युवा संगठनहरूले सिंहदरबार घेर्ने

काठमाडौं : प्रतिपक्षी गठबन्धनका आठ युवा संगठनले सरकारविरुद्ध सिंहदरबार घेराउलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार एमालेनिकट युवा संघ नेपालको बागबजारस्थित कार्यालयमा बसेको संयुक्त बैठकले संविधानको संरक्षकका नाताले संवैधानिक पहलका लागि दबाब दिन राष्ट्रपतिलाई स्मरणपत्र दिने पनि निर्णय गरेको छ ।
शनिबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने युवासंघ नेपालका महासचिव निरज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घोषित आन्दोलनका कार्यक्रममा आइतबार राष्ट्रपति डा. रामवरण यादवलाई भेटी संवैधानिक निकासका लागि पहल गर्न स्मृति पत्र दिने, २६ साउन बिहान ९ बजेदेखि सिंहदरबार घेराउ गर्ने रहेका छन् ।
यस्तै, २४ साउनसम्मका लागि युवा संघ नेपालले घोषणा गरेको आन्दोलनका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि सो बैठकले गरेको छ । ‘राष्ट्रको अभिभावक र संविधानको संरक्षकको नाताले राष्ट्रपतिले राजनीतिक निकासका लागि संवैधानिक पहल गर्न दबाब दिने उद्देश्यले यही साउन २१ गते बिहान १० बजे राष्ट्रपतिलाई स्मरणपत्र दिने निर्णय भएको छ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा युवा संघ नेपाल, नेपाल तरुण दल, राष्ट्रिय जन स्वयंसेवक संगठन, मधेसी युवा फोरम नेपाल, प्रगतिशील युवा संघ, नेपाल क्रान्तिकारी युवा संघ, राप्रयु संघ, जनशक्ति युवा संघलगायत आठ युवा संगठनका प्रतिनिधि सहभागी थिए । (सौस)

प्रतिक्रिया