू । उनीहरूले खाडी मुलकप्रति देखेको सपना बयान गरिसाध्य छैन । मैले सोचे– ‘कति धनी हुन्छन् गरिबका सपनाहरू ।’ यी घटनाक्रमको अध्ययन गरिसकेपछि वैदेशिक रोजगारीको दुरूहतालाई सजिलै मूल्यांकन गर्न सकिन्छ । तर, पनि बाध्यताको अघिल्तिर चाहनाको अर्थ हुँदो रहेनछ । विविध जटिलताका बाबजुद पनि संघर्षले भरिपूर्ण खाडी मुलुक देवता बनेर बसिसकेको छ, गरिबको मन मन्दिरमा ।
यो यात्राका क्रममा मैले जीवनको दुर्गम अनुभव लिने मौका पाए तर एउटा कुरा मनमा खट्किइरह्यो । इलामबाट एक जिल्ला कटेर जानुपर्ने मेरो जन्मभूमि तेह्रथुमसम्म पुग्न पाइनँ । जहाँको प्रत्येक चिजबीजलाई म एकदम माया गर्छु । जसलाई म सपना, विपना, चाहना अनि कल्पनामा सजाइरहन्छु । जहाँबाट मैले आफ्नो साहित्यिक यात्राको दुर्गम कदम चालेँ । त्यहाँका पहाड, खोलानाला, जनजीवन सबै मेरो लेखनयात्राका प्रेरणा हुन् । जन्मभूमिको यादले सताए्र नियास्रोयुक्त नरमाइलो महसुस गरिरहे । ‘इच्छा मर्दैन मानुपर्छ’ भन्ने भनाइजस्तै समयको पाबन्दीका कारण मैले जन्मथलो जाने इच्छालाई जबर्जस्ती तिलाञ्जली दिएँ । बसमा सेन्टिमेन्टल गीतहरू घन्किइरहेका थिए । अनायास मेरा आँखाबाट आँसुका थोपाहरू झरेर आँचलमा टप्किए । तिनै अश्रुबुँदले मलाई अतीतको उकाली–ओरालीमा भावुकताले ओतप्रोत यात्रा गराए । खैर उ मनको नरमाइलो मनमै थाती राखेर साथीहरूलाई भनेर ल्याएको छुर्पीका टुक्रा र चियाका पोकाहरू सम्हाल्दै म राजधानीमा प्रवेश गरेँ ।

प्रतिक्रिया