जताततै बाढीको वितण्डा(तस्विर सहित)


दाङ, २० साउन । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण देउखुरीका आधा दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन् । बाढीले गाउँ डुबानमा पारेपछि स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ । बाढीले बगाएर शुक्रबार उद्धारमा खटिएका प्रहरीसहित तीनजनाको मृत्यु भएको छ भने पाँचजनालाई बेपत्ता बनाएको छ ।
राप्ती नदी र स्थानीय खोलामा आएको बाढीका कारण देउखुरीका लालमटिया, सिसहनिया, सोनपुर, गंगापरस्पुर, गोवरडिहा, सतवरिया, बेला र राजपुर गाविसका विभिन्न क्षेत्र डुबानमा परेका हुन् । बाढीले सबैभन्दा बढी गढवा–७ सेमरी गाउँमा असर पुर्‍याएको छ । सेमरी गाउँका सय घर डुबानमा परेका छन् । बेला गाविसको मटेरिया, बालुवाडाँडा, गहिरा, चप्फालगायत गाउँ बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी पसेपछि स्थानीयवासीले घरको छत तथा सार्वजनिक स्थलमा आश्रय लिइरहेका छन् ।
यस्तै, गोवरडिहाको रतनपुर र खैरामा राप्ती अनि सुपैला खोलाले सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । गंगापरस्पुर गाविसको खड्कपुरमा नहरसमेत राप्तीले बगाएको छ । बाढीले डुबानमा पारेपछि सयाँै हेक्टरको धान बाली नष्ट भएको छ । बाढीका कारण पुगेको क्षतिको पूर्ण विवरण भने अझै आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढी घरमा पसेपछि ती क्षेत्रका स्थानीय अहिले सुरक्षित स्थानतर्फ लागेका छन् । वर्षा अहिले पनि नरोकिएकाले पानीको बहाव बढ्ने क्रममा छ । अहिले ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको रेडक्रस उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गको शिवपुर–भालुवाङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरो पन्छाइएपछि यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घोराही–तुलसीपुर सडकखण्ड भने अवरुद्ध भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको ना.४ ख ३१६६ नम्बरको बस गुर्जे खोलामा खसेपछि यात्रुलाई स्थानीयवासी र प्रहरीले डोरीको सहायताबाट उद्धार गरेका थिए । घोराही–लमही सडकखण्डमा पर्ने कटुवाखोलामा पनि पानीको बहाव बढेपछि यातायात सेवा ठप्प भएको छ । कटुवा खोलाले रा.२ त २३८२ नम्बरको ट्रयाक्टर बगाएको छ ।
राप्ती नदीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
बाढीले घर डुबाएपछि घरको छतमा बसेका तीनजनालाई सशस्त्र प्रहरीको टोलीले डोरीको सहायतामा उद्धार गरेको छ । सिसहनिया–७ लठ्ठहवाका कृष्णकुमार भट्टराई, जसप्रसाद गुप्ता र ओमप्रकाश गुप्तालाई डोरीको सहायतामा उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बिहान ११ बजेतिर राप्तीले बगाएर चारजनालाई बेपत्ता बनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल ज्वालामाई गणबाट डिएसपी दिलबहादुर पन्तको नेतृत्वमा ७० जनाको टोली खटिएको छ । जिल्ला सदरमुकामबाट भने देउखुरीमा प्रहरीको उद्धार टोली जान सकेको छैन ।
त्यस्तै, काठमाडौंबाट हेलिकोप्टरसहित आएको विशेष टोलीले राप्ती नदीको बीचमा अलपत्र परेका गोवरडिहा–७ लोखरपुरका उदयराज चौधरीको उद्धार गरेको छ । चौधरीलाई उद्धार गरी टोलीले शुक्रबार नै उनकै घरमा सकुशल पुर्‍याएको छ । नदीमा पानीको सतह कम रहेको समयमा छिमेकीसँग दाउरा संकलन गर्न गएका चौधरी नदीमा पानीको बहाव बढेपछि टापुमा अलपत्र परेका थिए ।
प्रहरीसहित दुईजनाको मृत्यु
दाङ, देउखुरीको बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाको उद्धार गर्ने क्रममा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । सोनपुरस्थित सिंगई खोलामा आएको बाढीले बगाउँदा दैलेखको चिसापानी घर भएका २७ वर्षीय प्रहरी जवान रामबहादुर रानाको मृत्यु भएको हो । स्थानीय बासिन्दालाई उद्धार गर्ने क्रममा खोलाले बगाएर घाइते भएका रानाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । बाढीमा परी मृत्यु हुनेमा सिसहनिया–९ की फैरुन निसा, गोबर्डिहा–९ का ज्ञानबहादुर पुन छन् । सिसहनिया–९ की कमरुन निसा अझै बेपत्ता छन् ।
यसअघि पनि ४ साउनमा आएको बाढीका कारण लालमटिया, सिसहनिया र सोनपुर गाविसका दर्जन बढी गाउँका तीन हजार घर डुबानमा परेका थिए भने करोडौँको क्षति भएको थियो ।
आदिवासीको कार्यक्रम रोकियो
१८आँै विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले गढवामा गर्ने भनेको कार्यक्रम रोकिएको छ । महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले सम्बोधन गर्ने भनिएको कार्यक्रम बाढीका कारण रोकिएको हो । कार्यक्रम संयोजक लेखतबहादुर रानाले बिहीबार रातिदेखि परेको भीषण वर्षाका कारण शुक्रबारका लागि तय गरिएको कार्यक्रम स्थगन गर्नुपरेको जानकारी दिएका छन् ।

जो रूखको सहारामा बचे

गौतम श्रेष्ठ
रौतहट, २० साउन । बाढीका कारण रौतहटका कटहरिया, देवाही, कर्कच कर्मैया, मलहिनिया, फतुवा महेशपुर, राजपुर, बंजरहा, औरैया, इनरवा, प्रतापपुर पल्टुवालगायत एक दर्जन गाविस डुबानमा परेका छन् ।
लाल बकैया खोलाको बाढीले कटहरीया–१ हर्षाहा टोलमा ३५ घर डुबानमा परेका छन् भने जनजीवन प्रभावित बनेको छ । बाढीले फतुवा महेशपुरमा रहेको बाँध भत्काएपछि आसपासका गाविस डुबानमा परेका हुन् । बाढीका कारण केही गाविसमा आवागमनसमेत ठप्प भएको छ ।
एक घन्टापछि उद्धार
लालबकैया खोलामा फसेका आठजनालाई एक घन्टापछि उद्धार गरिएको छ । रूखको सहारामा रहेका सुनील पटेल, इन्द्रजित पटेल, मायाराम पटेल, राम प्रवेश पटेल, रामजी पटेल, राजमहल पटेल, हरिन्द्र पटेल तथा वीरेन्द्र राय यादवको उद्धार गरिएको हो ।
देवाही–९ मा नदीपारि मेला हेर्न गएका उनीहरू खोला तर्दै गर्दा बाढी आएपछि फसेका थिए । पानीको भेलमा सिसौको बोट समातेर बसेका उनीहरूलाई बचाउन प्रशासनले तत्काल पहल थालेको थियो । घाँटीसम्म पानीमा डुबेका उनीहरूको उद्धार गर्न सशस्त्र प्रहरीका एसपी हृदयनारायण मण्डल, नेपाल प्रहरीका डिएसपी चक्रबहादुर सिंह तथा नेपाली सेनाका क्याप्टेन इमानसिंह तामाङ घटनास्थल पुगेका थिए । उक्त टोलीले पौडीवाज तथा डुंगा प्रयोग गरेर उनीहरूको उद्धार गरेको थियो ।

एकै परिवारका चारको मृत्यु
सौर्य समाचार
काठमाडौं, २० साउन । पहिरोले पुरेर गुल्मीमा चारजनाको मृत्यु भएको छ । ठूलोलुम्पेक गाविस–२ ढुंगाचाल्नेका घनश्याम विकको घर पहिरोले पुरिँदा विकका पत्नी र छोराछोरी गरी चारजनाको मृत्यु भएको हो । दुईजना घाइते भएका छन् ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घनश्यामकी ३९ वर्षीया पत्नी भूमि, १३ वर्षका छोरा सन्तबहादुर तथा छोरीहरू नौ वर्षीया मुना र पाँच वर्षकी विपनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घनश्याम र अर्का एक छोराको भने जीवितै उद्धार गरिएको स्थानीय नेत्र रानाले बताए । उनीहरू बाहिर काम गरी बिहान ८ बजे खाजा खान घरमा छिरेका थिए ।
घटनाको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय रिडी र मजुवाबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक बालकको मृत्यु
सौर्य समाचार
बाग्लुङ, २० साउन । अविरल वर्षापछि आएको बाढीले बगाउँदा पर्वतको फलेवासमा एक बालकको मृत्यु भएको छ ।
पर्वतको देवीस्थान गाविस–६ का चन्द्रबहादुर सुनारका पाँच वर्षीय छोरा प्रवेशको बाढीले बगाएर मृत्यु भएको हो । शुक्रबार मध्याह्न बालकलाई दोबिल्ला फलेवास सडकको नालीमा आएको बाढीले बगाएको र सोही गाविस–६ स्थित धारापानीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बुधबारदेखि परेको वर्षात्ले मालढुंगा बेनी सडकसमेत अवरुद्ध बनेको छ । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या परेको प्रहरीले जनाएको छ । सडकखण्डअन्तर्गत नाङलीवाङ–२ खनियाघाटमा पहिरोले गर्दा सडक अवरुद्ध बनेको हो । म्याग्दीको बेनीदेखि छुटेका लामो तथा छोटो दूरीका गाडी अलपत्र बनेका छन् ।
यसैबीच, बाग्लुङ नगरपालिका–९ लंगाउँमा अर्जुन खोलाले बगाउँदा शुक्रबार एक महिला बेपत्ता भएकी छन् । खोला तर्ने क्रममा लंगाउँका ४१ वर्षीया दिलमाया थापालाई खोलाले बगाएको र अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए ।
दाउराको लोभ गर्दा बगायो
सौर्य समाचार
बाजुरा, २० साउन । कोल्टीमा बडीगाड खोलाले बगाएका दुईमध्ये एकजनाको शव फेला परेको छ । बाँधु–१ पाडी घर भई कोल्टीमा व्यापार गर्दै आएका करिब ४० वर्ष उमेरका दलचन्द्र साउद र ३५ वर्षका प्रेमलाल साउदलाई खोलाले बगाएको हो । बाढीले बगाएर ल्याएको दाउरा उतार्न जाने क्रममा उनीहरू खोलामा बेपत्ता भएका थिए ।
एकजनाको शव नचिनिने अवस्थामा फेला परे पनि अर्को भने नभेटिएको स्थानीय कपुर शाहीले बताए । घटना दिउँसो ३ बजेपछि भएको प्रहरीले बताएको छ । कोल्टी बजारबाट २० मिटर टाढा पर्ने बडीगाड खोलामा बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया