“मदन पुरस्कारले अन्याय गरेको छ”

रोशन शेरचन कविता र निबन्धमा लामो समयदेखि निरन्तर लागिरहेको सक्रिय नाम हो । जन्म म्याग्दी (तत्कालीन मुस्ताङ) भई हाल काठमाडौं बस्दै आएका उनको दुई काव्यकृति– ‘शब्दहरूको देश’/०५३ र ‘सरुभक्तहरू’/०५६, दुई निबन्धसंग्रह– ‘मस्तिष्कहरूको मृत्यु’/०५८ र ‘चम्पारन ब्लुज’/०६७ प्रकाशित छन् । साहित्यलाई ‘कलाको विचार यात्रा’ मान्ने उनको निबन्धसंग्रह ‘धोबीघाट एक्सप्रेस’ चाँडै प्रकाशित हुँदैछ ।
निबन्ध लेखनका प्रारम्भिक दिनहरू कस्ता थिए ?
०५३ को कालखण्ड मेरो निबन्ध लेखनको पनि प्रारम्भिक दिन हुन् । ०५४–५७ सालताका प्रकाश साप्ताहिक, समकालीन, साप्ताहिक विमर्श र साप्ताहिक बुधबारमा लेखहरू छापिन थालेपछि, त्यसले मलाई धेरै ऊर्जा दियो । त्यसबेला आफूसँग लेख्ने विषय बग्रेल्ती छ भन्ने लाग्दथ्यो । पछि काठमाडौंमा कवि ईश्वर बल्लभसँग भेट हुँदा, वहाँले कविको कसी गद्य हो, कविता लेख्नेले गद्य लेख्नुपर्छ भन्नुभएपछि, अलि सचेत रूपमा यतातिर लागेँ ।
अहिलेसम्म निबन्ध लेखेर के पाउनुभयो ? के गुमाउनुभयो ?
पाउनुलाई खोज्नुको सापेक्षमा हेर्नुपर्छ । सिर्जनाको बाटो बढीभन्दा बढी अरूले नहिँडेको बाटो भएकाले, औपचारिक शिक्षामा जस्तो पहिल्यै डाक्टर बन्छु, अर्थशास्त्री बन्छु भनेर लागिँदैन । त्यसरी लाग्न सकिए, यो फेरि सिर्जनात्मक बाटो नै हुँदैन । लेखनको प्रारम्भमा धेरैले रहर र थोरैले आफूलाई अभिव्यक्त गर्छु भनेर आउँछ । म पनि आफूलाई अभिव्यक्त गर्छु भनेर आएँ । अहिले के पाउँछु भने त्यो आफू, आफू मात्र नभएर, नियति गाँसिएको समाजको एउटा अंग पनि रहेछ । त्यसैले राम्रो रचना, सिर्जना गर्नसक्दा र आफ्नो रचनासँग गम्भीर पाठकले अन्तरक्रिया गरिदिँदा, गहिरो सन्तोष प्राप्त गर्छु । त्यो सन्तोष सन्तोष मात्र लाग्दैन, सार्थक पनि लाग्छ । अब, आफ्नो इच्छाले हिँडेको बाटोमा, के गुमाएँ भनूँ ?
नेपाली साहित्यले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी देखिन्छ ?
मलाई लाग्छ साहित्यले राजनीतिलाई दुई प्रकारले प्रभाव पार्दछ । संक्रमणकालमा वा राजनीतिक उथलपुथलका समयमा परिवर्तनको पक्षमा जनमत सिर्जना गरेर, आम जनताको तर्फबाट परिवर्तनका निम्ति दबाब दिएर पार्दछ । स्रष्टाहरू द्रष्टा हुन् । तसर्थ द्रष्टाहरूको दबाब महत्त्वपूर्ण मात्र होइन निर्णायक पनि हुन्छ । यो विशेष समयमा हुने साहित्यिकको विशेष भूमिका हो । अरू समयमा, साहित्यले राजनीतिलाई तत्कालीन लाभ र हानीभन्दा माथि उठेर सार्वभौम सत्य र सामाजिक न्यायको दूरक्षितिज समात्न उत्प्रेरित गर्दै प्रभाव पार्दछ । पहिलो साहित्यको तत्कालीन प्रभाव हो भने, दोस्रो दीर्घकालीन ।
नेपालमा साहित्यिकहरूले राजनीतिक परिवर्तनका दौरान धेरै महत्त्वपूर्ण र निर्णायक योगदान दिएको इतिहास छ । तर, सक्रमणकाल, द्वन्द्वकालपछि भने अपेक्षित प्रभावकारी भूमिका खेलेको देखिँदैन । संक्रणकालमा, द्वन्द्वकालमा एकताबद्ध हुने साहित्यिकहरू अरू समय राजनीतिको पछिपछि कुदेको देखिन्छ ।
जीवनमा आजभन्दा १० वर्षअघि गरिएका वा लेखिएका कामहरू आज पुरानाझैँ, काम नलाग्नेझैँ भएजस्तो लाग्दैन ?
मेरो आफ्नै लेखनको सन्दर्भमा सोध्नुभएको प्रश्न होला । यो कुरा, मैलेभन्दा पाठक र समीक्षकले भन्दा बढी उपयुक्त हुन्छ । आफैँले भन्नुपर्दा, मस्तिष्कको मृत्यु (०५८) का केही लेखनहरू कामै नलाग्ने पुराना भएजस्तो लाग्दैन । उदाहरणस्वरूप, माइग्रेन्ट पीडा र जराहरू निबन्धमा धेरै ठाउँमा बसाइँ–सराइ गर्ने व्यक्तिले अनुभूति गर्ने थात–थलोप्रतिको व्याकुलता, पीडाबोध र नोस्टालजियालाई वर्णन गरिएको छ । प्रत्येक दिन करिब ८०० युवा खाडीदेश जाने गरेको र डायस्पोरा साहित्यले ठोस आकार लिँदै गरेको बेला, त्यो निबन्धको सान्र्दभिकता बढेको छ । त्यस्तै देश भित्रका दुई देशहरू मा, हाम्रो समाजभित्र कुलीन वर्ग र श्रम गरेर बाँच्ने वर्गबीचको खाडल झन्झन् बढिरहेप्रति चिन्ता जनाइएको छ । त्यो चिन्ता अहिलेको समयको चिन्ता पनि हो ।
निबन्ध लेख्नुभन्दा अगाडि नै कुनै शैली, प्रयोगको खाका बन्छ या यो पछि बन्ने कुरा हो ?
शैलीको खाकाभन्दा पनि शैली नै अघि (बचिभबमथ) बनिसकेको हुन्छ । कारण शैली बानीजस्तो हो । बन्न पनि समय लाग्छ, भत्कन पनि । प्रत्येक निबन्धको फरक शैलीको खाका बनाउँछु भन्न सकिन्छ तर गर्न सकिन्नँ ।
प्राय: लेखक आफैँले बोक्न नसक्ने किताब छाप्छन् भनिन्छ । तपाईंले लेखेका किताब कति गह्रुंगा छन् भन्ने लाग्छ ?
किताब बोक्ने भनेको किताबको भौतिक भारभन्दा पनि मानसिक भार भन्नुभएको हो भनेर म बुझ्छु । लेखक दुईथरीका हुन्छन् । पहिलो, सिर्जना तहको लेखक र दोस्रो, सिर्जनाको तहबाट स्वभावको तहमा उक्लिएको लेखक । सिर्जना तहका लेखकबाट बोक्नै नसक्ने किताब लेखिनुलाई म स्वाभाविक मान्छु । तर, स्वभावको तहमा उक्लिएका लेखक त्यस्तो गर्दैनन् । कारण दोस्रो तहका लेखक सिर्जनामात्र गर्दैनन्, रचनामा आफूले अभिव्यक्त गरेका विचारलाई बढीभन्दा बढी वहन गर्नसमेत प्रयत्नरत रहन्छन् । मेरो सन्दर्भमा, म स्वभावको तहमा उक्लिन सकिराखेको छैन । सिंगै किताब त होइन, मस्तिष्कहरूको मृत्यु का दुई निबन्ध क्रमश: ‘ईश्वरहत्या र दु:खहरूको कथा’ र ‘ईश्वरहत्या र प्रक्रियाको अनिवार्यता’ को मानसिक मनोवैज्ञानिक भार बोक्न मलाई निकै कठिन भएको थियो ।
तपार्इंले लेखेर नेपाली साहित्यलाई फाइदा के, घाटा के ?
आफैँले के भनू ? खैर, कवितामा होस् वा निबन्धमा निहित विचारको परम्परामा एउटा मात्र मज्जाले पाकेको बलियो ईंटा थप्न सकेको रहेछु भने, मैले साहित्यलाई सघाएछु, सोच्छु । फायदा हुनलाई भयंकर ठूलो, आवाज निकाल्दै, गडगडाउँदै (भबचतज कजबततभचष्लन) केही कुरा आउनुपर्छ भन्ने पनि त होइन । सानो उदाहरण, कवि समीक्षक हरि अधिकारीले मेरो निबन्ध हजार मुजा, एउटै आकाश लाई नेपाली निबन्धका पच्चीस राम्रा निबन्धमध्ये लिन सकिन्छ भन्नुभएकाले साहित्यलाई फाइदा नै पुगेको रहेछ कि, भन्ठान्छु ।
सबैभन्दा क्रियटिभ कुन काम हो ? चार घन्टा लगाएर निबन्ध लेख्नु वा चार घन्टा एकान्तमा मौन बस्नु ?
चार घन्टामात्र होइन, हप्तादिन लगाएर यदि निबन्ध लेख्न सकिए त्यो पनि क्रियटिभ काम नै हो । चार घन्टा एकान्तमा मौन बसेर, कविताको विचारविम्ब, निबन्धको विषयवस्तु सोच्न सकिए, त्यसलाई पनि क्रियटिभ काम नै भन्नुपर्छ । रचनागर्भका बेलामा बढी सोचिन्छ । त्यसैले सिर्जनालाई मानसिक निर्मिती भनियो । रचनागर्भको बेलामा जति व्यवस्थित र सघन रूपमा सोच्न सकियो, लेख्दा त्यति सहज हुन्छ । तसर्थ, मौन बस्नु क्रियटिभ काम होइन भन्नु अनुपयुक्त हुन्छ ।
साहित्यका थुप्रै विधामध्ये नेपालका सन्दर्भमा कुन बढी प्रभावकारी देख्नुहुन्छ ?
कुन प्रभावकारी होभन्दा पनि के देखेँ मैले, त्यस दृष्टिले सोच्दा, आख्यानले कथा र निबन्धका तुलनामा अलि प्रगति गरेको हो कि ? पछिल्लो समयमा कविता निकै राम्रो लेखिँदै आएजस्तो लाग्छ । तर, ती राम्रा कविता पनि नजिकका नातेदारजस्तो लाग्छ । राम्रो त हुनैपर्छ । नजिकका राम्राभन्दा, फरक राम्रो हुन्छ । कविता सरल हुनुपर्छ भन्ने वैचारिक आग्रहबाट आवश्यकताभन्दा बढी प्रभावित भएर धेरै नयाँ कविहरू कविताको नौलो क्षितिज पहिल्याउन असफल देखिन्छन् । स्वर्गीय स्वप्नील स्मृति, प्रसन्न घिमिरे केही त्यस्ता युवाकवि हुन्, जो फरक बाटो हिँडिरहेका छन् । निबन्धका हकमा दु:खका साथ भन्नुपर्छ, समग्र निबन्ध र निबन्धभित्र पनि वस्तुपरक निबन्ध धेरै कमजोर स्थितिमा छ । यात्रा वृतान्त र आत्मपरक निबन्धले टेकोजस्तो दिएको छ, तर त्यसले पुगेको छैन ।
पछिल्लो समय पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको पुस्तक कुन हो ?
गएको पाँच वर्षको समयलाई पछिल्लो समय मान्दा, आख्यानमा ‘प्रेतकल्प,’ ‘उर्गेनको घोडा,’ ‘कर्णाली ब्लुज’ र ‘लू’ प्रभावशाली लाग्यो । निबन्धमा ‘सम्झनाका कुइनेटा,’ ‘शोकमग्न यात्री’ (दोस्रो संस्करण, केही नयाँ निबन्धसहित), ‘अन्तरमनको यात्रा,’ ‘सोह्र साँझ’ हुन् । काव्य संग्रहमध्ये, ‘हतारमा यात्रा,’ ‘बिसे नगर्चीको बयान,’ ‘हजार वर्षको निद्रा’, ‘र…नि:शब्द,’ र ‘बाडुली र सुदर सम्झना’ हुन् ।
नेपाली साहित्यले हामीले भोगेको द्वन्द्व र राजनीतिका आयामलाई कुन हदसम्म पक्डिएको छ ?
युद्ध साहित्य नयाँ विधा भएकाले केही राम्रा कृति लेखिएका छन्, ‘चपाइएका अनुहारहरू’, ‘उर्गेनको घोडा,’ ‘सोह्र साँझ’ आदि । तर पर्याप्त छैनन् । राजनीतिक आयामलाई कुन हदसम्म पक्डिएको छ भन्ने प्रश्नको जवाफमा म बलियोगरी भन्न सक्दिनँ । कारण, त्यसतर्फको धेरै साहित्य मैले पढ्न बाँकी छ ।
पछिल्लोकालमा मदन पुरस्कार पाएका पुस्तकहरूको मूल्य कति छ ?
कुन मदन पुरस्कार प्राप्त पुस्तकको मूल्य कति छन्, भन्नसक्ने मेरो ल्याकत छैन । ल्याकत नभएको मलाई पिर पनि छैन । हा…हा । यो प्रश्नको वस्तुनिष्ठ जवाफ दिनु चुनौतीपूर्ण छ । सर्सर्ती हेर्दा केही योग्य पुस्तकले मदन पुरस्कार पाएका छन्, केही पाउनु नपर्ने पुस्तकले पनि पाएका छन् । समयको यो विन्दुमा मलाई के लागिरहेको छ भने, समग्रमा मदन पुरस्कार गुठीले सामाजिक न्यायलाई कथ्य बनाएर उच्च कलात्मक सिर्जना गरिएका केही कृतिलाई मदन पुरस्कार दिन सकेको छैन वा चाहेका छैन । उपन्यास ‘प्रेतकल्प,’ ‘उलार’ केही उदाहरण हुन् ।
नेपाली निबन्धको लेखनधारा के हो ? यो कताबाट बढी प्रभावित छ ?
नेपाली निबन्धको भावधारा, नेपाली कविताको भावधाराझैं ध्रुवीकृत छैन । नेपाली कवितामा अझ पनि रिमाल र भूपीको सरल र सहजभावधारा, अर्कोतिर मोहन कोइराला र ईश्वरवल्लभको अमूर्त र जटिल भावधाराको दसगजा प्रस्ट छ । त्यस्तो निबन्धमा म देख्दिनँ । निबन्धमा धच गोतामे, कृष्णचन्द्रसिंह प्रधान, पारिजात, शंकर लामिछाने, तारानाथ शर्मा, अभि सुवेदी, नारायण ढकाल, खगेन्द्र संग्रौला आदिबाट पछिल्लो पुस्ताका निबन्धकार धेरथोर प्रभावित छन् जस्तो लाग्छ ।
शैलीगत हिसाबमा निबन्धमा के परिवर्तन आएको छ ?
चेतनप्रवाह शैलीमा लेख्ने निबन्धकारमा कमी आएको हो कि ? म निबन्धकार युवराज नयाँघरे, मोमिलालगायत थोरै स्रष्टाले मात्र यस शैलीलाई निरन्तरता दिएको पाउँछु । निबन्धमा पनि छोटो र छरितो शैलीको प्रयोग बढेको छ । अघि जटिल शैलीको बाढी आएकोथ्यो । अहिले सरल शैलीको बाढी आएजस्तो लाग्दैछ । केही निबन्ध सरलताको आग्रहमा दुर्भाग्यवश जर्नलिस्टिक लेखनको समतुल्य भएको देखिन्छ ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया